Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

भौंडाहामा फुटवल मेला : गाउँको खेलमा राष्ट्रियस्तर खेलाडी

उद्‌घोष सम्वाददाता
१८ फागुन २०८१, आइतवार

विराटनगर । यति बेला मोरङ कटहरीका किसानलाई खेतमा चटारो कम छ । गएको वर्षको तुलनामा मकै खेती राम्रो देखिएको छ । मेलाको सिजन आउन लागेकाले स्थानीय खर्चको जोहोमा छन् ।

मध्य फागुन न जाडो न गर्मीको बेलामा गाउँमा गरिएको फुटवल प्रतियोगिताले मेलाको झल्को दिएको छ । 

कटहरी गाउँपालिका स्तरीय अध्यक्षकप फुटवल प्रतियोगिताको फाइनलमा शनिबार दर्शकको भीडले खेललाई नै प्रभावित पार्यो । 

बिदाका दिन भएकाले विद्यार्थी र रोजगारीमा रहेकाहरूसम्म खेल मैदानमै आएकाले आयोजकलाई भीड हटाउन हम्मे पर्यो । मैदान बाहिर राखिएका खाजा चियाका ब्यापारमा पनि उत्तिकै भीड भियो ।

आयोजकले माइकबाट भीडलाई मैदान छेउको सेतो लाइन भन्दा पर राखिदिन प्रहरीलाई आग्रह गर्नुपर्यो । भीडले ठेलेर दर्शक मैदानमै पुग्ने अवस्था थियो । 

फाइनलमा जिल्ला प्रहरी कार्यालय मोरङ र कटहरी–५ बीच प्रतिस्पर्धा हुँदा दर्शकले मैदानलाईनै छोप्न खोजेका थिए । स्थानीयले खेललाई माया गरेकाले भिड लागेको कटहरी–५ का दिपेन सरदारले बताए ।

एक गोल हालेर मोरङ प्रहरीले एक लाख रूपैयाँ राशीसहित शिल्ड प्राप्त गरेको छ । दोस्रो हुने कटहरी–५ ले ७५ हजार रूपैयाँ पाएको छ । 

कटहरी–५ भौंडाहाको खेलमैदानमा भएको प्रतियोगितामा स्थानीय टोलीको समर्थक जत्तिकै प्रहरीका समर्थक पनि थिए । वडाको टीलीमा एक दुई जना बाहेक बाहिरका खेलाडी हालिएको भनेर स्थानीयले प्रहरीको समर्थनमा हुटिङ गरे । 

प्रथम पालिकास्तरीय फुटवल प्रतियोगिता गरेको कटहरीले खेलका लागि ६ लाख रूपैंयाँ खर्च गरेको छ । स्थानीय खेलाडीको पहिचान गर्न पनि पहिलो पटक पालिकास्तरको फुटवल गरिएको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए । 

पहिलो पटकको गरिएको प्रतियोगिताको अनुभव सुनाउँदै उनले भने– ‘पालिका स्तरको खेल गराइएको टोलीमा राष्ट्रिय स्तरका खेलाडी पनि आएका रहेछन् ।’

हुन त कटहरी–५ को टोलीमा बाहिरका खेलाडी राखेको जनाएर कटहरी कटहरी–४ ले सेमिफाइनल बहिस्कार गरेको थियो । 

क्वाटर फाइनलमा ४ र ५ वडा बीचको खेलमा अफसाइड गोल भएको जनाउँदै विवाद भयो । खेल अवरूद्ध हुँदा अर्को दिन बाँकी रहेको २२ मिनेट मात्रै खेलाइने सहमतिमा दुबै टोली सहभागी भए ।

शुक्रबार सेमीफाइनल खेल सुरू हुनै लाग्दा ५ नम्बर वडाले अधिकांश खेलाडी बाहिरका हालेको देखेर खेल बहिस्कार गरिएको कटहरी–४ को राइजिङ युवा क्लवका अध्यक्ष मस्कुर शेखले बताए । 

आपूmहरूले स्थानीय खेलाडीका साथ मैदानमा सहभागिता जनाउँदा अर्को टोलीले अन्यत्रका खेलाडी मात्रै हालेको देखेर खेल बहिस्कार गरेको उनले बताए ।

सो टोलीले प्रतियोगितामा असहमति जनाएपछि वडा नम्बर ५ फाइनलमा पुगेको थियो । त्यसअघि सो टोलीले थलाहा युवा क्लव र वनस्खण्डी युवा क्लवलाई पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको थियो । 

बाई पाएर क्वाटर फाइनल पुगेको प्रहरीले पनि त्यसअघि फाइभ स्टार क्लब खनार र सरदार युवा क्लव ग्रामथानलाई पराजित गरेको थियो ।

फाइनलको यात्रा तय गर्ने सम्भावना रहेको कटहरी–४ को राइजिङ युवा क्लवका संरक्षक इश्राफील शेख आयोजक कटहरी पालिकाले नै असहयोग गर्दा आपूmहरू प्रतियोगिताबाट बाहिरिनु परेको बताए । 

प्रतियोगितामा सहभागी १६ मध्ये ९ टोली मात्रै कटहरीका थिए । यसअघि कटहरीका बिभिन्न वडाले फुटवल र क्रिकेटमा वडाध्यक्षकप प्रतियोगिता भनें गराउँदै आएका थिए ।

View : 143

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved