विराटनगर । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मंगलबार सञ्चालन भएको एलएलबी (ब्याचलर अफ लेजिस्लेटिभ ल) को प्रवेश परीक्षामा ५९ जना परीक्षार्थी कारबाहीमा परेका छन् ।
क्याम्पस प्रमुख सुशील कर्णले दिएको जानकारी अनुसार काठमाडौंबाट खटिएर आएको विशेष टोलीले ती ५९ जना परीक्षार्थीलाई परीक्षा हलबाट निकालेको हो । उनीहरू सबैको इन्ट्रान्स (प्रवेश परीक्षा) रद्द भएको छ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा कानुन संकायको स्नातक तहमा ३ सय जना विद्यार्थीका लागि मंगलबार प्रवेश परीक्षा लिइएको थियो । ३ सय जनाको सिटका लागि देशभरका ८७२ जना परीक्षार्थी सहभागी थिए ।
‘ती मध्ये कोही मोबाइल चलाइरहेको अवस्थामा, कोही अनियमित अवस्थामा फेला परेपछि काठमाडौंबाट आएको टोलीले कारबाही गरेको हो’ क्याम्पस प्रमुख कर्णले भने ‘संख्या चाहिं ५९ हो कि ६० हो यकिन छैन । यही हाराहारीमा हुनुपर्छ ।’
देशका विभिन्न भागबाट आएका विद्यार्थीहरू कारबाहीमा परेको उनले जानकारी दिए ।
क्याम्पस प्रमुख कर्णले दिएको जानकारी अनुसार प्रवेश परीक्षा १ घन्टा ४० मिनेटको थियो ।
बिहान ८ बजे परीक्षा सुरू भएको थियो । परीक्षा सुरू भएको केहीबेरमै उनीहरू निरीक्षण टोलीको फन्दामा परेका थिए ।
कानुन संकायको स्नातक पढ्न अहिले अर्को कुनै विषयमा स्नातक गरेको हुनुपर्ने प्रावधान छ ।
राजविराजको यो क्याम्पस कानुन पढ्न चाहने विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्दै आएको छ ।
यो क्याम्पसमा कानुनका साथै मानविकी, विज्ञान, वाणिज्यशास्त्र र शिक्षाशास्त्रको पनि पठनपाठन हुन्छ ।
View : 66
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved