Biratnagar, Morang, Nepal
६ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले महानगर निर्वाचन : प्यानलै मनोनयन, आज मतदान

उद्‌घोष सम्वाददाता
४ वैशाख २०८२, बिहिवार

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) निर्वाचन हुने भएको छ । 

अध्यक्षका आकांक्षी रोहित कोइराला र बलराम गिरी (नवीन) ले पूर्व घोषित प्यानलै उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबार साँझसम्म उम्मेदवारी दर्ता गरिएपछि बिहीबार विहानदेखि मतदान गर्ने गरी निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम संशोधन गरेको हो ।

मंगलबार उद्घाटन भएको दोस्रो महानगर अधिवेशनले १०१ सदस्यीय महानगर कमिटी निर्वाचित गर्ने जनाइएको छ । 

एमाले मोरङको निर्वाचनमा देखिएको संस्थापन भर्सेस विनोद ढकाल समूहको अभ्यास महानगरमा पनि देखिएको छ । सोही कारण स्पष्ट दुई प्यानल उम्मेदवारी परेको जनाइएको छ ।

नेता ढकालसहित मोरङ जिल्ला कमिटीका सवै पदाधिकारीको समर्थनयुक्त पक्षले गिरी नेतृत्वको प्यानल खडा गरेको हो । 

संस्थापन दाबी गरिएको पक्षबाट भने कोइराला नेतृत्वमा प्यानल प्रतिष्पर्धामा उत्रिएको छ । 

बुधबार साँझसम्म उम्मेदवारको मनोनयन दर्ता चलेका कारण रातभरीमा दाबी विरोध लगायतका प्रक्रिया पूरा गरेर बिहीबार विहानदेखि मतदान गर्ने सहमति दुवै पक्षबीच भएको जनाइएको छ ।

गिरीको प्यानलबाट उपाध्यक्षमा सुवासकुमार न्यौपाने (सुरज), सचिवमा विज्ञान शर्मा चापागाँई, उपसचिवमा हमिद आजाद र हिमा मैनाली पोखरेल उम्मेदवार छन् । कोइराला प्यानलबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास र कला डाँगीको उम्मेदवारी दर्ता भएको जनाइएको छ ।

नेतृत्वबीचको टकरावले कार्यकर्ता र प्रतिनिधि तहसम्मै विभाजन ल्याउने भएपछि केही दोस्रो तहका नेताहरूले भने दुवै प्यानलबाट साझा नेतृत्व छनोट गर्ने र उनीहरुलाई मात्रै मतदान गर्न भन्दै गोप्यरुपमा लविङ गरिरहेको पाइएको छ ।

View : 396

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved