Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

विराटनगरबाट ओलीलाई विद्याको कडा जवाफ !

उद्‌घोष सम्वाददाता
२८ जेठ २०८२, बुधवार

विराटनगर । एमालेको राजनीतिमा लामो समय एकअर्काका सहयोगी भनेर चिनिएका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आपसमा वाक्युद्धमा सामेल हुन थालेका छन् । 

केही दिनअघि काठमाडौंबाट ओलीले भण्डारीको सक्रियताप्रति आक्रोश पोखेका थिए । मंगलबार पूर्वराष्ट्रपति भण्डारीले विराटनगरबाटै ओलीलाई जवाफ फर्काएकी छन् । 

भण्डारीलाई पार्टीको भावी अध्यक्षको रूपमा एमालेभित्र चर्चा हुने गरेको छ । खासगरी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका नेता कार्यकर्तालाई भण्डारीले ढाडस दिइरहेको चर्चा छ । 

अध्यक्ष ओलीले भने पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतालाई नरूचाएको देखिने गरी अभिव्यक्ति दिंदै आएका छन् ।

भर्खरै अनेरास्ववियुको भेलामा उनले पार्टीमा को आउने रे, कसको खोजी भइरहेको भन्ने चर्चा चलेको प्रसङ्ग निकालेर असन्तुष्टि प्रकट गरे । उनले यस्तो कुराले पार्टी  कमजोर हुने भन्दै प्रतिवाद गर्न कार्यकर्तालाई आह्वान पनि गरे । 

केही दिनयता पूर्वमा रहेर विभिन्न कार्यक्रममा सहभागी भएकी पूर्वराष्ट्रपति भण्डारी मंगलबार विराटनगर हुँदै काठमाडौं फर्किइन् । 

मंगलबार बिहान काठमाडौं उड्नुअघि पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनलाई सोधिएको थियो, ‘तपाईको राजनीतिक सक्रियतालाई अध्यक्ष ओलीले नरुचाउनुभएको हो ? उहाँले असन्तोष प्रकट गर्नुभयो नि !’ 
जबाफमा भण्डारीले ओलीको अभिव्यक्ति आफूतिर लक्षित होला भन्ने नलागेको बताइन् ।

‘एमालेका अध्यक्षले मैतिर ताकेर भनेको हो जस्तो लाग्दैन । किनभने मेरो व्यक्तिगत आकाङ्क्षा केही छैन । 

अध्यक्षले बरू कार्यकर्ताहरूलाई महाधिवेशनअघि नेतृत्वको चिन्ता नगर, हामी मिलाउँछौं भन्नुभएको होला ।’ 

आफू देशको राष्ट्रपति भइसकेको, लामो राजनीतिक सक्रियताले चिनजान र सम्बन्ध ठूलो भएको उल्लेख गर्दै भण्डारीले ओलीलाई घुमाउरो रूपमा जवाफ पनि फर्काइन् । 

‘मेरो चिनजान ठूलो छ, देशैभरि कार्यक्रममा खोज्नुहुन्छ । मैले पनि समाजसँग साक्षात्कार गर्नपर्यो, नयाँ पुस्ताको कुरा बुझ्नुपर्यो । त्यो हिसाबले मैले कतै जाँदा एमालेको कमिटी वा कसैसँग अनुमति लिइराख्नु पर्दैन’ उनले भनिन् । 

आफूले पार्टीमा हुँदा पनि सधैँ मुलधारकै प्रतिनिधित्व गरेको र गुटबन्दी नगरेको बताउँदै उनले ओलीको असन्तोष आफूतिर हुनै नसक्ने बताइन् ।

View : 149

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved