Biratnagar, Morang, Nepal
४ असार २०८२, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

शंकाको घेरामा हर्क साम्पाङको श्रम अभियान

श्रमदानका नाममा डोर हाजिरी गराएर समर्थकहरुलाई भुक्तानीको प्रयास

श्रमदानका लागि भेला भएका श्रमदाताहरुले मजदुरका रुपमा डोर हाजिरीसमेत गरेको भेटिएको भन्दै उपमेयरले अनुमगन गर्न अस्वीकार गर्दै रकम भुक्तानी रोकेको बताइरहेका छन् । तर, मेयर पक्षले भने त्यो हाजिरी अर्कै उद्देश्यबाट गरिएको बताइरहेको छ ।
उद्‌घोष सम्वाददाता
४ असार २०८२, बुधवार

विराटनगर । आफूलाई श्रम अभियानको अगुवा बताउने धरानका मेयर हर्क साम्पाङको अभियान अहिले आएर विवादको घेरामा परेको छ । श्रमदानबाट पहिल्यै भइसकेको काममा लागेको रकम नगरपालिकाबाट भुक्तानी लिन खोजेपछि धरान दुई दिनयता तनावको भुंग्रोमा परेको छ । 

धरान–१६ मा रहेको बहुभाषिक पाठशालाको ग्याबिन वाल निर्माणको विषयलाई लिएर मेयर साम्पाङका समर्थक र उपमेयर अइन्द्रविक्रम बेघाका समर्थकहरु आपसमा आमनेसामने भएका छन् । यही कारण धरान उपमहानगरको कार्यालय परिसर दुई दिनयता तनावग्रस्त बनेको छ । 

धरान–१७ का वडाध्यक्ष एवं उपमहानगरका प्रवक्ता सूर्य भट्टराईले दिएको जानकारी अनुसार मेयरका समर्थकहरुले उपमेयरमाथि दुई दिनयता हुलहुज्ज्त गर्न खोजेका छन् । 

उपमेयर बेघाका समर्थक माओवादी कार्यकर्ताहरु पनि उपमहानगर परिसरमा भेला भएर मेयरको विपक्षमा नाराबाजी गर्दै आएका छन् । यसरी दुवै पक्षका समर्थकको यस्तो शैलीले उपमहानगर कार्यालय सोमबारदेखि नै तनावग्रस्त बनेको हो । 

‘हर्क साम्पाङका समर्थकहरु खुकुरीसहित आएर उपमेयरमाथि हमला गर्ने प्रयासमा लाग्दा हाम्रा समर्थकहरु पनि आउने नै भए’, प्रवक्ता भट्टराईले भने ‘मेयर आफैले निम्त्याएको अराजकताले नगर परिसर तनावग्रस्त बनेको हो । 

आफैं गैरकानुनी काम गर्ने अनि आफैं आफ्ना समर्थक बोलाएर अराजकता मच्चाउने मेयरको शैली आपत्तिजनक छ ।’ 

उपमहानगरमा सोमबारदेखि नै यस्तो भइरहेको थियो । नयाँ बजेटको सिलिङ निर्धारणका लागि सोमबार बैठक चलिरहेका बेला मेयर साम्पाङका समर्थकहरु ठूलो संख्यामा नगरमा आएका थिए । 

उनीहरुले सोमबार पनि उपमेयर माथि हातपात प्रयास गरेका थिए । यो तनावको मुख्य कारण बनेको छ, धरान–१६ को बहुभाषिक पाठशालामा निर्माण भएको ग्याबिन जाली ।

विद्यालयको सुरक्षाका लागि भन्दै मेयर साम्पाङको नेतृत्वमा जेठ पहिलो साता श्रमदान अभियानबाट त्यहाँ जाली हालिएको थियो । तर, काम सकिएको दुई सातापछि मेयर साम्पाङले योजनाको रि–इस्टिमेट गराएर, धरान– १६ बाहिरका मान्छे राखेर उपभोक्ता समिति बनाएर नगरमा बिल पेश गरेका थिए । 

त्यसरी पेश गरेको बिल भुक्तानी गैरकानुनी हुने भन्दै उपमेयरले योजनाको अनुगमन नगर्ने र भुक्तानी पनि नगर्ने अडान लिएका छन् । यही कारण क्रुद्ध बनेका मेयर उपमेयरप्रति आक्रोश प्रकट गरिरहेका छन् ।

धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले मेयर साम्पाङले आफू नजिकका मान्छेलाई उपभोक्ता समितिमा राखेर नगरबाट पैसा भुक्तानी गराउन खोजेको बताएका छन् । 

वडाध्यक्ष भट्टराईका अनुसार धरान–१६ को पाठशालाका लागि धरान–१४ का प्रसाद राईको संयोजकत्वमा उपभोक्ता समिति बनाइएको र उनी मेयरका समर्थक हुन् ।

यो विषय मेयर आफैंले पनि स्वीकार गरेका छन् । 

‘मैले फरक मत राख्नेलाई किन अध्यक्ष बनाउनु’, उनले मंगलबार पत्रकार सम्मेलनमा भने ‘मैले श्रम अभियानकै साथीलाई बनाएकै हो ।’ 

सर्दु खोलाको बाढीले हानी गर्ने भएकाले उपभोक्ता समिति जहाँको बनाए पनि हुने उनको तर्क छ । ‘खोला कुनै वडामा नपर्ने’ मेयरको तर्क छ । 

श्रमदानका लागि भेला भएका श्रमदाताहरुले मजदुरका रुपमा डोर हाजिरीसमेत गरेको भेटिएको भन्दै उपमेयरले अनुमगन गर्न अस्वीकार गर्दै रकम भुक्तानी रोकेको बताइरहेका छन् । तर, मेयर पक्षले भने त्यो हाजिरी अर्कै उद्देश्यबाट गरिएको बताइरहेको छ । 

‘श्रमदानमा कति लागत पर्‍यो भन्ने थाहा पाउन हाजिरी लिइएको हो’ मेयरले भनेका छन् ‘त्यो पारिश्रमिकका  लागि होइन ।’ उपमेयरले भने मेयरले भने अनुसार भुक्तानी नहुँदा उनी बिच्केको बताएका छन् । 

‘श्रमदानबाट भइसकेको काममा पछि समिति बनाएर बिल र फाइल पेश गरेर नगरबाट भुक्तानी खोज्नु अनियमित र कानुनविपरीत हो । मैले यसको भुक्तानी हुँदैन भनेको छु, कर्मचारीलाई पनि त्यही भनेको छु’ उपमेयर बेघाले भने ‘मेयरले त्यसैको बदला लिन यो सबै गरिरहनु भएको छ ।’ 

मेयर साम्पाङ भने श्रमदानको पनि भुक्तानी नगरबाट हुने भन्दै अडान लिइरहेका छन् ।  

‘धरानको लिडर म हो, धरान कसरी चलाउने त्यो मैले जान्ने कुरा हो’, मंगलबार बिहान पत्रकार सम्मेलन गरेर उनले भने ‘म जनताको आदेशबाट काम गर्छु । जनताभन्दा ठूलो कोही हुन्न ।’

आफूलाई श्रम अभियन्ता भनेर चिनाउने मेयर साम्पाङले २०७९ को स्थानीय चुनावमा जित हात पारेलगत्तै श्रम अभियान थालेका थिए । 

साम्पाङले मेयरको जिम्मेवारी सम्हालेको अर्काे साता २०७९ को जेठ दोस्रो सातादेखि शहरमा खानेपानीको स्रोत थप्ने अभियान सुरू भएको थियो । उनले धरानको पकुवा खोलाबाट पानी ल्याउने र त्यसका लागि श्रमदानमा खटिन नगरबासीलाई आह्वान गरेका थिए ।

कामको सुरूआत आफैंले गरेका थिए । दिनभरि ढुंगा बोक्ने, गैंती र बेल्चा हान्ने काममा मेयर खटिएपछि उनलाई सघाउनेको ओइरो लागेको थियो । अन्य जिल्लाबाटसमेत श्रमदानका लागि आउनेको घुइँचो लाग्ने गथ्र्यो ।  

पकुवा प्रोजेक्टको सफलतापछि उत्साही भएका साम्पाङ र उनको टिम त्यस्तै अर्को  योजनामा खटिन थाल्यो । त्यसपछि क्रमशः निशाने खोला, सर्दु, खर्दु र भालुखोलाबाट धरानमा पानी थपियो । त्यसपछि कोकाहा योजनाबाट पनि श्रम अभियानबाटै पानी धरानसम्म ल्याइएको थियो । 

४२ किलोमिटर लामो कठिन भूगोलमा पाइप जोडेर कोकाहाको पानी धरानमा झारेयता पनि मेयरको अगुवाइमा विभिन्न ठाउँमा श्रमदान चलिरहेको छ । 

यद्यपि श्रमदानवापतकै काममा भुक्तानी मागेको भन्ने विवाद सुरु भएपछि यसपटक चाहिं त्यही विवादले धरान अशान्त बनेको छ ।

View : 108

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved