Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरबाट १४ लाख रुपैयाँ लुटिएको शंकास्पद दाबी

उद्‌घोष सम्वाददाता
६ साउन २०८१, आइतवार

विराटनगर । विराटनगरका एक व्यवसायीले मजदुरलाई भुक्तानी दिन ठिक पारेको १४ लाख ४७ हजार रुपैयाँ आइतबार दिउँसो लुटिएको शंकास्पद दाबी गरेका छन् । 

विराटनगर–३ मोर्डन एरा स्कुल नजिकैबाट व्यवसायी विवेक कर्णले उक्त रकम आइतबार दिउँसो करिब ३ बजेतिर लुटिएको कुरा आफैंले सार्वजनिक गराएका हुन् । मास्क लगाएर आएका दुई जना रकम लुटेर भागेको जानकारी कर्णले ३ बजेपछि आफैंले विभिन्न सञ्चारमाध्यमलाई गराएका हुन् ।

तर रकम लुटिएको भनिएको स्थान मोर्डन एरा स्कुल वरपर भने त्यस्तो घटना भएको आफूले अहिलेसम्म थाहा नपाएको सोही स्कुलका प्रिन्सिपल इन्द्र राईले बताए ।

‘म आज बिहान ६ बजेदेखि अहिले बेलुका साढे ६ बजेसम्म स्कुलमै छु, खै त्यस्तो लुटपाट भएको घटना कतैबाट कसैले सुनाएको छैन,’ उनले भने, ‘म बुझ्छु है के रहेछ कुरो ।’

यो घटनामा प्रहरीले पनि सञ्चारमाध्यमबाटै जानकारी पाएको बताएको छ । रकम लुटिएको पक्षले प्रहरीमा जानकारी नगराएको र मिडियामा घटना सार्वजनिक भएपछि आफैंले चासो राखेर सोधीखोजी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

‘रकम लुटिएको भनिएको छ, हामीले पनि मिडियाबाटै थाहा पाएको हो । मैले आफैंले फोन गरेर सोधीखोजी गरेपछि रकम लुटिएको भनिएका व्यक्ति सम्पर्कमा आएका हुन्,’ प्रवक्ता बस्नेतले भने, ‘अहिले अनुसन्धानको काम भइरहेको छ, बैंकदेखि रकम लुटपाट भएको ठाउँसम्मको सीसीटीभी फुटेज हेर्नका लागि टोली परिचालन गरिएको छ ।’

रकम लुटपाट भएको भनिएको कम्पनी कामदार सप्लाइ गर्ने र रोजगारी दिने कम्पनी भएको बुझिएको छ । प्रहरीका अनुसार लुटिएको भनिएको रकम उक्त कम्पनीको मेनेजर रहेका कर्णका ज्वाइँ अमरेश कर्णले कञ्चनबारीस्थित एभरेष्ट बैंकको शाखाबाट नगद निकालेको भनिएको छ । उनले रकम निकालेर कम्पनीको अफिसमा राखेको र राखेकै ठाउँबाट लुटेर समूहले रकम लुटेर लगेको दाबी गरिएको छ ।

लुटपाटको घटनापछि सम्बन्धित व्यक्तिहरूले प्रहरीको सहयोग लिनुपर्नेमा त्यस्तो नगरेको पाइएको छ । प्रहरीले समेत त्यसमा आश्चर्य व्यक्त गरेको छ । 

‘अफिसभित्रै घटना भएको भनिएको छ, घटनापछि प्रहरीको सहयोग लिनुपर्ने हो, तर लिएको देखिएन,’ प्रहरीले भनेको छ ।

View : 553

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved