विराटनगर । ‘हामी बिहानदेखि साँझसम्मै दिलोज्यान दिएर काममा खटिन्छौं । तर, स्कुल व्यवस्थापनले हामीलाई पारिश्रमिक भने ज्यादै न्यून मात्रै दिने गरेको छ’, विराटनगरस्थित एउटा प्रि स्कुलका महिला शिक्षकले महानगरका जनप्रतिनिधिसँग केही समयअघि गुनासो गरे ‘हामी चरम श्रमशोषणमा परेका छौं ।’
दैनिक दर्जनौं बालबालिकाको स्याहार चाकरमा जुट्ने ती शिक्षकहरु महिनौंसम्म पारिश्रमिक नपाएपछि सबैभन्दा नजिकै उपलब्ध स्थानीय सरकार गुहार्न पुगेका थिए । उनीहरुको पीडा सुनेपछि महानगर उपप्रमुख शिल्पा निराला कार्कीले केही उपाय सुझाइन् ।
पेशागत सुरक्षाको उपायहरु सुझाउँदै उपप्रमुख कार्कीले अन्तिममा भनिन् ‘महानगरले स्कुल व्यवस्थापनसँग यसबारे छलफल गर्नेछ ।’
उपप्रमुखको यस्तो भनाइ सुन्नेबित्तिकै ती महिला शिक्षकहरुले त्रसित भावमा त्यसो गर्दै नगर्न भने । यदि महानगरले स्कुलका सञ्चालकहरुसँग यसबारे कुरा गरे आफूहरुले कामबाटै निकालिनु पर्ने जोखिम उनीहरुले देखाए ।
गरिरहेको कामबाटै निकालिनु पर्ने अन्यायपूर्ण अवस्थामा पुग्न नदिन उपप्रमुख कार्कीले उनीहरुले खेपिरहेको लामो समयदेखिको अन्याय अन्त्य गर्ने अर्को उपाय खोज्नै सकिनन् ।
मंगलबार विराटनगरमा आयोजित एउटा कार्यक्रममा उपप्रमुख कार्कीले सुनाएको यो घटनाले स्याहार क्षेत्रका श्रमिकहरुको दुरावस्था दर्शाउँछ । यस्तो समस्या कुनै एक क्षेत्रमा मात्रै छैन, स्वास्थ्यदेखि शिक्षालयसम्म, घरेलु श्रमदेखि स्याहारका अन्य क्षेत्रमा पनि उस्तै अवस्था छ ।
पौरखी नेपाल नामक संस्थाले आयोजना गरेको घरेलु श्रम तथा स्याहार काम विषयक अन्तरक्रिया कार्यक्रममा उपप्रमुख कार्कीले भनिन् ‘स्याहारका क्षेत्रका श्रमिकहरुको अवस्था एकदमै दयनीय छ । चौतर्फी असुरक्षाको भयमा उनीहरु काम गर्न बाध्य छन् ।’
नेपाल सरकारले परिभाषित गरे अनुसार नर्सिङ, मन्टेश्वरी शिक्षक, स्वास्थ्य स्वयमसेविकाहरु, घरेलु श्रमिकहरु, बगंैचामा काम गर्ने मजदुरहरु तथा घरेलु श्रमिकका रुपमा विदेश जाने सबैजसो स्याहार श्रमिक हुन् । कार्यक्रममा बोल्ने सबैजसो वक्ताले स्याहार क्षेत्रका सबै श्रमिकहरुको अवस्था एकदमै नाजुक रहेको, श्रमको उचित मूल्य नभएको, धेरैजसो स्याहारका क्षेत्रका काममा पारिश्रमिक नै नदिएको पाइएको बताएका थिए ।
आप्रवासनबारे लामो समयदेखि काम गर्दै आएका सुनिल न्यौपानेले प्रस्तुत गरेको कार्यपत्र अनुसार स्याहार क्षेत्रमा अहिले पनि ८० प्रतिशत हिस्सा महिलाको छ । जसमध्ये बहुसंख्यक महिला श्रमिकहरु बिना पारिश्रमिक खटिरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांक अनुसार विश्वभर ६ करोड ७० लाख घरेलु श्रमिक छन् । जसमध्ये ८० प्रतिशत हिस्सा महिलाको छ ।
‘एकातिर महिला स्याहार श्रमिकहरुको पारिश्रमिककै समस्या धेरै भोगिरहेका छन् भने अर्कातिर कार्यस्थलमा हुने विभिन्न खालका हिंसाबाट पनि उनीहरु पीडित भएको अवस्था छ’, उनले भने ‘तर, नेपालको बिडम्बना के हो भने स्याहार श्रमिकहरुको संख्या कति छ भन्ने तथ्यांक कसैसँग छैन ।’
उनका अनुसार अहिलेसम्म नेपालभरीबाट जम्मा दुई जना घरेलु श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग विराटनगरका सहसचिव बीरबहादुर बुढाले स्याहारको कामलाई मर्यादित नमान्नु, शोषण हुने क्रम जारी रहनु दुःखद् पक्ष भएको बताए । अधिकार क्षेत्रमा काम गरिरहेकाहरुका अनुसार सबैभन्दा जोखिम र दयनीय अवस्था घरेलु श्रमिकको छ ।
महिलाको अवस्था अध्ययन गर्दै महानगर
विराटनगर महानगरभित्र रहेका सबै महिलाको स्थिति अध्ययनमा महानगर जुटेको छ ।
महिलाहरुको समग्र अवस्था कस्तो छ, कति बेरोजगार छन्, कति कस्तो श्रम क्षेत्रमा छन् भन्ने तथ्यांक निकाल्न महानगर जुटेको हो ।
‘महानगरले महिलाको स्थिति प्रतिवेदन तयार पार्दैछ, काम सुरु भइसकेको छ’, उपप्रमुख शिल्पा निराला कार्कीले भनिन् ‘यो अध्ययनले महानगरका सबै महिलाको समग्र अवस्थाको वस्तुनिष्ठ तथ्यांक प्रस्तुत गर्नेछ ।’
उनका अनुसार चालु आर्थिक वर्षको अन्त्य असार मसान्तसम्ममा महिलाको स्थिति प्रतिवेदन तयार हुनेछ ।
View : 126
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved