Biratnagar, Morang, Nepal
८ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

खोटाङ प्रहरीले गर्यो चार दिन लगाएर ११३ किलोमिटर ‘लङ रुट प्याट्रोल’ (फोटो)

उद्‌घोष सम्वाददाता
२१ भदौ २०८१, शुक्रवार

विराटनगर । जिल्ला प्रहरी कार्यालय खोटाङले स्थानीय र पर्यटकहरूको सुरक्षाका विषयमा चार दिन लगाएर ११३ किलोमिटर लामो ‘लङ रुट प्याट्रोल’ पुरा गरेको छ ।  प्रहरीले मुन्धुम पदमार्गको सुरक्षा तथा स्थानीय नागरिक र प्रहरीबीच अन्तरक्रिया गर्दै उक्त प्याट्रोलिङ गरेको हो ।

भदौ १७ गते सोमबार ऐंसेलुखर्क गाउँपालिका–२ बाकाचौलको देउरालीबाट शुरु भएको प्याट्रोलिङ साकेला गाउँपालिका–१ बादुङसम्म ११३ किलोमिटर दुरी पुरा गरेको जनाइएको छ । 

प्याट्रोलिङको नेतृत्व जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का स्वयंले गरेका थिए । प्रहरी टोलीले देउराली, धर्म पिक, घ्याङखर्क, बुर्चो पिक, छेकुवा, कुलुपोङ्खो पास, साल्पा, साल्पापोखरी, शिलिचोङ पिक हुँदै मुन्धुम ट्रेल अन्तरगत हाडी पोखरी, लाउरे थाम, लाउरी भिर, बलौटे भञ्ज्याङ, सातदोबाटो, हाँस पोखरी, धोद्रे, दलसिङ्गे, चखेवा भञ्ज्याङ हुँदै बादुङसम्म पैदल गस्ती गरेको प्रनाउ खड्काले बताए ।

गस्तीका क्रममा चौँरी गोठ, भेडी गोठ, गाई गोठका संचालक, हेरालुहरूसँग सुरक्षाका विविध विषयमा अन्तरक्रिया गरिएको उनले जानकारी दिए । 

खोटाङदेखि पूर्वी सीमाना भोजपुरसम्मको मुन्धुम पदमार्ग भएर आउने आन्तरिक पर्यटकहरूलाई आवश्यक पर्ने सुरक्षाका विषयमा गोठ संचालकहरूलाई जानकारी गराइएको थियो । साथै प्रहरीको कम पहुँच रहेका पहाडी क्षेत्रका गाउँबस्तीमा मानिसहरूसँग पनि छलफल गरिएको उनले बताए । 

प्रहरीले धार्मिक एवं सांस्कृतिक र पर्यावरणीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको यस क्षेत्रका विभिन्न भूभाग र मुन्धुम पदमार्गका आसपासमा रहने स्थानीयवासीहरूसँग छलफलबाट आगामी दिनमा आइ पर्नसक्ने सुरक्षा चुनौतीहरूलाई निस्तेज पार्न समेत मद्दत पुगेको प्रनाउ खड्काले बताए ।

‘पहाडी दुर्ग ठाउँमा प्रहरी कम पुग्ने गर्दछ, त्यहाँ स्थानीय मानिसहरूको प्रहरीसँग एक्सेस पनि कम हुने गर्दछ, यो प्याट्रोलको पहिलो उद्देश्यलाई त्यो समस्यालाई कभर गर्नका लागि हो’ प्रनाउ खड्काले भने, ‘अर्को कुरा, मुन्धुम ट्रेल हाम्रो अत्यन्तै भर्जिन डेस्टिनेसन भएकोले यहाँ आन्तरिक र बाह्य पर्यटन बढ्दै गएको छ, त्यसै कारण पैदल मार्ग सुरक्षित छ भन्ने अर्को महत्वपूर्ण सन्देश दिन प्याट्रोल गरिएको हो ।’

उनले जिल्लाभित्रका प्रहरीका युनिटहरुले आ–आफ्नो हिसाबले पनि गस्ती गर्दै आएको जानकारी दिए । तर यसपटक भने जिल्लास्तरबाटै एकीकृत रुपमा ११३ किलोमिटर प्याट्रोल पुरा गरिएको बताए ।

View : 5877

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved