Biratnagar, Morang, Nepal
१६ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशमा २४ घण्टामा चट्याङ लागेर २७ वटा पशुचौपाया मरे

उद्‌घोष सम्वाददाता
१५ वैशाख २०८२, सोमवार

विराटनगर । बर्षासँगैको चट्याङ लागेर कोशी प्रदेशमा २७ वटा पशुचौपाया मरेका छन् । सवैभन्दा धेरै संखुवासभाको मकालु गाउँपालिका–३ मा आइतबार दिउँसो परेको चट्याङले लागेर १२ वटा भैंसी र ५ वटा गाईगोरु मरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

चरनमा चरिरहेको अवस्थामा परेको चट्याङ पर्दा पुष्पलाल भण्डारीका आठ वटा भैंसी र एउटा गाई, प्रेम प्रसाद भण्डारीको ४ वटा भैंसी र २ वटा गाई तथा कृष्ण राईको एउटा गाई र एउटा गोरु मरेको जनाइएको छ । 

उक्त स्थानमा इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट प्रहरी टोली खटिएर क्षतिको विवरण संकलन गरेको जनाइएको छ । 

सोमबार दिउँसोमात्रै झापाको हल्दिबारी गाउँपालिका–२ का जयराम मुर्मुको गोठमा चट्याङ पर्दा दुईवटा गाई, एउटा बाछी र दुईवटा बाख्रापाठा मरेको प्रहरीले जनाएको छ ।

भोजपुरको आमचोक गाउँपालिका–३ का हरी सुवेदीको गोठमा सोमबार विहान करिव २ बजेतिर परेको चट्याङले एउटा भैंसी र एउटा पाडो मरेको जनाइएको छ । त्यसैगरी तेह्रथुमको लालीगुराँस नगरपालिका–५ कि गिता कार्कीको घरमा चट्याङ पर्दा खोरमा रहेका दुईवटा बाख्राको मृत्यु भएको जनाइएको छ ।

चट्याङले कार्कीको घर चर्किएको र घरभित्र रहेका अन्नपात, भाडा वर्तन, लत्ताकपडा समेत जलेर क्षति भएको प्रहरीले उल्लेख गरेको छ ।

गएराती नै उदयपुरको रौतामाई गाउँपालिका–५ का चक्र बहादुर राईको घरमा चट्याङ लागेर टिनको छानो भएको २ तले घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र एउटा सुंगुरसमेत जलेर मरेको प्रहरीले जनाएको छ ।

राईको करिव ५ लाख ५० हजार रुपैयाँ बरावरको क्षति भएको जनाइएको छ ।

View : 87

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved