विराटनगर । सूचना प्रविधिको प्रयोगबाट कोशी प्रदेशको विकासमा जोड दिइएको छ । मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा सूचना प्रविधिको प्रयोग बढाएर त्यसलाई विकासको काममा प्रयोग गर्नुपर्नेमा जोड दिइएको हो ।
जेनिस सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत अन्जनी फुँयालले कोशी प्रदेशको ट्राफिक व्यवस्थापन, स्थानीय तहहरूले प्रदान गर्ने सेवामा गुनासो व्यवस्थापन र प्रहरीको कामलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग बढाउनेबारे छलफल अघि बढेको बताए ।
उनले सूचना प्रविधिलाई विकासको काममा प्रयोगमा ल्याउन सकिने स्वदेशमै रोजगारी सिर्जना भई युवा शक्ति विदेश पलायन रोक्न सकिने बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्रविधिको प्रयोगलाई महानगरपालिकाले समेत बढाउँदै लगेको बताए । तर मानिसमा प्रविधिको सचेतना नभएका कारण जनप्रतिनिधिहरूले राम्रो काम गर्दा पनि गाली खानुपरेको गुनासो सुनाए ।
नेपाल प्रहरीका पूर्वएआईजी भीम ढकालले सूचना प्रविधिको प्रयोगबाट नेपाल प्रहरीले आफ्नो सेवा प्रवाहमा ठुलो परिवर्तन ल्याइसकेको बताए ।
उनले जेनिस सोलुसनले विराटनगरमै शाखा कार्यालय विस्तार गरेको जानकारी दिंदै आगामी दिनमा सहज रुपमा सेवाग्राहीलाई सूचना प्रविधि प्रयोगबारे जानकारी गराउँदै जाने बताएका थिए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरू, सूचना प्रविधि अध्यापन गराउने स्कुल तथा कलेजका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको कार्यक्रमकी सहजकर्ता कला डाँगीले बताइन् ।
View : 109
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved