Biratnagar, Morang, Nepal
१५ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

व्यापार घाटाले अर्थतन्त्रमा निरन्तर दबाब

उद्योगी भन्छन्– ‘सुधारको सुःखद समाचार सुन्न पाएका छैनौं’

उद्‌घोष सम्वाददाता
१५ वैशाख २०८२, सोमवार

विराटनगर । व्यापार घाटा निरन्तर बढिरहेको तथ्याङ्कले मुलुकको अर्थतन्त्र थप दबाबमा परेको छ । निर्यातमुलक उद्योगहरूले अनेकौ नीतिगत समस्या झेल्नुपरेको गुनासो गर्न छाडेका छैनन् । 

उनीहरूले श्रम सम्झौता गरेर युवा जनशक्ति विदेश पठाउँदा वाणिज्य सम्झौता गरेर व्यापार पनि गर्दै व्यापार बढाउनुपर्ने बताएका छन् ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा कोशी प्रदेशमा निर्यात सम्भावना तथा सहजीकरण सम्बन्धी अन्तरक्रियामा उद्योगी व्यवसायीहरूले निर्यात प्रवर्द्धन नमा जोड दिएका छन् । 

उद्योगी व्यवसायीले निर्यात व्यापार बढाउन सके व्यापार प्रवद्र्धनमा सरकारी तहबाट हुने प्रयास र घोषणाहरूको कार्यन्वयनमा समेत सहयोग पुग्ने बताएका छन् । तर आफ्ना सुझावहरू कार्यन्वयन नहुने गरेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए ।

‘हामीले अर्थतन्त्र सुधारको सुखद् समाचार सुन्न पाएका छैनौं, राजनीति गर्ने नेताज्यूहरूले सबै राम्रो छ भन्नुहुन्छ, नराम्रो चैं हामीले नै फैलाइरहेको जस्तो उहाँहरूलाई लाग्छ’ राठीले भने, ‘निर्यात व्यापारमा समाधानतर्फको यात्रा सुस्त देखिएको छ, उद्योगीहरूलाई निर्यात अनुदान दिन जरुरी छ, तर सिंहदरवारका पहुँचवाला उद्योगीले मात्रै सुविधा पाएको देखिन्छ ।’

चालु आर्थिक वर्षमा देशको कुल आयात व्यापारको अंक १६८ अर्ब २९ करोड हुँदा निर्यात ३१ अर्ब १४ करोड रुपैयाँको मात्रै रहेको छ । नेपालले १३७ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोर्नुपरेको छ ।

गत ५ वर्षको अवधिमा निर्यातको योगदान २८.९६ प्रतिशतबाट घटेर २०.४४ प्रतिशतमा सीमित भइसकेको छ । यता आयात भने १०–१२ प्रतिशतकै सीमामा रहेको छ । चैत मसान्तसम्म निर्यात ४८ अर्ब ४२ करोड रुपैयाँ पुगे पनि व्यापार घाटा अझै १०२ अर्ब रुपैयाँभन्दा कम भएको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव अच्युत ढुंगानाले कोशी प्रदेशबाट निर्यातको सम्भावना रहेका वस्तुको पहिचान गरी उद्योगी व्यवसायीहरूले सम्भावनाको समेत पहिचान गर्नुपर्ने बताए । 

सरकारले तयार पारेको नेपाल व्यापार एकीकृत रणनीति, २०८० ले निर्यात व्यापारका लागि सुगन्धित तेल, हिमालयन स्प्रिङ वाटर, तरकारी, फलफूल र तिनका प्रशोधित सामग्री, मसलाहरू(दालचिनी, बेसार, लसुन, केसर, जीरा, मरिच र तेजपात) हस्तकला, लामा रेशाका कपडाहरू (अल्लो), कफी, पीपीसी सिमेन्ट, छुर्पी, मह जस्ता वस्तुलाई उदयीमान वस्तुका रुपमा पहिचान गरिएको जानकारी दिए ।

साथै हाइड्रोजन ऊर्जा, बहुमूल्य पत्थर, खानीजन्य नदीजन्य र वनजन्य स्रोतबाट प्राप्त हुने ढुंगा गिटी र औषधीय गुण भएका सुगन्धित वस्तुहरूलाई निर्यात व्यापार भविष्यको सम्भावना भएको उनले बताए ।

तथ्याङ्कअनुसार नेपालको हालको मुख्य व्यापार साझेदार मुलक भारत हो । त्यसपछि चीन, युएई, अमेरिका, युक्रेन, मलेसिया र अस्ट्रेलिया आयात साझेदार रहेका छन् । 

आयातमा मुख्यतया पेट्रोलियम पदार्थ, मेसिनरी र औषधिको अंश धेरै छ । मुलुकको निर्यात व्यापार भने कृषि र साना उद्योगका सामानमा सीमित बनेको छ ।

विश्व माग सूचक र निर्यात कार्यसम्पादन सूचकको आधारमा नेपालबाट सबैभन्दा बढी निर्यात हुनेमा प्रमुख वस्तुमा अलैंची रहेको छ । 

त्यसपछि अदुवा, दलहन जुट, जडीबुटी तथा सुगन्धित वनस्पति, लोक्ताबाट बनेको हाते कागज, चम्किलो पत्थर र टर्पेन्टाइन लगायतका वस्तु रहेका छन् ।

ठूला उद्योगतर्फ फलाम तथा स्टिल, धागो तथा कपडा, जुत्ता, तयारी पोशाकको निर्यात हुने गरेको छ । साना तथा घरेलु उद्योगबाट गलैंचा, गरगहना, पश्मिना, पास्ता र ऊनबाट बनेका सामानहरू पनि नेपालबाट निर्यात हुने गरेको जनाइएको छ ।

वित्तीय वर्ष २०८०/८१ मा आयातको तुलनामा निर्यात अत्यन्त कम रहँदा व्यापार असन्तुलन झन् भयावह बन्दै गएको छ । 

आन्तरिक उत्पादन क्षमतामा देखिएको कमजोरी एवं गुणस्तरीय उत्पादनका देखिएको ह्रासका कारण निर्यात घटेको सरकारी तहको निष्कर्ष छ । 

निर्यात वृद्धिका लागि वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत विशेष आर्थिक क्षेत्र विस्तार, कर छुट र सूचना प्रविधि, पर्यटन र हरित ऊर्जामा निजी क्षेत्रको लगानी आकर्षणका कार्यक्रम घोषणा गरे पनि त्यसको समीक्षात्मक सुधार नभएको उद्योगीहरूको भनाइ छ ।

View : 70

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved