विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सोमबार साँझ जम्मा १ घण्टाका लागि काठमाडौंबाट विराटनगर ओर्लिए । साँझ ६ बजे विराटनगर विमानस्थल ओर्लेका उनी ७ बजे नै फर्किए ।
नेपाली कांग्रेसका नेता विश्वनाथ रिजालको परिवारमा आयोजित बिहे भोजमा सहभागी हुनलाई मात्रै थापा छोटो समयका लागि विराटनगर आएका थिए ।
‘यसपटक राजनीतिक भेटघाट भन्दा पनि विवाह समारोहमा सहभागी हुन महामन्त्री थापा आउनुभएको थियो’, थापा निकट एक कांग्रेस कार्यकर्ताले भने ।
उनले यसो भने पनि पछिल्लो समय घरीघरी पूर्वका कार्यक्रममा सहभागी बन्दै आएका थापाको यसपटकको एक घण्टे विराटनगर आगमन राजनीतिक उद्देश्यबाटै प्रेरित थियो ।
पहिले शेखर कोइराला समूहमै रहेका थापा अहिले आफ्नै समूह बनाउने देशव्यापी अभियानमा छन् । त्यसैक्रममा उनी शेखरको प्रभाव क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउने ध्येयबाट केन्द्रित बनेका हुन् ।
‘सुनसरी, मोरङका राजनीतिक कार्यक्रम मात्रै होइन, यो क्षेत्रका कार्यकर्ताको घरमा हुने कार्यक्रममा पनि उहाँले प्राथमिकता दिन थाल्नुभएको छ’ थापा निकट रहेका मोरङका एक नेताले भने ‘उहाँ पछिल्लो समय मोरङ सुनसरीसहित पूर्वमा आफ्नो प्रभाव विस्तारका क्रममा हुनुहुन्छ । त्यसमा उहाँलाई उल्लेख्य सफलता पनि हात परिरहेको छ ।’
ती नेताका अनुसार पछिल्लो समय कोइराला र थापाबीच आधारभूत रूपमै असमझदारीहरू चुलिएको छ ।
थापा आफै सभापतिको दाबेदार बन्न चाहन्छन्, शेखर आफै बन्ने अभियानमा छन् । यसरी एकै पदका दुई दाबेदार एकै समूहमा रहन सक्ने अवस्था कमजोर भएको कांग्रेसभित्र चर्चा चलिरहेको छ ।
कांग्रेसको १५ औं महाधिवेशनमा सभापतिमा लड्ने तयारी गरिरहेका थापाले केही समययता पूर्वमा आफूलाई बढ्तै व्यस्त तुल्याइरहेका छन् ।
गएको चैत ११ यता मात्रै महामन्त्री थापा लगातारजसो सुनसरी मोरङ केन्द्रित कार्यक्रममा सहभागी भइरहेका हुन् ।
चैत ११ मा इनरूवामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएका उनी चैत २९ मा भोजपुर पुगेका थिए । जेठ १४ मा पार्टीको धरान नगर समितिको कार्यक्रममा प्रमुख अतिथि बनेर उपस्थित भए ।
त्यसको १० दिन पनि नबित्दै जेठ २३ मा उनी धरानमै आयोजित पार्टीको अर्को कार्यक्रममा प्रमुख अतिथि बनेर आए ।
लोकतन्त्रवादी याक्थुङ लिम्बू संघको कार्यक्रममा त्यसदिन सहभागी भएका उनी जेठ ३० मा इटहरीमा आयोजना हुने नेपाल तामाङ संघ कोशीको पहिलो सम्मेलन उद्घाटन गर्न पनि आउँदैछन् ।
यसरी हरेक साताजसो सुनसरीका कुनै न कुनै ठाउँमा महामन्त्री थापा आइरहेका छन् । पार्टीका नेता कार्यकर्तासँग भेट गरिरहेका छन् ।
कांग्रेसमा शेखर कोइराला समूहको बलियो पकड रहेको मानिने मोरङपछिको अर्को जिल्ला सुनसरी नै हो ।
केन्द्रीय सदस्य राजीव कोइराला, सभापति केदार भण्डारी लगायतको जिल्लामा गगनले एकपछि अर्को राजनीतिक भेलामा उपस्थिति जनाइरहेका छन् ।
त्यसो त सभापति शेरबहादुर देउवा पक्षका विश्वासपात्र मानिने विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की र मीनबहादुर विश्वकर्माको गृहजिल्ला पनि हो सुनसरी ।
उनीहरूको जिल्ला भए पनि सुनसरीमा कोइराला पक्षको पकड बलियो छ ।
कोइराला पक्षको पकड बलियो भएको ठाउँलाई लक्ष्य गरेर गगन आफ्नो प्रभाव विस्तार गर्न लागेको उनी निकट नेताहरू बताउँछन् ।
केही समय अघिसम्म सभापति शेरबहादुर देउवा पक्षले मात्रै चुनौती दिइरहेको मोरङमा पछिल्लो समयमा कोइराला परिवारलाई गगन थापा समूहले पनि बलियो चुनौती पेश गरिरहेको छ ।
यस्तै अवस्था सुनसरीमा पनि देखिन थालेको कांग्रेस कार्यकर्ताहरू बताउन थालेका छन् ।
‘सुनसरीमा उहाँलाई एकपछि अर्को कार्यक्रममा बोलाइनुले उहाँको प्रभाव विस्तार भएको देखिन्न र ?’, सुनसरीका एक नेताले भने ।
महामन्त्री गगन थापा १५ औं महाधिवेशनबाट सभापति बन्ने दौडमा छन् । शेखर कोइराला पनि यही होडमा सहभागी छन् । १४ औं महाधिवेशनसम्म यी दुवै नेता एकै प्यानलमा थिए ।
गगनले शेखरको साथ छाडेर आफ्नै समूह बनाउन थालेपछि उनीतिर निकट भएका मोरङ–सुनसरीका धेरै नेताहरू गगनतिर उभिन थालेका छन् । मोरङका प्रदेश सांसदसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्याल थापा समूहमा खुलिसकेका छन् ।
कोइराला परिवारको एकछत्र प्रभाव रहेको मानिने मोरङ–सुनसरीमा कोइराला परिवारप्रतिको आकर्षण घटेको र त्यसका लागि कोइराला निवास नै जिम्मेवार रहेको नेताहरू बताउँछन् ।
त्यसो त गएको शुक्रबार मात्रै शेखर समूहलाई कोशीमा कसरी बलियो पार्ने भन्ने विषयमा विराटनगरमा गुट भेला नै आयोजना भयो ।
शेखर अनुपस्थित रहेको कार्यक्रममा नेताहरूले कोइरालाको प्रभाव कोशीमा बलियो रहेको ठहर गरेका थिए । यद्यपि थापा पक्षीय नेताहरू भने त्यो कोइराला समूहका केही व्यक्तिको आत्मरति मात्रै भएको बताउँछन् ।
‘हामी हिजोसम्म कोइराला समूहमा थियौं, अब त्यहाँ छैनौं’, मोरङका एक नेताले भने ‘यस्तो अवस्थामा कसरी प्रभाव बढेको भन्न मिल्छ ?’
View : 243
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved