विराटनगर । विराटनगरस्थित मानगढ खानेपानी आयोजना अन्तरगतको विराटनगर खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
विराटनगर–१ पुष्पलाल चोकस्थित पूर्वाञ्चल विश्वविद्यालयको जनता क्याम्पसमा मतदान सुरु भएको जनाइएको छ ।
६ हजार बढी उपभोक्ता रहेको मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि २०८१ जेठ १९ मा भएको निर्वाचन विवादित बनेर स्थगित भएको थियो । सबै उपभोक्ताले मतदान गर्न नपाएपछि निर्वाचन नै स्थगित हुँदा उपभोक्ताहरूले नै अदालत गुहारेका थिए ।
अदालतको आदेश अनुसार हुन लागेको आजको निर्वाचनमा ५ हजार ९८८ उपभोक्ता मतदाता रहेको निर्वाचन अधिकृत अधिवक्ता रुकमिणा नेपालले जानकारी दिइन् ।
मतदान स्थलमा उच्च सुरक्षा दिइएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार एक सय बढि सुरक्षाकर्मी परिचालन गरिएको छ । शनिबार विहान ७ः१५ बाट मतदान सुरु भएको उनले जानकारी दिए ।
उच्च बार विराटनगरबाट तोकिएका तीनजना कानुन व्यवसायीको नेतृत्वमा निर्वाचन गराइएको हो । मतदान स्थलमा १२ वटा बुथ रहेका छन् । मतदानका लागि विहानैदेखि जनता क्याम्पसको गेटमा लामो लाइन लागिसकेको छ ।
मतदान प्रक्रियाको सुरक्षाका लागि स्थानीय प्रशासनले पुष्पलाल चोकबाट दक्षिण झर्ने बाटो बन्द गरेर दुधफारमतिर डाइभर्ट गरेको छ ।
मतदानका लागि प्रत्येक वडाका मतदाताहरूको छुट्टाछुट्टै मतदान केन्द्र रहने र प्रत्येक केन्द्रमा महिला र पुरूषको छुट्टाछुट्टै लाइन बनाउने निर्णय गरिएको छ ।
उच्च अदालतको फैसलाअनुसार २०८२ जेठ २७ गतेभित्र बाध्यकारी रूपमा खानेपानीको निर्वाचन गर्नुपर्ने भएपछि प्रमुख जिल्ला अधिकारी यादवको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले शनिबारका लागि निर्वाचन मिति तोकेको थियो ।
मतदानका लागि खानेपानी आयोजनाले जारी गरेको परिचय पत्रका साथै आफ्नो परिचय खुल्ने नागरिकता, लाइसेन्स लगायतका अन्य कागजात देखाउनु पर्ने अनिवार्य गरिएको छ ।
शनिबार बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
अध्यक्ष पदका लागि लालमणि भट्टराई, राम बहादुर घिमिरे र दुर्गा चापागाईँ प्यानलै मैदानमा उत्रिएका छन् ।
View : 321
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved