विराटनगरको ट्राफिक लाइट
कञ्चनबारी चोकमा बिहीबार अपरान्ह देब्रे घुम्ने सवारी साधनलाई अवरोध गरेर रोकिएको जीप । तस्वीर : कमल/उद्घोष
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा यातायातको तीब्र चाप बढिरहेकाले ६ ठाउँमा ट्राफिक लाइट जडान गरिएको छ । जसका कारण दुर्घटनामा कमी आएर यातायातको चाप ब्यवस्थित भए पनि प्रहरीको बेवास्ताले सडक प्रयोगकर्ता मर्कामा छन् ।
ट्राफिक लाइट ((ट्राफिक बत्ती) भएको ठाउँबाट देबे्रतर्फ मोडिन जुनसुकै बेला खुल्ला हुन्छ । रातो बत्तीले रोकेको बेला पनि चालकले सवारी साधनलाई सडकको देब्रेतर्फ मोड्न पाउ“छन् ।
तर, कतिपय लापर्वाही गर्ने चालकले यो नियम पालना नगर्दा अन्य सवारी साधन सडकमा बिना कारण रोकिनुपर्ने अवस्था छ । देब्रे मोडिनुपर्ने र सिधा अगाडि जानु पर्ने दुबै खाले कतिपय सवारी साधन सडकमा रोकिन्छ ।
अगाडि लगेर रोकिने साधनका कारण पछाडि रहेका अन्य साधन देबे्र मोडिन पाउँदैनन् । जसले गर्दा अति आवश्यक एम्बुलेन्सले पनि अवरोध सहनुपर्ने गरेको छ ।
कञ्चनबारी, बरगाछी, भट्टीमोड, रोडशेष, जलजला चोक र तीनपैनी गरी ६ वटै ट्राफिक लाइट भएको स्थानमा यो समस्या देख्ने गरिन्छ ।
देब्रे मोडिन चाहने सवारी साधनलाई अवरोध गरेर अगाडि रोकिएका साधनलाई सिटी बजाएर हटाउनेमा ट्राफिक प्रहरीको भूमिका हुन्छ ।
तर, लाइट भएका स्थानमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले इसारासम्म नगर्दा हतारमा रहेका यात्री र चालकले सास्ती भोग्नु परेको विराटनगर–३ स्थित राजधानी युवा क्लवका अध्यक्ष राजु ढकाल बताउँछन् ।
‘नियम नमान्नेलाई कारवाही गर्नैपर्ने अधिकार लिएर सडकमा बसेका ट्राफिकले कर्तब्यपालना गरेको पाइँदैन’ उनले भने । रातो बत्तीले एकतर्फका साधन रोकेर अर्को तर्फकालाई जान दिइरहेका बेला साइकल र ठेलालाई भनें रोकिएको पाइँदैन ।
कानुनी रूपमा जरिवाना गर्न नमिल्ने साधनलाई ट्राफिक लाइटमा प्रहरीले नरोक्दा दुर्घटनाको जोखिम देखिन्छ ।
ट्राफिक लाइटको नियम पालना नगराइदा यदि साइकल र ठेलाका कारण दुर्घटना भए अर्को सवारी साधनका चालकलाई जेलसम्मको सजाय हुन सक्छ ।
सवारी रोक्नुपर्ने रातो बत्ती र चलाउनुपर्ने हरियो बत्तीको बीचको समय जथाभावी राखिएकाले लाइन नसकिदै पुनः रोक्नु पर्ने बाध्यता पनि छ ।
कुनै बेला हरियो बत्तीको समय २० सेकेण्ड मात्रै दिइन्छ । जसले गर्दा लाइन नसकिदै पुनः रातो बत्ती बल्छ र हतारमा भएका साधनले लाइनमै बसेर अर्को पल्टको बत्तीको प्रतीक्षा गर्नुपर्ने बाध्यता रहेको ट्राफिक सचेतनामा क्रियाशील क्लवका अध्यक्ष ढकाल बताउँछन् ।
कुनैकुनै बेला हरियो बत्तीलाई २० सेकेण्ड दिइदा रातो बत्ती १ सय १५ सेकेण्ड बालिन्छ । यो अवैज्ञानिक भएको उनको तर्क छ ।
ट्राफिक ब्यवस्थापनमा सहयोग गर्दै आएको महानगर प्रहरी यति बेला जनशक्ति अभावमा कार्यालय सुरक्षामा मात्रै केन्द्रित छ ।
१० जना नगर प्रहरीले राजीनामा दिएर गएपछि थप जनशक्ति नराखिएकाले बा“की रहेका ९ जनाले कार्यालय सुरक्षा र हाटबजार ब्यवस्थापन मात्रै गर्दै आएको छ ।
३५ जना दरबन्दी कायम गर्ने गरी आवश्यक्ता माग भएकाले पदपूर्ति पछि ट्राफिक लाइटमा पनि जनशक्ति राखिने नगर प्रहरी निरीक्षक राजन पौडेलले बताए ।
प्रदेशको राजधानी भएसँगै सवारी चाप ब्यवस्थापन गर्न जडित ट्राफिक लाइटको ब्यवस्थापन ट्राफिक प्रहरीले नै गर्दै आएको छ । जरीवानामा केन्द्रित ट्राफिकले लाइटको नियमलाई बेवास्ता गर्नेलाई हत्तपत्त कारवाही गर्दैन ।
गाउ“बाट आएका चालकले भन्दापनि बजारिया र हुनेखानेहरूले लाइटको नियम पालना नगरेको ट्राफिक प्रहरी बताउँछन् ।
निजी कार र मोटरसाइकल चलाउने समाजका ठूला भनिनेहरूले नै नियम नमान्ने गरेको मोरङ ट्राफिकका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले बताए । उनका अनुसार ट्राफिक नियमको पालना गर्ने पैदलयात्री, साइकल चालक र ठेला चालकहरू छन् ।
ट्राफिक नियमको पालनालाई ब्यापक बनाउन विद्यालय र क्याम्पसहरूमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
ट्राफिक नियमको पालनाका लागि पेट्रोल पम्पहरूमा सचेतना बोर्ड राख्न थालिएको जानकारी दिदै लम्सालले विराटनगर बजारमा सिटी सफारीका कारण ट्राफिक ब्यवस्थापनमा समस्या भएको बताए ।
View : 275
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved