विराटनगर । मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने भएको छ ।
मनमोहन मेमोरियल कप फाउण्डेशनको आयोजनामा बैशाख १३ गते सुरु हुने प्रतियोगितामा एक आमन्त्रितसहित ६ वटा टिमबीच खेल हुने जनाइएको छ ।
प्रतियोगिता वैशाख २० गतेसम्म चल्ने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
पछिल्लो समयमा कमै आयोजना हुने ५० ओभर फम्र्याटको एक दिवसीय प्रतियोगितामा कोशी प्रदेशको टिमलाई आयोजक टोलीका रुपमा अघि सारिएको हो ।
फाउण्डेसनका अध्यक्ष विप्लव घोषले लिग कम नकआउट शैलीमा प्रतियोगिता खेलाइने जानकारी दिए ।
प्रतियोगिताले खेलाडी उत्पादन र एक दिवसीय खेलको विकासमा सहयोग पुग्ने अपेक्षा रहेको उनले बताए ।
दुई समूहमा विभाजित गरिएका ६ टिममध्ये दुवै समूहका दुई शीर्ष टिमले फाइनलमा उपाधिका लागि खेल्नेछन् । विजेताले नगद ४ लाख, उपविजेताले २ लाख पुरस्कार पाउनेछन् ।
त्यस्तै प्लेयर अफ दि टुर्नामेन्ट हुने खेलाडीले २५ हजार, उत्कृष्ट ब्याटर र बलरले १५–१५ हजार र प्लेयर अफ दि म्याचले ४ हजार नगद पुरस्कार पाउनेछन् ।
समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको टिम र वागमती प्रदेश छन् ।
समूह ‘बी’ मा नेपाल पुलिस, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् ।
फाउण्डेसनले यसअघि २०७५ मा पहिलो र २०७६ मा दोस्रो संस्करणको आयोजना गरिसकेको छ । दुवै संस्करणको विजेता आर्मी रहेको छ ।
View : 75
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved