Biratnagar, Morang, Nepal
८ वैशाख २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

माओवादी विराटनगर सम्मेलन

नेताले चाहेकै नेतृत्व चयन गर्न कसरत

उद्‌घोष सम्वाददाता
८ वैशाख २०८२, सोमवार

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदै गर्दा प्रतिनिधि निर्णायक होलान् कि नेता ? महानगर माओवादीभित्र देखिएको यो संशयले धेरै कार्यकर्तालाई आइतबारको उद्घाटन सकिंदासम्म अन्योलमै राखेको छ । 

फौजी शैलीको सांगठनिक अभ्यास गरेर आएको माओवादीमा नेताहरूले चाहे अनुसारकै नेतृत्व छान्ने दौडधुप तीव्र रहेको कार्यकर्ताहरूले आशंका गरेका छन् ।

अधिवेशनको उद्घाटनमै नेताहरूले पनि ‘सकेसम्म सहमतिको प्रयास हुने’ बताएका छन् । सम्मेलन उद्घाटनका लागि आएका अध्यक्ष पुष्पकमल दाहालले त घुमाउरो पारामा प्रतिष्पर्धा गर्न हतोत्साहित नै पारेका छन् । उनले अधिवेशनमा गुटबन्दी गरे त्यसको परिणाम घातक हुने चेतावनी नै दिएका हुन् ।

आइतबार अधिवेशन उद्घाटन भएको महानगर अधिवेशनको बन्दसत्र सोमबारका लागि तय गरिएको छ । बन्दसत्रबाट पार्टीको सांगठानिक तथा राजनीतिक प्रतिवेदन पारित गर्नेदेखि नेतृत्व चयनसम्मको लामो प्रक्रिया पूरा हुँदैछ ।

विराटनगर–४ स्थित शुभ ब्याङ्केटमा महानगर सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले प्रतिष्पर्धा गर्ने प्रक्रियालाई ‘गुटबन्दी’ को संज्ञा दिए । उनले गुटबन्दी गरे परिणाम घातक हुने बताए । 

पार्टीभित्र तीन दशक यता एकल नेतृत्व गरिरहेका दाहालले प्रतिनिधि र कार्यकर्ता तर्साउने शैलीमा कम्युनिष्ट पार्टीभित्र सवैभन्दा घातक पक्ष नै ‘गुटबन्दी’ भएको बताए । उनको यो अभिव्यक्तिको सार नै नेता अनुकूलको सर्वसम्मत नेतृत्व चयनको पक्षमा केन्द्रित थियो ।

‘अघिल्लो पटक प्रदेश अध्यक्षले आचारसंहिता भनेर सुनाउनु भएको थियो, पार्टी अनुशासन पालन नगर्नेलाई कारवाही गरिन्छ भनेर सुनाउनु भएको थियो, यहाँ पार्टी त्यही रुपले निर्माण हुनुपर्छ भन्ने मलाई लाग्छ’ प्रचण्डले चेतावनी दिंदै भने, ‘कम्युनिष्ट पार्टीका लागि सवैभन्दा घातक गुटबन्दी हुन्छ, गुटबन्दी गरेर हिंड्ने, पार्टीका निर्णय, नीति, विधि र नेतृत्वभन्दा बाहिर गएर स्वार्थ समूह बनाउने काम गर्यो भने त्यो घातक हुन्छ ।’

पार्टी अध्यक्षले नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्नु अगाडि नै यस्तो अभिव्यक्ति दिएपछि माथिल्लो नेतृत्वमा अघि बढ्न खोज्ने कार्यकर्ताहरू समेत तरंगित भएका छन् । 

पार्टीभित्र छिटपुट बाहेक सवै ठाउँमा प्रतिष्पर्धा रोकिने गरेका कारण उनीहरूले अघि बढ्ने रणनीति बनाउन छलफलमा जुटेका छन् ।

माओवादी महानगर कमिटीको अध्यक्षका लागि चारजना आकांक्षीका रुपमा देखिएका छन् । वर्तमान कमिटीका अध्यक्ष नवीन पौडेलसहित उपाध्यक्षहरू दिनेश राजवंशी (देव) र ज्ञानु भट्टराई तथा सचिव नमिता न्यौपानेले अध्यक्षमा मुख्य आकांक्षी हुन् ।

वर्तमान कमिटीकै अध्यक्ष पौडेलले आइतबार उद्घाटन सकिएका कारण सोमबार विहान ११ बजेदेखि बन्दसत्र सुरु हुने जानकारी दिए । उनले बन्दसत्रको हलको ‘डिमान्ड’ र कार्यकर्ताले महुसस गरेमा आफू दोहोरिन पनि तयार रहेको बताए ।

‘स्वाभाविक रुपमा म अहिले अध्यक्ष नै भएको, हलले डिमान्ड गरेमा र कार्यकर्ताले आवश्यकताको महसुस गरेमा अघि आउने हो’ उनले भने ।

पौडेलले वातावरण बनेमा आफू अध्यक्षमा दोहोरिने स्पष्ट संकेत गरे पनि उनीभन्दा तीब्र आकांक्षीका रुपमा वर्तमान उपाध्यक्ष राजवंशी र सचिव न्यौपाने देखिएको माओवादीका एक कार्यकर्ताले बताए । उनीहरू नेताहरूकै आड  भरोसामा अध्यक्षको लाइनमा उत्रिएका हुन् ।

राजवंशी शिवकुमार मण्डल लगायतको समर्थनमा अध्यक्षको दाबी गरिरहेका छन् । 

न्यौपाने भने अध्यक्ष प्रचण्डको ‘मुल लाइन’ को उम्मेदवार बन्न लागेकी हुन् । जिल्ला कमिटीका दोस्रो तहका केही नेताको समर्थन भने भट्टराईलाई पनि रहेको जनाइएको छ । 

राजवंशी र न्यौपाने भने आ–आफ्नो टिम नै बनाएर अघि बढ्न लागेका हुन् । 

न्यौपानेको पक्षमा बहुसंख्यक नेताको समर्थन जुटाउन कसरत भइरहेको एक कार्यकर्ताले बताए । तर न्यौपानेले चाहेजस्तो सहज अवस्था भने नरहेको राजवंशी पक्षका नेताको भनाइ छ । 

माओवादी केन्द्र विराटनगर महानगर कमिटीका इञ्चार्ज भोगेन्द्र यादवले सवैको उद्देश्य सर्वसम्मत नेतृत्व चयन गर्नमा केन्द्रित रहने बताए । त्यसपछि मात्रै निर्वाचनको प्रक्रियामा जाने उनले बताए ।

‘हामी सवैजना सर्वसम्मत गर्न लागेका छौं, भएन भने त निर्वाचन हुन्छ’ उनले भने, ‘अहिले कसैले कसैलाई बोकेको छैन ।’

स्रोतका अनुसार यादव पनि वर्तमान उपाध्यक्ष राजवंशीकै पक्षमा रहेका छन् । उनले राजवंशीसँगै भट्टराईलाई पनि स्वभाविक दाबेदार रहेको बताउने गरेका छन् । तीन उपाध्यक्ष पद मध्ये सरस्वती ओझा र शारदा मैनालीले आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् । 

माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य हेम कार्कीले सहमतीय प्रणालीबाटै पार्टी चलेका कारण त्यसैको निरन्तरता हुने बताए । दाबी गर्ने सवैजना होनाहार नेताहरू भएको उनले बताए ।

‘नेतृत्वदेखि नै सहमतीय प्रणालीबाट आएको पार्टी हो, यसैमा हामी विश्वास गर्छौं’ उनले भने, ‘सवैजना होनाहार हुनुहुन्छ, देवजी पनि जनयुद्धबाट आउनु भएकोले काविल हुनुहुन्छ, अहिलेको उपाध्यक्ष पनि हो, एउटा सीमान्तकृत समुदायको नेतृत्व पनि हो, नमिताजी पनि विराटनगरको फेस भ्यालु भएको स्थापित नेता हुनुहुन्छ, महिला नेतृका रुपमा विशेष योग्यता क्षमता छ ।’

माओवादी महानगर कमिटीको दोस्रो सम्मेलनमा ३ सय ५६ जना प्रतिनिधिले ९९ सदस्यीय कमिटी चयन गर्ने जनाइएको छ । उक्त कमिटीले मात्रै पार्टीका बहुमतका आधारमा अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ । अहिले ९९ जनामा बहुमत सदस्य आफ्नो पक्षका निर्वाचित गर्न नै अध्यक्षका आकांक्षीहरू केन्द्रित रहेको जनाइएको छ ।

९९ जनाले महानगर कमिटीको अध्यक्षसहित उपाध्यक्ष ३, सचिव १, सहसचिव १ र कोषाध्यक्ष १ जना चयन गर्ने जनाइएको छ । पदाधिकारी चयनपछि बाँकी रहने सवै सदस्य हुनेछन् ।

View : 160

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved