विराटनगर । छाती दुखेर उपचारका लागि कोशी अस्पताल आएका सुनसरी दुहबीका २८ वर्षीय महमद सेख झन् ठूलो पीडामा परे, जब अस्पताल परिसरमा पार्क गरेको साइकल हरायो ।
बहिरंग विभागमा चिकित्सकलाई देखाएर फर्किंदा साइकल थिएन, उनले निराश हुँदै भने । गार्मेन्ट उद्योगमा मजदुरी गर्ने सेखले ६ महिना अघि ऋण लिएर किनेको साइकलको अझै पैसा तिरिसकेका छैनन् ।
ठ्याक्कै यस्तै पीडामा परेका छन् विराटनगरकै ४१ वर्षीय सबिन अधिकारी । तीन महिना अघि उनले कोशी अस्पतालकै पार्किङ क्षेत्रबाट मोटरसाइकल गुमाए । सीसीटीभी फुटेज हेर्न गएका थियौं, तर मैले पार्क गरेको ठाउँमा क्यामेरा नै रहेनछ, उनले सुनाए । केही समय प्रशासनसँग गुनासो गरे पनि मोटरसाइकलबारे केही पत्तो लागेन उनले भने ।
सार्वजनिक अस्पतालभित्रै बारम्बार हुने यस्ता चोरीका घटनाले सेवाग्राही त्रसित छन् । अस्पतालभित्र हजारौंको आवतजावत हुने, बिरामी तथा आफन्तले पार्किङ प्रयोग गर्ने हुँदा सुरक्षा कडा हुनु पर्नेमा बेवास्ता गरिएको उनीहरूको गुनासो छ ।
सार्वजनिक अस्पताल परिसरमै सवारीसाधन चोरीका घटना नियमित जस्तै भएकाले अस्पतालमा सेवा लिन पुगेका सेवाग्राही त्रसित छन् ।
अस्पताल प्रशासनले सीसीटीभी र सुरक्षा उपायका कुरा गरेपनि चोरी नघटेको गुनासो बढ्दो छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सेवाग्राही र उनका आफन्तहरूका साइकल र मोटरसाइकल चोरी हुने क्रम बढ्दो छ ।
कर्मचारीकै सवारीसाधन चोरी
कोशी अस्पतालमा बिरामी र कुरुवाका सवारीसाधन चोरी हुने समस्या नयाँ होइन । तर, अस्पतालमै कार्यरत कर्मचारीका पनि सवारीसाधन हराउने क्रम बढ्दै गएको छ, जसले अस्पताल परिसरभित्रकै सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह भने पक्कै उठाएको छ ।
गत वैशाख महिनामा अस्पतालकै प्रसूति विभागमा कार्यरत सुरक्षागार्ड काब्या माझीको साइकल अस्पताल परिसरबाटै हरायो । ड्युटी सकेर बाहिर चिया खाएर फर्किंदा साइकल हराइसकेको उनले बताइन् ।
‘पार्किङको ठीक ठाउँमै राखेको थिएँ, फर्केर आउँदा साइकल गायब, कर्मचारीकै सवारीसाधन यसरी हराउँछ भने बिरामी र कुरुवाको अवस्था के होला ?’, उनी भन्छिन् ।
काब्या माझीको यो पहिलो अनुभव होइन । यसअघि पनि उनले अर्को साइकल हराइसकेको बताइन् । अस्पतालका अन्य कर्मचारी पनि यस्ता समस्याबाट अछुतो छैनन् ।
अस्पतालको सर्जरी विभागमा कार्यरत विजय डोमको १५० सीसी क्षमताको मोटरसाइकल केही महिनाअघि अस्पताल परिसरबाटै चोरी भयो । त्यस्तै, जनरल स्टोर विभागका सूर्यमणि निरौला र हेमोलाइसिस शाखाका मुन्ना हस्तीको पनि सवारीसाधन चोरी भइसकेका छन् ।
‘हामी अस्पतालभित्रै सेवा दिइरहेका छौं, तर बाहिर राखेको हाम्रो गाडी नै सुरक्षामा छैन,’ केही महिना अघिमात्र सवारीसाधन गुमाएका एक कर्मचारीले भने ‘हामी बिरामीको सेवा गर्ने हो कि आफ्नो गाडी खोज्ने ?’
अस्पताल परिसरमा सवारी पार्किङका लागि निश्चित ठाउँ तोकिए पनि त्यहाँ सुरक्षाकर्मीको निगरानी, सीसीटीभी वा सवारी दर्ता प्रणाली छैन ।
‘गेटमा सुरक्षागार्ड त छन्, तर सवारी हेरचाहका लागि स्पष्ट जिम्मेवारी र प्रणाली छैन,’ उनी भन्छन् ।
कोशी अस्पताल पूर्वी नेपालकै सबैभन्दा व्यस्त सरकारी अस्पताल हो तर अस्पतालमा सुरक्षा भने शून्यजस्तै छ । अस्पताल भित्र विरामी र आफन्तको मोवाइल, पैसा र अन्य सामानहरुको चोरी त सामान्य जस्तै मानिन्छन् ।
अस्पताल परिसरभित्र आफ्नो सामानको सुरक्षा आफै गर्नुहोला भन्ने प्रचार सामग्री भित्तामा टाँसिएका पनि भेटिन्छन् । त्यसैले बिरामी हुन् या विरामी कुरुवाले आफ्ना हराएका सामानहरुको बारेमा अस्पताल प्रशासनमा जानकारी समेत दिदैनन् ।
महिनामा ८ देखि १० सवारीसाधन चोरीका गुनासा
कोशी अस्पताल प्रशासनकै तथ्यांक अनुसार महिनामा ८ देखि १० सवारीसाधन चोरीको गुनासो आउने गरेको छ ।
अस्पतालका आइटी विभाग प्रमुख विनोद राजभर भन्छन् महिनामा ८ देखि १० वटा चोरीको सीसी क्यामेरा फुटेज हेर्न माग गरिन्छ, तीमध्ये ५ देखि ७ वटा साइकल हुन्छन् ।
कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झा अस्पतालभित्र पार्किङमा राखिएका सवारीसाधनहरु चोरी घटनाप्रति अस्पताल गम्भीर रहेको बताउँछिन् ।
हामीकहाँ थुप्रै गुनासा आउँछन् । अस्पतालभित्रै चोरी हुनु गम्भीर विषय हो । हामी पनि बिरामी तथा सेवाग्राहीलाई आफ्नो सामान आफैं जोगाउनुस्’ भन्न बाध्य छौं, उनले भनिन् ।
उनका अनुसार अधिकांश क्षेत्रमा सीसीटीभी जडान गरिए पनि केही ठाउँ अझै क्यामेराको पहुँचबाहिर छन् ।
चोरीको गुनासो आएपछि फुटेज हेरेर प्रहरीलाई उपलब्ध गराइने गरिन्छ । तर, पूर्ण सुरक्षा ग्यारेन्टी लिने अवस्थामा भने हामी छैनौं, उनको भनाइ छ ।
लामो समयदेखि अस्पतालभित्र निर्माण कार्य चलिरहेको छ, चारैतिर बाटो खुला भएकाले चोरलाई सजिलो भएको हुनसक्छ, उनले थपिन्, हामीले ती खुला बाटाहरू छिट्टै बन्द गर्न निर्देशन दिइसकेका छौं । यसले केही कमी ल्याउने आशा गरेका छौं ।
दैनिक १५ सय देखि ३ हजार बिरामी आउने कोशी अस्पतालमा करिब ३०–४० प्रतिशत सेवाग्राही निजी सवारीसाधन लिएर आउँछन् । यस्तोमा पार्किङ स्थलको कमजोर सुरक्षा व्यवस्थाले उपचारमा भन्दा बढी गाडी जोगाउने चिन्ता बढाएको छ ।
एक सेवाग्राही भन्छन्, औषधिको लाइनमा ढिलो भए सहिन्छ, तर बाइकको लाइनमा चोरी हुनु भनेको नालायकी हो । यो भनाइले राज्य र अस्पताल व्यवस्थापन दुबैलाई गम्भीर समीक्षा गर्नुपर्ने संकेत दिन्छ ।
सार्वजनिक सेवामा नागरिकको भरोसा कायम राख्न अस्पतालले उपचारमात्र होइन, साधन सुरक्षाको संयन्त्र पनि सुदृढ बनाउनु अपरिहार्य देखिन्छ । जब अस्पतालमै चोर निर्धक्क प्रवेश गर्छन्, तब सेवाग्राहीले सुरक्षित अनुभूति कसरी गर्ने ? उनी भन्छन् ।
पार्किङ स्थलमा सीसीटीभीको अपुग, सुरक्षाकर्मीको लापरबाही र चोरीपछिको क्षतिपूर्तिको कुनै व्यवस्था नहु्रँदा नागरिक दोहोरो मारमा परेका छन् ।
सार्वजनिक सेवामा सर्वसाधारणको भरोसा जगाउन अस्पतालले उपचारमात्र होइन, सम्पत्ति सुरक्षाको संयन्त्र पनि मजबुत बनाउनु आवश्यक भएको नागरिक अधिकारकर्मीहरूको भनाइ छ ।
View : 138
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved