विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) को ५२ औं स्थापना दिवसको अवसरमा संघको मोरङ शाखाले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाल औषधि व्यवसायी संघ मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम गरेर संघको स्थापना दिवस मनाउने जानकारी गराएको हो । संघको स्थापना विसं २०३० सालमा भएको बताइएको छ ।
संघका मोरङ अध्यक्ष देशबन्धु ढकालका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विराटनगरस्थित कोशी अस्पतालको बाल विभाग तथा कुपोषण शाखामा फलफूल वितरण, हिमालय दर्शन कलेजमा लागुऔषध र मनोदीपक औषधी सम्बन्धी जनचेतनामूलक कार्यक्रम, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा लागुपदार्थ परीक्षण किट हस्तान्तरण, विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामग्री हस्तान्तरण,वरिष्ठ औषधि व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूको सम्मान, रक्तदान, प्रभातफेरी र दीप प्रज्वलन लगायतका कार्यक्रम राखिएको छ । ती सबै कार्यक्रम सम्पन्न गर्न कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाइ जिम्मेवारी बाँडफाँट गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘हरेक वर्ष असार १० गते मनाइने स्थापना दिवसलाई यस पटक विशेष बनाउन सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेका हौं,’ संघका मोरङ अध्यक्ष ढकालले भने ।
View : 69
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved