प्रचण्डप्रति मुख्यमन्त्री कार्कीको एकाएकको हार्दिकता
कार्यक्रममा कोशी पर्यटन वर्ष, २०८२ लोगो अंकित पिन प्रचण्डलाई लगाइदिदै मुख्यमन्त्री कार्की । पुस १५ गते मुख्यमन्त्री कार्कीले लेखेको फेसबुक स्टाटस ।
विराटनगर । कम्युनिष्टहरूका लागि खुशी हुँदा मुखै चाट्नु, रिसाउँदा खुट्टो काट्नु कुनै अनौठो मानिदैन । एउटा पुरानो भनाइ के पनि छ भने कम्युनिष्टहरू जुटे भने झण्डा ठूलो बनाउँछन् फुटे भने विचार ठूलो बनाउँछन् ।
जुट्नु र फुट्नु उनीहरूका लागि सामन्य मानिए पनि फुट्दा कुन हदसम्म गालीगलौजमा उत्रन्छन्, र मिल्दा कुन हदसम्म लपक्क हुन्छन् भन्ने उदाहरण चाहिँ कम्युनिष्टरू माथिदेखि तलसम्म भाका मिलाएरै दिन्छन् ।
यस्तै लपक्क हुनेगरीको व्यवहार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गरेका छन् ।
मुख्यमन्त्री कार्कीले प्रचण्डमाथि आइतबार एउटा कार्यक्रममा गरेको अतिरिक्त अनुराग प्रदर्शन कतै राष्ट्रिय राजनीतिको ‘मेनु’ फेरिन लागेको संकेत त होइन भन्ने तहको भएको एक सहभागीले बताए । हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सवमा मुख्यमन्त्री कार्कीले झण्डै आधा घण्टा पर्खेर कार्यक्रममा प्रमुख अतिथि पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गरे ।
कार्कीले बजारमा एक हजार हाराहारी मूल्य पर्ने बुके दिएर प्रचण्डको स्वागत गरेका थिए ।
मुख्यमन्त्री कार्की तिनै हुन् जसले केही महिनाअघिमात्रै प्रचण्डलाई मानसिक असन्तुलन चाहिँ नहोस् भनेर परोक्ष शुभकामना दिएका थिए ।
झापाको गौरीगञ्जमा प्रचण्डले ‘भ्रष्टाचारविरुद्धको अभियान चलाएकै कारण सरकार छाड्नुपर्याे’ भन्ने अभिव्यक्ति दिएपछि मुख्यमन्त्री कार्कीले तत्कालै प्रचण्डलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका थिए ।
उनले सामाजिक सञ्जालमा प्रचण्डको नाम त खुलाएनन् तर उनका अभिव्यक्ति राजनीतिक रुपमा प्रचण्डप्रति परोक्ष लक्षित थियो भनेर सजिलै अनुमान लगाउने समय सन्दर्भमा आएको थियो । प्रचण्डले गत पुस १५ गते झापाको गौरीगञ्जको जनसभालाई सम्बोधन गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पुगेर प्रचण्डले दलाल, बिचौलिया र भ्रष्टहरू लागेर आफूलाई सत्ताच्युत गरेको भाषण गरेका थिए ।
प्रचण्डको उक्त भाषणको जवाफमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोही दिन फेसबुक स्टाटस लेखेर आफ्नो तुष्टि मेटेका थिए ।
उनले लेखेका थिए–‘झुट, बदनियतपूर्ण र अशोभनीय अभिव्यक्ति के सत्ताच्युत भएपछिको अराजनीतिक अभिव्यक्ति मात्रै हो ? त्यति मात्रै त हुँदै होइन, अशोभनीय र असन्तुलित त हुँदै हो, तर मानसिक असन्तुलन चैँ नहोस् भन्ने हार्दिक शुभकामना छ ।’
यसरी चार महिनाअघिको आफ्नै फेसबुक स्टाटस बिर्सेर मुख्यमन्त्री कार्की आइतबार विराटनगरमा प्रचण्डसँग नाटकीय ढंगको हार्दिक सम्बन्धमा अवतरित भएका छन् ।
उनले प्रचण्डलाई हार्दिकतापूर्वक स्वागत सत्कारमात्रै गरेनन् ‘कोशी पर्यटन वर्ष, २०८२’ को लोगो भनेर आफ्नै हातले प्रचण्डको कोटमा पिन पनि लगाइदिए । कार्यक्रममा प्रचण्डभन्दा अघि भाषण गर्ने समय पाएका कार्कीले उनको चित्त दुखाउने कुनै भाषण पनि गरेनन् ।
बरु कार्कीले लोकतन्त्र तथा गणतन्त्रका लागि लडेका संस्थापन पक्ष नै मञ्चमा रहेको उल्लेख गर्दै संस्थापकहरू मिल्नुपर्ने अपिल गरे ।
यसरी चार महिनाअघिको आफ्नै विषादित अभिव्यक्तिबाट ‘यूटर्न’ भई मुख्यमन्त्री कार्कीले प्रचण्डको स्वागत, सम्मान र खातिरदारी गर्दा कतै गठबन्धनको नयाँ खिचडी त पाक्न लागेको होइन भनेर प्रश्न तेर्सिएको एक सहभागीले बताए ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त विश्वासपात्र मानिएका कार्कीले प्रचण्डलाई गरेको अतिरिक्त खातिरदारी सामन्य शिष्टाचार मात्रै नभएको उनको दावी थियो ।
View : 733
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved