Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस मोरङद्वारा सेवा प्रवाह चुस्त बनाउन आग्रह

उद्‌घोष सम्वाददाता
३० जेठ २०८२, शुक्रवार

विराटनगर । नेपाली कांग्रेस मोरङले नागरिक सरोकारका विभिन्न विषयमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुखसहित विभिन्न सरकारी निकायका प्रमुखहरूसँग छलफल गरेको छ ।

नेपाली कांग्रेस मोरङका सभापति एवम् संघीय सांसद डिगबहादुर लिम्बूको नेतृत्वमा गएको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर नागरिकका समस्याहरूको समाधानमा गम्भीर हुन आग्रह गरेको हो ।

छलफलमा नेपाली कांग्रेस जिल्ला समिति मोरङका पदाधिकारी, सदस्यहरू एवम् विराटनगर महानगरपालिकाका वडा सभापतिहरूको सहभागितो थियो ।

छलफलका क्रममा नेका मोरङका सभापति लिम्बूले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्न, विपत् व्यवस्थापनलाई सहज बनाउन, आम नागरिकका लागि शान्ति सुरक्षा सुनिश्चित गर्न र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन जोड दिए । 

नेका विराटनगर–११ का सभापति रामसुन्दर राजवंशीले अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक निकायहरूमा विचौलियाको बिगबिगी रहेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । विराटनगर–३ का सभापति धर्मेन्द्र बानियाले ज्येष्ठ नागरिकको स्वास्थ्य सेवा जटिल हुने भएकोले  त्यसलाई सहज बनाउन अनुरोध गरे ।

विराटनगरका विभिन्न वडाका सभापतिहरू ज्ञानेश्वर नेपाल (वडा नं. २), राजकुमार तबदार (वडा नं. ४), रामकुमार ढकाल (वडा नं. ६), अशोक विष्ट (वडा नं. ७), सिर्जन आचार्य मुकेश (वडा नं. ८), उपसभापति अनुप साकोटा (वडा नं. ९), हरिनारायण यादव (वडा नं. १२), तारानाथ तिम्सिना (वडा नं. १३) र वडाध्यक्ष एवम् सभापति प्रकाश साह (वडा नं. १५) ले आ–आफ्ना वडावासीका सेवा सुविधाका बारेमा मन्तव्य राखेका थिए ।

यसैगरी, नेका वडा नं. १६ का सभापति तथा महानगरका वडाध्यक्ष उद्धव भुजेल, वडा नं. १८ का सभापति वसन्त राजवंशी र वडा नं. १९ का सभापति शेषराज राजवंशीले पनि आफ्ना वडावासीका सरोकारहरू प्रस्तुत गरे ।

छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाली कांग्रेसको टोलीबाट उठेका प्रश्नहरूको जवाफ दिए ।  उनले विपत् व्यवस्थापनमा प्रशासन गम्भीर रहेको र सरकारी कार्यालयमा हुने ढिलासुस्ती नियन्त्रण गरी छिटोछरितो सेवा प्रवाहका लागि तथा विचौलियालाई निरुत्साहित गर्न आफू लागिपरेको बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायणप्रसाद चिमोरियाले नागरिकको शान्ति सुरक्षाका लागि आफू संवेदनशील रहेको र गलत कार्य गर्ने सुरक्षाकर्मीलाई कारबाहीसमेत गरिएको जानकारी दिए । कोशी अस्पतालकी सुपरीटेडेन्ट डा. रुना झाले अस्पतालसम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिएकी थिइन् । यस्तै, निर्वाचन कार्यालय कोशीका प्रमुख युवराज गुरागाईंले मतदाता नामावली लगायतका सोधिएका प्रश्नको जवाफ दिए ।

सो अवसरमा नेपाली कांग्रेस मोरङका उपसभापति भक्ति माझी, सचिव ललीत श्रेष्ठ र भुवनेश्वर मण्डल राजवंशीले समेत आफ्ना धारणाहरू राखेका थिए ।
 

View : 440

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved