Biratnagar, Morang, Nepal
१ असार २०८२, आइतवार
+977 21 450305, 515728, 578305
समाज

एयर इन्डिया दुर्घटनामा मृत्यु भएकी क्याबिन क्रु मनिषा थापाको पूर्ख्यौली थलो विराटनगर

उद्‌घोष सम्वाददाता
३१ जेठ २०८२, शनिवार

भारतीय संचारमाध्यममा सार्वजनिक गरिएको मनिषा थापाको तस्वीर । तल मनिषा समेत देखिएको उनको परिवारको तस्वीर ।

विराटनगर । भारतको अहमदावादमा चालक दलका सम्पूर्ण सदस्य लगायत २४२ जनाले यात्रा गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर जहाज दुर्घटनामा नेपाली मुलकी क्याबिन क्रु मनिषा थापाको मृत्युले उनको परिवार विक्षिप्त बनेको छ ।

जहाजमा रहेका मध्ये एकजना मात्रै यात्रु अद्भुत रुपमा बाँच्न सफल भएको यो दुर्घटनामा ज्यान गुमाएकी क्याबिन क्रु मनिषा थापाको पूर्ख्यौली थलो भने विराटनगर भएको खुलेको छ । भारतीय संचार माध्यमले अहमदावाद जहाज दुर्घटनामा मृत्यु भएकी मनिषाका बाबुको परिवार विराटनगरबाट पटना गएको उल्लेख गरेका छन् । 

२७ वर्षीया मनिषाका बुवा राजु बहादुर थापा अहिले विहार पुलिस अन्तरगत बेगुसरायमा कार्यरत छन् । राजुको सवै परिवार पटनास्थित जगदेव पथ इलाकामा रहेको श्यामा अपार्टमेन्टमा बस्दै आएका थिए ।

मनिषाका बुबा बाहेक उनका दुई काकाहरू बब्लु बहादुर थापा र गुड्डु बहादुर थापा पनि बिहार विशेष सशस्त्र प्रहरी (विएसएपी) को बटालियन–१ मा कार्यरत रहेको भारतीय संचार माध्यम ‘द टाइम्स अफ इन्डिया’ ले उल्लेख गरेको छ ।

त्रसादिपूर्ण दुर्घटनाको बिम्ब बनेको उडान नम्बर एआई–१७१ मा ज्यान गुमाएकी मनिषाले औपचारिक शिक्षा पटनामा पूरा गरेकी थिइन् । उनी जन्म पनि पटनामै भएको हो ।

उनले सन् २०१४ देखि १७ को ब्याचमा सेन्ट जेभियर्स कलेजबाट ब्याचलर अफ बिजनेस इकोनोमिक्समा स्नातक गरेकी थिइन् । त्यसपछि उनी इन्डिगो एयरलाइन्समा ग्राउन्ड सपोर्ट स्टाफका रुपमा उडान गर्ने सपनामा सामेल भएकी थिइन् ।

इन्डिगोपछि मनिषाले अकासा एयरमा काम गरेर थप अनुभव लिइन् र गत वर्षमात्रै एयर इन्डियाको क्याबिन क्रूमा जोडिएर प्रायः लन्डन र अष्ट्रेलियाका उडानमा तैनाथ हुँदै आएकी थिइन् । 

शनिबार पटनास्थित सेन्ट जेभियर्स कलेजमा मनिषाको स्मृतिमा उनका सयौं साथीहरूको उपस्थितिमा शोक सभा गरिएको जनाइएको छ ।

मनिषालाई उनका साथीहरू र अपार्टमेन्टका छिमेकीहरूले हँसिलो अनुहार भएकी छोरीका रुपमा चिनेको बताएका छन् । तर उनको मृत्युको अप्रत्यासित खबरले परिवार सरह दुखित बनाएका बताएका छन् । 

मनिषाका भाई अमितसहित बाबु राजु बहादुर र आमा लक्ष्मी थापा अहिले शवको पहिचानका लागि अहमदावाद पुगेको द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

थापाको परिवार विराटनगरमा कहाँ बस्थे र कहिले पटना गएका थिए भन्ने जानकारी दिन विराटनगरमा कोही आफन्तसँग सम्पर्क स्थापना भएको छैन ।

 

View : 812

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved