Biratnagar, Morang, Nepal
४ असार २०८२, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

कार्यपालिकाको नाममा नमोनारायण एक्लैको ११ निर्णय, फेरि उभिनुपर्यो अदालतको कठघरामा

उद्‌घोष सम्वाददाता
४ असार २०८२, बुधवार

विराटनगर । ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले कार्यपालिकाको बैठक भन्दै एक्लै ११ वटा निर्णय गरेपछि उनले फेरि अदालतको कठघरामा उभिनुपर्ने भएको छ । 

गत जेठ २ गते बसेको गाउँ कार्यपालिकाको बैठकका क्रममा कार्यपालिका सदस्यहरूसँग विवाद भएपछि बैठक छाडेर बाहिरिएका माझीले सोही बैठकको उपस्थिति देखाएर ११ वटा निर्णय गरेको खुलेको छ । 

उक्त निर्णय अवैधानिक भएको भन्दै गाउँपालिकाकी उपाध्यक्ष गुणावती देवी थारुले सोमबार उच्च अदालतमा अध्यक्ष माझीलाई प्रतिवादी बनाएर हालेको रिटमा अदालतले माझीविरुद्ध कारण देखाउ आदेश दिएको छ । 

उच्च अदालत विराटनगरका न्यायधीस केशवप्रसाद बास्तोलाको इजलासले मंगलबार अध्यक्ष माझीविरुद्ध कारण देखाउ आदेश दिंदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाउने आदेश दिएको हो ।

कार्यपालिका सदस्यहरूले बैठकको उपस्थितिमा हस्ताक्षर गरिसकेर कार्यपालिकाको २१ औं बैठकको दोस्रो सत्रमा सुरु भएपछि अध्यक्ष माझी बैठक छाडेर रिसाउँदै बाहिरिएका थिए । 

अध्यक्ष नै बैठक छाडेर हिंडेका कारण उपाध्यक्ष थारुसहित कार्यपालिकाका अन्य सदस्यहरूले माइन्यूटमा ‘कुनै निर्णय हुँदा हाम्रो मान्य हुने छैन’ भन्ने लेखेर हस्ताक्षर गरी हिंडेका थिए । 

तर अध्यक्ष माझीले सोही उपस्थितिलाई आधार बनाएर एक्लै ११ वटा निर्णय गरेका थिए । सहमति बिना नै एकल रुपमा निर्णय गरेपछि उपाध्यक्ष थारुले उच्च अदालत गुहारेकी हुन् । 

अध्यक्ष माझीले प्रत्येक कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूलाई चित्त नबुझे अदालत जानू भनेर धम्की दिंदै आएको कार्यपालिकाका एक सदस्यले बताए । 

अध्यक्ष माझीले हरेक बैठकमा आफूखुसी निर्णय गर्न खोज्ने गरेको कार्यपालिकाका ती सदस्यले बताए ।

माझीले भने गाउँपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि २०७४ को दफा १५ को निर्णय सम्बन्धी व्यवस्थाको उपदफा १५.३ मा ‘बजेट कार्यक्रम र नीति तथा स्थानीय तहको नियमावली बाहेको विषयमा १५.२ बमोजिम निर्णय हुन नसकेमा व्यक्तिगत उत्तरदायित्व निज माथि रहने गरी गाउँ कार्यपालिकाको अध्यक्षले गरेको निर्णय अन्तिम हुनेछ’ भन्ने लेखिएको भन्दै सोहीअनुसार निर्णय गरेको निर्णय पुस्तिकामा उल्लेख गरेका छन् ।

View : 133

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved