गंगानदी समुद्रमा मिसिएको स्थानलाई गंगासागर भनिन्छ । हिन्दूहरूको स्नानका लागि प्रख्यात गंगासागर भारतको पश्चिम बंगाल र उडिसाको सीमानामा पर्दछ । यो स्थानमा पुग्न कलकत्ताको डायमण्ड हार्वर स्टेशनबाट जहाज तरेर जान सकिन्छ । प्रत्येक साल मकर (माघे) संक्रान्तिका अवसरमा गंगासागरमा स्नान गर्न थुप्रै भक्तालुहरू पुग्ने गर्दछन् । कपिलमुनिको श्रापले गर्दा सगरका साठी हजार छोराहरू यसै स्थानमा भष्म भएका थिए भन्ने जनविश्वास छ ।
भगिरथको प्रयत्नबाट गंगा धरतीमा आएपछि तिनीहरूले मोक्ष पाएको पनि पौराणिक कथा पाइन्छ । यहाँ पुग्न निकै कठिन यात्रा गर्नुपर्नेे र त्यस स्थानमा देवीदेवताका प्रतिमा तथा मन्दिरहरू पनि नरहेकाले यस स्थानका बारेमा हिन्दीमा ‘सारा तीर्थ बारबार गंगासागर एक बार’ भन्ने लोकोक्ति पाइन्छ । गंगासागरका बारेमा बृहत् विष्णुपुराणमा प्राप्त एक कथा अनुसार ऋषि बशिष्ठका श्रापले निमिको मृत्यू हुँदा तिनका कोही पनि सन्तान रहेन छन् ।
तसर्थ राज्य सञ्चालनका लागि मुनिहरूले निमिको शरीरलाई मन्थन गरेर मिथिलाई पैदा गरेछन् । त्यसपछि याज्ञावल्क्यादि ऋषिहरूले मिथि प्राप्त भएकोमा निकै खुशी व्यक्त गरेछन् । उनीहरूले जनकपुरमा सातै समुद्र र गंगायमुनादी पवित्र नदीहरूको जल ल्याएर अभिषेक गरे भनिएको छ । यसबाट एकातिर उनीहरू श्राप र पाप मुक्त भएछन् भने त्यसबाट एउटा तलाउ उत्पत्ति भएछ, जसलाई गंगासागर भनियो । त्यसमा सवै तीर्थहरूको जल राखिएको हुनाले यसको स्नानबाट सवै तीर्थको फल प्राप्त हुन्छ भन्ने जनविश्वास पाइन्छ ।
धार्मिक रूपमा नेपालका सवै नदीहरूलाई गंगा मान्ने परम्परा पाइन्छ । तसर्थ नेपालका नदीहरूलाई कौशिकी गंगा, गण्डकीगंगा, बागमती गंगा र दुखाग्नी गंगा आदि नामले जान्ने गरिन्छ । यसैगरी नेपालको जनकपुर भेगमा गंगासागर नामको एउटा पोखरी पनि छ । धार्मिक रूपमा जनकपुरको गंगासागर अति प्रसिद्ध पोखरी मानिन्छ र बृहत विष्णुपुराणमा पनि यसको चर्चा गरिएको पाइन्छ । यो पोखरी ऐतिहासिक पनि छ, जसको अवस्थिति राम मन्दिरदेखि पूर्वतिर पर्दछ । यसैको छेउमा धनुषसागर नामको अर्को पोखरी छ । गंगासागरमा छैट, होली र अन्य पर्वहरूमा स्नानादिका साथमा अनेक धार्मिक कार्य गर्ने मानिसहरूको भीड लाग्ने गर्दछ ।
जनकपुरको बीच बजारमा रहेकाले पनि यसको विशेष महत्व रहेको पाइन्छ । यसमा घाट र भवनहरू पनि छन् भने यसको उत्तरतिर चाहिं शिवमन्दिर पर्दछ । यसरी गंगासागर मिथिलाको महत्वपूर्ण तलाउका रूपमा स्थापित छ ।
गंगेश्वर महादेव
तनहुँ जिल्लाको देवघाट क्षेत्रमा गंगेश्वर महादेव नामको एउटा शिवालय छ । उक्त मन्दिर वि.सं. २०२४ सालमा मोटेमाई नामक एकजना महिलाले स्थापना गराएकी हुन् । मोटेमाई नामकी यी उपाशिका नाथ सम्प्रदायकी थिइन् । मोटेमाईले यसको नाम गंगाका नामका आधारमा राखेको हुनसक्ने अनुमान छ । यस मन्दिरको कलाकारिता त्यति आकर्षक भने छैन ।
मन्दिर भित्रको शिवलिङ्ग पनि सादा र सामान्य देखिन्छ । यो मन्दिर गलेश्वरबाबा आश्रमको छेउमा रहेकाले त्यसको रेखेदेख तथा पूजाआजाको व्यवस्था पनि त्यसैका भक्तहरूले मिलाउने गरेका छन् । गुठी र अन्य प्रकारको आम्दानीको स्रोत नभएको यस मन्दिरको जीर्णोद्धारका लागि अन्य संघसंस्थाको भर पर्नु परेको पाइन्छ ।
ग्रह : सामान्य भाषामा ताराको वरिपरि घुम्ने आकाशीय पिण्ड ग्रह तथा ग्रहको वरिपरि घुम्ने पिण्ड भने उपग्रह हुन् । यस अर्थमा पृथ्वी सूर्यको ग्रह तथा चन्द्रमा पृथ्वीको उपग्रह हुन् । तर यहाा धार्मिक रूपमा भने विभिन्न प्रकारका आकाशीय पिण्डलाई एकै रूपमा ग्रह भनिएको पाइन्छ । यसमा तारा, ग्रह र उपग्रह आदि छुट्याउन आवश्यक ठानिंदैन ।
विशेषगरी धार्मिक कर्मका लागि ग्रहहरूका बारेमा ख्याल गर्ने परम्परा छ । धार्मिक कार्यलाई शुभ मुहुर्तको आवश्यकता पर्ने तथा ग्रहगोचरका आधारमा शूभमुहुर्त पत्ता लगाइने गरिन्छ ।
ज्योतिषशास्त्रले यस्तो व्यवस्था गर्ने हुँदा शुभमुहूर्त पत्ता लगाउने शास्त्र ज्योतिषलाई हिन्दू समाजमा ठूलो महत्व दिने गरिएको छ । यही कारणले पनि ज्योतिषलाई वेदांगका रूपमा गणना गर्ने गरिएको हो । ग्रहको शुभ र अशुभ दुवै प्रकारको प्रभाव हुने मान्यता राखेर मांगलिक तथा धार्मिक कार्य गर्न ग्रहगोचर पत्ता लगाउने गरिन्छ । कुन समयमा कुन ग्रह कुन राशीमा या स्थानमा पुग्दछन् र तिनीहरू कुन स्थानमा रहँदा तीनको फल कस्तो हुन्छ भन्ने कुरा ज्योतिषको माध्यमबाट पत्ता लगाइन्छ ।
वराहमिहिरले चन्द्र, सूर्य, मंगल, बुध, शुक्र, बृहस्पति र शनि गरी जम्मा सातवटा ग्रह रहेको बताएका थिए । कालान्तरमा राहु र केतु थपेर नव ग्रहको व्यवस्था गरियो । तसर्थ हिन्दूहरूमा धार्मिक कार्य सम्पन्न गर्दा नवग्रहको पूजाआजा गरी तिनलाई शान्त पार्ने चलन छ । नेपाली समाजमा ग्रहदशा विग्रिएमा धनसम्पत्ति लगायत मानसम्मानमा नोक्सान हुने मान्यता राखिन्छ । तसर्थ ग्रहदशालाई ठिक गर्नका लागि स्वस्तिशान्ति गर्ने परम्परा छ । नेपाली समाजमा जन्मोत्सव मनाउँदा पनि नवग्रहको पूजाआजा गर्ने परम्परा पाइन्छ । यसरी परम्परागत रूपमा ग्रहहरूलाई मानिसको शुभ र अशुभ गराउने माध्यमका रूपमा पनि लिने गरिन्छ ।
ग्रहण : विभिन्न ग्रह र उपग्रहहरू एउटै रेखामा पर्दा एकको छायाँ अर्कोमा पर्दछ, जसलाई ग्रहण भनिन्छ । पृथ्वीबाट देखिने मुुख्य ग्रहणहरूमा चन्द्रग्रहण र सूर्यग्रहण हुन् । पृथ्वी र अन्य ग्रहहरूमा पनि ग्रहण लाग्ने गर्दछ । तर यहाँबाट पृथ्वीमा लाग्ने ग्रहण देख्न सकिंदैन । चन्द्रमा र सूर्यका बीचमा पृथ्वी आएको समयमा सूर्यको प्रकाशलाई पृथ्वीले छेकी दिनाले चन्द्रमामा ग्रहण लाग्ने गरेको हो । यसैगरी सूर्य र पृथ्वीका बीचमा चन्द्रमा आउँदा सूर्य ग्रहण लाग्दछ । सूर्यग्रहण सधै औंसीका दिन तथा चन्द्रग्रहण पूर्णिमाका दिनमा मात्र लाग्दछ । ग्रहण सालमा कम्तिमा दुईपटक र धेरैमा सातपटक लाग्दछ । तर सवै ग्रहणहरू सवै स्थानबाट देखिंदैनन् ।
ग्रहणहरू खग्रास र खण्डग्रास गरी जम्मा दुई प्रकारका हुने गर्दछन् । सूर्य या चन्द्रमामा पूर्ण रूपमा ग्रहण लागेको छ भने त्यसलाई खग्रास ग्रहण भनिन्छ । तिनको कुनै एक अंशमा मात्र देखिने ग्रहणलाई भने खण्डग्रास ग्रहण भन्ने गरिन्छ । धार्मिक रूपमा भने राहु र केतुले चन्द्र र सूर्यलाई ग्रसित पार्नाले ग्रहण लाग्ने विवरण विभिन्न पुराणहरूले दिएका छन् । हिन्दू पुराणहरूमा यसलाई धार्मिक रूप दिएको हुँदा ग्रहण कालमा चन्द्र तथा सूर्यलाई कष्ट हुने सोचिन्छ र त्यसलाई दुर गर्नका लागि दानधर्म गर्ने चलन छ ।
ग्रहणका अवधिमा भोजन गर्न हुँदैन भन्ने मान्यता राखिन्छ भने ग्रहणपश्चात् स्नानादि गर्नु पर्ने धार्मिक विधान पाइन्छ । नेपाली समाजमा पनि ग्रहण स्नान गर्ने तथा ग्रहण दान गर्ने चलन छ । परम्परागत रूपमा ग्रहण हेर्दा प्राप्त हुने फलका बारेमा पनि धर्मग्रन्थहरूले चर्चा गरेका छन् । कुन राशिका मानिसले ग्रहण हेर्दा के फल प्राप्त हुन्छ भन्ने कुरा पात्रोमा पनि दिने परम्परा छ ।
ग्राम : सामान्य रूपमा ग्रामको मतलव गाउँ भन्ने हुन्छ । ऐतिहासिक कालमा नेपालमा ग्राम र ग्रामपाञ्चालीको प्रयोग अत्यधिक मात्रामा भएको पाइन्छ । अत्यधिकजसो वस्तीहरूलाई लिच्छवि कालमा ग्रामनै भनिएको देखिन्छ । तत्कालका अभिलेखहरूमा थम्बू, गांगसूल, मूलबाटिका र यूपग्राम आदको नामोल्लेख गरिएको पाइएको छ । संस्कृत साहित्य (कौटिल्यको अर्थशास्त्र २।१) मा एक सयदेखि ५०० वटासम्म घर भएको वस्तीलाई ग्राम भनिएको पाइने हु“दा (शुक्रनीति १।१९३) ग्रामहरू बस्तिभन्दा ठूला प्रशासनिक एकाई थिए भन्न सकिन्छ ।
नेपालमा प्राचीन कालमा ग्रामहरूमा पाञ्चाली रहन्थे । पाञ्चाली भने तत्कालको भद्रभलाद्मीको समूह थियो, जसले गाउँको शासन व्यवस्था मिलाउने गर्दथ्यो । तत्काल स–साना गाउँमा शासन व्यवस्था प्रधानले मिलाउँथे भने ठूला गाउँ या ग्राममा भने ग्रामपाञ्चाली हुने गर्दथ्यो । यसरी नेपालमा लिच्छवि कालतिर ग्रामलाई केही ठूलो या धेरैवटा गाउँको एकाई मानिन्थ्यो भन्ने देखिन्छ । तत्काल गाउँको जनसंख्या बढ्दै गएपछि तलमा परिणत हुने गर्दथ्यो । यता तलभन्दा ठूलो एकाई भने द्रंग थियो ।
गौरीकुण्ड : गौरीकुण्ड भन्ने स्थान भारतको केदारनाथ मन्दिरदेखि करिव १४ किलोमिटरको दुरीमा रहेको छ । यस तीर्थमा दुईवटा कुण्डहरू छन्, जसमा एउटामा चिसो र अर्कोमा तातो पानी रहेको देखिन्छ । चिसो पानी भएको कुण्डलाई अमृतकुण्ड पनि भन्ने गरिन्छ । पार्वती या गौरीको जन्म यही गौरिकुण्डमा भएको थियो भन्ने धार्मिक विश्वास छ । बर्सेनि थुप्रै नेपालीहरूले केदारनाथका साथमा गौरीकुण्डको पनि यात्रा गर्ने गरेका छन् ।
गौरीघाट : गौरीघाट काठमाडौं उपत्यकाको आर्यघाट छेउमा पर्दछ । यहाँ अघि शिवपत्नी पार्वती या गौरी यसै स्थानमा आएर बसेकी थिइन् भन्ने मान्यतामा यस स्थानलाई गौरीघाट भनिएको मानिन्छ । यस घाटलाई प्रताप मल्लले बनाएको ऐतिहासिक विवरण पाइन्छ । अन्य शासकहरूले पनि गौरीघाटलाई बेलाबेलामा मरम्मतसम्भार गरेको उल्लेख गरिएको छ । ऐतिहासिकता र कलाकृतिका दृष्टिले गौरीघाट निकै महत्वपूर्ण छ ।
View : 298
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved