Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

विराट गोल्डकपको प्रचार कलेजमा, तयारी तीब्र

उद्‌घोष सम्वाददाता
१४ फागुन २०८१, बुधवार

विराटनगर । फागुन १९ गतेदेखि हुने रात्रिकालीन विराट गोल्डकपको तयारी तिब्र पारिएको छ । गोल्डकपको शिल्डलाई विराटनगरका विभिन्न कलेजमा लगेर प्रचार प्रसार सुरु गरिएको हो । टुर्नामेन्टमा युवा पुस्ताको आकर्षक बढाउन विद्यालय र कलेजमा गोल्डकपको ट्रफी लगेर प्रचार प्रसार सुरु गरिएको प्रतियोगिताका संयोजक नवीन रिजालले बताए ।

विराटनगरको ऐतिहासिक गोल्डकपको रुपमा परिचित बनिसकेको नवौं संस्करणको प्रतियोगितामा भारतका दुई आमन्त्रित टोलीसहित १० वटा टोलीबीच विराटनगरको सहिद रंगशालामा हुने निश्चित भइसकेको छ । हरेक दिन बेलुका ४ बजेदेखि राती ९ बजेसम्म खेल हुने जनाइएको छ ।

प्रतियोगिताको प्रचार–प्रसार समितिका सह–संयोजकद्वय श्रुति शर्मा र अमित अग्रवालको नेतृत्वमा विराटनगरका विभिन्न कलेजमा ट्रफीसहित गोल्डकपको बारेमा जानकारी गराइएको हो ।

मंगलबार प्रचार–प्रसार समितिको टोलीले विभिन्न कलेज तथा विद्यालयमा आयोजना गरेको अभियानमा तीन हजार बढी विद्यार्थी र शिक्षकहरूको उत्साहजनक उपस्थिति रहेको जनाइएको छ ।

प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सांस्कृतिक कार्यक्रम, फेस अफ द गोल्डकप, टिकटक प्रतियोगिता लगायतका आकर्षक कार्यक्रमहरू समावेश गरिएको जनाइएको छ । 

टुर्नामेन्टका सहभागीहरूमध्ये प्रत्येक दिन तीन जनालाई ‘फेस अफ द गोल्डकप’ टाइटलमा उपहार प्रदान गरिनेछ । उपहार पाउनेले २०० को टिकट खरिद गर्दा दुई हजार रुपैयाँ बढीका छुटका कुपनहरू उपलब्ध गराइने जनाइएको छ ।

यसैबीच, गोल्डकप आयोजक समिति र सुरक्षा निकायका पदाधिकारीहरूबीच मंगलबार छलफल भएको छ । प्रतियोगिताका रिजालले सुरक्षा निकायका पदाधिकारीहरूलाई प्रतियोगिताका विषयमा जानकारी गराएका हुन् । उनले सात हजार पाँच सय दर्शक अटाउने क्षमता रहेको सहिद रंगशालामा अपनाउनुपर्ने सुरक्षाबारे जानकारी गराएको जनाइएको छ ।

छलफलमा कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरिया, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख तिलक प्रसाई, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुधीर खतिवडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायव निरीक्षक यज्ञराज शर्मा, विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिल साहलगायतको सहभागिता रहेको थियो । 

छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रतियोगिताका लागि आवश्यक सवैखाले सुरक्षाको व्यवस्थापन गरिने बताए ।

View : 182

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved