विराटनगर । मोरङ क्षेत्र नं–५ का सांसद योगेन्द्र मण्डल एमाले फर्कने भएका हुन् ? उनकै नेतृत्वमा बनेको जीवन विकास सामुदायिक अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्याएपछि यस्तो शंका धेरैले प्रकट गरे । यस्तो शंकायुक्त हल्लाबारे सांसद मण्डल आफै पनि जानकार रहेछन् ।
शनिबार कटहरीमा आयोजित अस्पताल उद्घाटन कार्यक्रममा बोल्ने क्रममा मण्डलले सुरुमै भने ‘यहाँ प्रधानमन्त्रीलाई निम्त्याउँदा म एमालेमा जान लागेको हो कि भन्ने कुरा पनि धेरै उठेको छ । तर, म एमालेमा जान प्रधानमन्त्रीलाई बोलाएको होइन । मुलुकको कार्यकारी प्रमुखबाट अस्पताल उद्घाटन गराउन मात्रै खोजेको हो ।’
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जीत हासिल गरेका सांसद मण्डलले एमालेमा जान प्रधानमन्त्री नबोलाएको प्रष्टीकरण सार्वजनिक रुपमै दिए । तर, पछिल्लो समय प्रधानमन्त्री ओलीसँग बढेको उनको हिमचिम र ओलीले पनि उनकै निर्वाचन क्षेत्रमा आएर गरेको मण्डलको ‘उच्च प्रशंसा’ ले मण्डलको कुनै पनि एमालेमा ‘कमब्याक’ हुन सक्ने संकेत चाहि गरेको एमाले नेताहरु नै बताउँछन् ।
त्यसो त प्रधानमन्त्रीले पनि सांसद मण्डललाई मञ्चबाटै जवाफ दिएर ‘उहाँलाई एमाले प्रवेश गराउन म आएको होइन’ भने । मण्डल पहिले एमालेमै रहेको, अहिले सांसद रहेको र भविष्यका बारे अहिले चिन्ता लिनु नपर्ने पनि ओलीले बताए ।
यद्यपि एमालेबाटै निर्वाचित अरु धेरै सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुकै सामु ओलीले शनिबार सांसद मण्डलको मुक्तकण्ठले प्रशंसा गरे । हुन पनि शनिबार उद्घाटन समारोहमा भेला पारिएका ठूलो संख्याका सर्वसाधारणको उपस्थितिले नै सांसद मण्डलको मिहिनेत प्रदर्शित गर्दथ्यो ।
चर्को घाम लागेको दिन गर्मीको पर्वाहसमेत नगरी ठूलो संख्यामा सर्वसाधारण भेला भएको कार्यक्रममा प्रधानमन्त्री ओली झण्डै तीन घन्टा ढिलो आए । प्रधानमन्त्री आउन ढिला हुँदा पनि सहभागीहरु धैर्य गरेर बसिरहे ।
हेलिकप्टरबाट ओर्लेर अस्पतालको उद्घाटन र निरीक्षणपछि मञ्चमा पुगेका ओलीले बोल्ने क्रममा सहभागीहरुको धैर्यताको प्रशंसा नै गरे । उनले भनेका थिए, ‘यति चर्को घाम र गर्मीमा पनि यतिधेरै बेर कुरेर बस्नुभएको छ, तपाईंहरु सबैलाई धन्यवाद ।’
आफूलाई सुन्न धैर्य गरेका सर्वसाधारणको प्रधानमन्त्रीले जति प्रशंसा गरे, त्यति धेरै सहभागी जुटाउने सांसद मण्डलको प्रशंसा पनि उनले उत्तिनै धेरै गरे । स्वतन्त्र सांसद मण्डलको मुक्त कण्ठले प्रशंसा गरेका ओलीले भने ‘तपाईंहरुले चुनावमार्फत एकदमै सही मान्छेलाई जिताउनु भएको छ । यस्तै सिर्जनशील कामको नेता हुनुपर्दछ, कुराको नेता होइन ।’
आफूले एकदमै भर गरेकाबाहेक अरुको खासै प्रशंसा नगर्ने ओलीको स्वभाव पुरानै हो । संसदको गतिरोध जारी रहेको संवेदनशील समयमा केही घन्टाका लागि समय निकालेर सांसद मण्डलको कार्यक्रममा सहभागी हुन आउने प्रधानमन्त्रीको उदारतालाई एमालेकै नेताहरुले ‘ओलीसँग मण्डलको बढ्दो निकटताको परिणाम’ भनेका छन् । अनि क्षेत्रका धेरैजसो मतदाता भेला भएको कार्यक्रममा प्रधानमन्त्रीले मण्डलको खुला प्रशंसा पनि गरिदिएका छन् ।
‘यसले केही पाकिरहेको संकेत त गर्छ नै, कुराकानी विभिन्न चरणमा भइरहेको भन्ने सुनिएको पनि हो, अहिले हो जस्तो लागेको छ’, एमालेका एक नेताले भने ‘मण्डलजीको पार्टीमा कमब्याक हुनसक्छ ।’
सांसद मण्डलले यसअघि आफ्नो क्षेत्रमा मत सर्वेक्षणसमेत गराएका थिए । आफू कुन दलमा जान उपयुक्त हुन्छ भन्ने प्रश्न राखेर गरेको मत सर्वेक्षणको नतिजा उनले सार्वजनिक त गरेका छैनन् । तर, उनी निकटहरुका अनुसार सबैभन्दा धेरैले उनलाई कांग्रेसमा जान सुझाएका थिए ।
कांग्रेसपछि जसपामा जान सुझाव दिनेहरु धेरै थिए । एमाले र माओवादीमा जानु भन्नेको संख्या एकदमै कम रहेको थियो ।
मण्डलले अहिलेसम्म यसबारे मुख खोलेका छैनन् । तर, झण्डै वर्ष दिन अघि नै यस्तो सर्वेक्षण गराएका उनले सधैं ‘स्वतन्त्र’ भइनरहने चाहिँ पक्का गरिसकेका छन् ।
२०७९ मा सबै चुनावी तयारी पूरा गरिसकेका मण्डलले अन्तिम समयमा टिकट नपाउँदा स्वतन्त्र चुनाव लडेका थिए । एमाले र जसपाको एक्कासी बनेको गठबन्धनका कारण मोरङ–५ एमालेले जसपालाई छाडेको थियो ।
उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिन राति अबेरसम्म पनि पार्टीका नेताहरूले उनलाई टिकट आइसकेको बताइसकेका थिए । तर, मनोनयन दर्ताको दिन बिहान मोरङ–५ जसपाका लागि छाड्नु पर्ने भएपछि मण्डलले आफ्ना साथीहरूसँग सल्लाह गरे ।
एमाले वृत्तकै उनका साथीहरूले विद्रोह गर्न भने, उनले स्वतन्त्र उम्मेदवारी दिए । पार्टीबाट विद्रोह गर्ने उनको कदमलाई मोरङ–५ का मतदाताले अनुमोदन गरिदिएका थिए ।
जीवन विकास समाज नामक चर्चित संस्थाका संस्थापक अध्यक्ष उनी सोही संस्थामार्फत लघुवित्त स्थापना गरेर सक्रिय थिए ।
२५ वर्षयता सोही संस्थामार्फत मोरङ–५ सहित देशका २७ जिल्लामा पुगिरहेका उनलाई एमाले नेताहरुले संसदमा ठाउँ दिने वचन दिएर पार्टीमा भित्र्याएका थिए । लगत्तै उनलाई प्रदेश कमिटीमा राखेका थिए ।
आइएनजिओसमेत चलाइरहेका उनलाई एमालेलाई आर्थिक भरथेग गर्ने गरेको जस पनि जान्छ । पछिल्लो समय एमालेसँग उनको झ्यांगिदो सम्बन्ध र ओलीसँगको निकटताले उनी एमाले फर्कन लागेको भन्ने हल्लालाई भने बल पुर्याएको छ ।
View : 145
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved