विराटनगर । यात्रु र चालक दलका गरी २४२ सदस्य बोकेर भारतको अहमदाबादबाट लन्डनका लागि बिहीबार उडेको एयर इन्डिया १७१ नम्बरको उडानले जमिन छाडेको केहि सेकेन्डमै दुर्घटनाग्रस्त हुँदा २४१ जनाको निधन भएको विमान कम्पनीले पुष्टि गरेको छ ।
बोइङ ७८७-८ ड्रिमलाइनरको इतिहाँसमै पहिलो पटक भएको यो उडानको दुखद् दुर्घटनाले मृतकका परिवारमा सँधै गहिरो चोट बनेको छ । तर रोचक घटनाका रुपमा एक यात्रु भने बाँच्न सफल भएका छन् ।
ती यात्रु भारतीय मुलका करीव ४० वर्षीय वेलायती नागरिक विश्वास कुमार रमेश आपतकालिन ढोकाबाट जोखिम मोलेर हामफाल्दा पनि बाँच्न सफल भएका हुन् । उनी उक्त उडानको सिट नम्बर ११ए मा बसेका यात्रु भएको एयर इन्डियाले जनाएको छ ।
भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादबाट भारतीय समय अनुसार बिहीबार दिउँसो १ बजेर ४० मिनेटमा २४२ जना यात्रु लिएर बेलायतको ग्याटविक विमानस्थलका लागि टेकअफ गरेको बोइङ ७८७–८ ड्रिमलाइनरले जमिनमा ६२५ फिट माथि पुगेर उचाई गुमाएको थियो ।
विमान स्थानीय सिभिल हस्पिटलका चिकित्सकहरुको आवास क्षेत्रमा खसेको थियो । जसका कारण भवनमा रहेका कम्तिमा ५ जना मानिसहरु समेत हताहती भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
जहाजले भुँई छाडेलगत्तै चालक दलले आपतकालिन संकटको संकेतका रुपमा एयर ट्राफिकलाई ‘मे डे’ कल गरेका थिए ।
करिब ८० लाख मानिसको बसोबास रहेको अहमदाबादको भिडभाडयुक्त आवास क्षेत्र छेउमा रहेको विमानस्थलबाट झण्डै साढे ९ घण्टाको लामो यात्राका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइनर विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र १ क्यानेडियाली नागरिक रहेको एयर इन्डियाले जनाएको छ ।
विमानमा दुई जना पाइलटसहित १० जना चालक दलका सदस्य पनि थिए ।
लामो उडानका कारण विमानमा पर्याप्त इन्धन थियो । जसका कारण दुर्घटना लगत्तै ठुलो परिमाणमा आगो सल्किनुका साथै धुँवाको मुस्लो उठेको थियो ।
यो विमान ईन्धन–किफायतीयुक्त वाइड–बडी थियो । यसले ३३० व्यक्तिहरूलाई बोक्ने क्षमता थियो । साथै लामो दूरीको यात्राका लागि सुविधा र सुरक्षित विमानका रुपमा समेत ख्याती थियो । ७८७ ड्रिमलाइनर दुर्घटनाको यो पहिलो घटना हो ।
View : 81
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved