नियात्रा
एकाविहानै ओछ्यानमै चिया दिएर संगीता मसित लाडिदै भनिन् ‘बुडा, हामी पनि कुम्भ नुहाउन जाऊँ है !’
‘हिजो फोनमा आफ्नी दिदीसँग निकैबेर कुरा गरेकी थिइन्, यही सल्लाह पो रहेछ !’ चिया पिउँदै, मैले मनमनै गुनें ।
यो कठाग्रिने जाडोमा मलाई जाने इच्छा थिएन अनि उनलाई अत्याउने प्रयास गर्दै भने ‘ट्रेनको टिकट बुकिङ छैन । तत्काल टिकट पाइँदैन । जेनरल डिब्बामा खुट्टा टेक्नेसमेत ठाउँ हुँदैन । बेकारमा सास्ती भोग्नुलाई के रहर गरेकी ।’
‘गाडी रिजर्भ गरौंला नि !’ उनले कुरा थपिन् ।
मैले सम्झाउन थालें ‘कैयौं किलोमीटर अगाडिदेखिनै सवारी साधनहरुलाई प्रवेश निषेध छ । मेलासम्म पुग्न त्यहाँदेखि १५–२० किलोमीटर हिड्नुपर्छ रे, अनि त्यो घुइँचोमा छुट्टिने, हराउने डर पनि उत्तिकै ! अझ फर्किनुपर्ने सास्ती बेग्लै ।
त्यो जान्दाजान्दै, गाडी लानु झन घाँडो हुन्छ , के तिमीले बुझेकी छ्यौ ?
उनी मलाई फकाउन थालिन्, ‘आ जाउँ न है , बुडा ! बरु जे–जस्तो भोगौंला, तपाईं हुँदाहुँदै मलाई के को डर ? साथमा दिदी भेना र दुई लाठे छोराहरू पनि त छन् नि ।’
‘पोहोरसाल अयोध्या, काशी दर्शन गर्न जाँदा प्रयागराजमा नुहाएकै त हौं ।’ मैले फेरि टार्न खोजें तर उनी भने मलाई मनाउन छाडिनन् ‘१४४ वर्षपछिको ग्रहहरुको विषेश र दुर्लभ संयोग परेको बेला हो यो ।
अहिले ग्रहहरु शुभः स्थिति र एउटै लाममा छन् । यतिखेर महाकुम्भमा नुहाउँदा पाप पखालिन्छ रे, क्या ।’
‘त्यसो भए हामी पापी हौं, त ?’ मैले ठट्टा गर्दै भनें ।
‘हे, तपाईं पनि !’ भन्दै उनले ठूस्किएकी नाटक गरिन् ।
आखिर श्रीमतीको ढिपीको अगाडि कसको के नै लाग्छ र ? अब मलाई महाकुम्भ जानुको सिवाय कुनै विकल्प रहेन ! मैले केही साथीभाइहरुसँग सर–सल्लाह गरें, कुम्भ नुहाइवरी फर्केकाहरुसित सुझाव पनि लिएँ ।
माघ २१ गते सोमबार वसन्तपञ्चमीको दिन स्नान गर्ने साइत जुराएर, हामी १८ गते शुक्रवारको दिन बेलुकी ६ः३० बजे प्रयागराज जान विराटनगरबाट प्रस्थान गर्यौं ।
पटनासम्मलाई रात्री बसको टिकट लिएका थियौं । बाक्लो हुस्सु र कुहिरोको कारणले बाटोमा केही देखिदैनथ्यो तर जे होस् होशियार चालकले बिस्तारै र सुरक्षित रुपमै गाडी चलाएर विहान ७ बजे पटना जंक्सन पुर्यायो ।
हाम्रो योजना काशी दर्शन गरिवरी कुम्भ नुहाउनु थियो । पटना पुग्दा, वाराणसी जंक्सन जाने विहान ६ः३० बजेको अर्चना एक्सप्रेस छुटिसकेको थियो । त्यसैले १०ः३० बजे विहानको श्रमजीवी एक्सप्रेसको टिकट लियौं । त्यसको प्लेटफर्म नं ४ रहेछ । पर्याप्त समय भएकोले हामी त्यहाँ नजिकैको महावीर मन्दिर दर्शन गर्ने अवसर गुमाउन चाहेनौं ।
हामी कुनै जोखिम चाहदैनथ्यौं त्यसैले जेनरल डिब्बामै चढ्यौं । वास्तवमा त्यहाँ निकै घुँइचो थियो । ट्रेनमा खाँदिएरै, उभिएरै लगभग ४ घण्टामा वाराणसी जंक्सन पुग्यौं । जे होस् , त्यो अनुभव बटुल्ने अवसर पनि पाइयो ! कुनै पनि यात्रामा निस्किदा घरको विलासीपना, रवाफ त्याग्नुपर्छ अनि मात्रै यात्रा सहज हुन्छ भन्ने कुरा मैले राम्ररी बुझेको छु ।
बनारस पुग्दा दिउँसोको ३ बजेको थियो । पोहोरसाल, धेरै जनाको जमातमा समय नमिलेर अन्नपूर्णा माता र काल भैरव देवताको दर्शन गर्ने धोको अधुरै रहेको थियो । त्यसैले यसपटक हामी मन्दिर क्षेत्रभित्रै बस्न चाहन्थ्यौं । त्यहाँ त, गल्ली–गल्लीमा थुप्रै गेष्ट–हाउसहरु रहेछन् तर अचाक्ली मंहगो ! खैर, बस्नु त परी गयो । काशी विश्वनाथ, अन्नपूर्णा माता र काल भैरवनाथको दर्शनको लागि पायक पर्ने हिसाबले हामी हरिश्चन्द्र घाट मार्गको श्रीराम गेष्ट–हाउसमा बस्यौं ।
शनिबार बेलुकीको आरती हेर्ने इच्छा सबैको थियो तर त्यसको लागि निकै अगाडिबाट ठाउँ ओगटनुपर्ने हुन्थ्यो । केही दिन अगाडि भएको नाउ दुर्घटनाको कारणले नाउबाट आरती हेर्न पनि निषेध थियो । ती सब सम्भव नदेखेर टेलिभिजनमै भएपनि प्रत्यक्ष आरती हेरेर चित्त बुझायौं !
आइतबार सबेरै ३ः३० बजे नै काशी–विश्वनाथ दर्शन गर्न हामी गेट नं ४ मा लाइन लाग्यौं । बल्लतल्ल ६ बजे काशी विश्वनाथ ज्योतिर्लिङ्ग दर्शनको सौभाग्य पायौं । त्यहींबाट देखिने अन्नपूर्णा माताको मन्दिर प्रवेश त्यहाँ छेउकै गेट नं १ रहेछ जसको लागि पोहोरसाल हामी निकै भौतारिएका थियौं । त्यो सम्झनाले, मलाई थकथकी बनायो ।
काशी पुगेर कालभैरवको दर्शन बिना सम्पूर्ण तीर्थ अधुरै रहन्छ भन्ने कुरा सुनेका थियौं । त्यसैले टेम्पो समातेर भएपनि कालभैरवनाथ दर्शन गर्ने अवसर चाहिं गुमाएनौं ।
माघ १६ गते माघकृष्ण औंसीको रात प्रयागराजको महाकुम्भ मेलामा भागाभाग हुँदा कुल्चिएर थुप्रै मान्छेहरु मरेका थिए । त्यही घटनाप्रतिको सतर्कतामा बनारसको काशी नगरीमा पनि कतिपय सडकहरु बन्द गरिएको थियो जसका कारण ट्याक्सी, टेम्पोहरु पनि सहज रुपमा भेटिदैन्थ्यो ।
आइतबारको मध्याह्न ११ बजे हामीले श्रीराम गेष्ट हाउस छाड्यौं । त्यहाँको बजारमा संगीता र जेठी सासुले साडी, कुर्ता– सुरुवालहरु किनमेल गर्न पनि भ्याए । त्यसपछि हामी बल्लतल्ल एउटा टेम्पो पक्रेर वाराणसी जंक्सन आइपुग्यौं ।
विराटनगरमै एकजना साथीले सुझाव दिएका थिए कि वाराणसी जंक्सनबाट प्रयागराग जंक्सन ओर्लिनु भन्दा रामबाग अथवा झूंसी स्टेशन ओर्लिनु, त्यहाँबाट संगमस्थल निकै नजिक पर्दछ । म घुइँचो अनि धेरै हिड्नुपर्छ भन्ने पिरबाट मुक्त हुन चाहन्थें त्यसैले हतार हतार झुँसी अथवा रामबाग स्टेशन जाने ट्रेनबारे बुझ्न थाले ।
सोधपुछ केन्द्रले झूंसीको लागि प्लेटफर्म नं ३ मा कुर्नु भनी सुझाव दियो । त्यहाँपुग्दा झुंसीको लागि महाकुम्भ एक्स्प्रेस ३ बजे मात्रै आउने कुराको जानकारी भयो । त्यसबेला दिनको १ बजेको थियो । ट्रेन आउने समय पर्याप्त रहेकोले भोकाएका हामी केटा खलकले स्टेशन बाहिर गएर खाना खायौं ।
संगीताको व्रत थियो भने जेठी सासुलाई चाहिं खाना प्याक गरेर ल्याइदियौं । शुक्रवारदेखिको यात्रामा खाएको मध्ये त्यहाँको खाना चाहिं मलाई स्वादिष्ट लागेको थियो ।
निःशुल्कको रेल यात्रामा आरामदायी रुपले हामी बेलुकी ५ बजे झुँसी स्टेशन ओर्लियौं । स्टेशनदेखि लगभग एक किलोमिटरको दुरीमा कोहना भन्ने शहर रहेछ । त्यहाँदेखि संगम–घाट पुग्न ३ किलोमिटर दुरी मात्रै रहेछ ।
हामी कोहना बजार पुगेर सुरुमा बस्ने व्यवस्था गर्यौं । त्यहाँ प्रतिव्यक्तिको हिसाबले कोठा पाइंदोरैछ । जे भए पनि त्यहाँ भारी बिसाएर एकछिन ढल्किन पाउँदा, स्वर्ग झैं भएको थियो ।
हामी समय सदुपयोग गर्न त्यही रात ६ः३० बजे नुहाउन संगमघाटतिर लाग्यौं । लगभग ८ बजे रातिघाट पुग्यौं । मान्छेहरू आवतजावत गरिरहे पनि, राति भएकोले होला, त्यहाँ त्यतिसारो भिड देखिएन । निकै सहज रुपले त्यो २१ नम्बर सेक्टरको संगमघाटमा नुहायौं अनि पूजाआजा गर्यौं । गेष्ट हाउस फर्किंदा राति १० बजेको थियो ।
भोलिपल्ट सोमबार बिहान मैले संगीतालाई न्याउरो देखें । मैले के भो भनी सोद्धा ‘हिजो मेला जस्तै लागेन, वसन्तपञ्चमी त आज हो । आजको स्नान शाही स्नान हो त्यसैले आज पारी गएर फेरि नुहाऔं, है !’ भनिन् ।
वास्तवमा हिजो कसैलाई चित्त बुझेको थिएन, मेला जस्तो पनि लागेको थिएन । त्यसैले हामी फेरि मेला घुम्न विहानै निस्कियौं । खोइ किन, त्यहाँ निकै कम जाडो महसुस भैरहेको थियो ।
उचाइमा रहेको निकै लामो शास्त्री सेतु (पुल) अनि त्यसकै मुन्तिर महाकुम्भ मेला, नदीको किनारमा कैयौं संगमघाटहरुको दृष्यावलोकन रमणीय र निकै मनमोहक थियो । त्यहाँबाट पोहोरसाल घुमेका किला, हनुमान मन्दिर देख्न पाउँदा, एकाएक मेरो अनुहारमा मुस्कान छाएको थियो ।
प्रयाग भनेकै नदीहरुको संगमस्थल रहेछ । यही ठाउँमा गंगा, यमुना र लुप्त भैरहेको सरस्वती नदीहरु मिसिएका त्रिवेणी छन् । प्रयागराज भारतको उत्तरप्रदेशमा अवस्थित एक शहर हो जसको पहिलेको नाम इलाहावाद हो । हाम्रो काठमाडौ जस्तै प्रयागराज पनि शहर अनि जिल्ला, दुबै रहेछ ।
महाकुम्भ मेला भारतको सबैभन्दा ठूलो धार्मिक समागम हो । यसलाई संसारको सबैभन्दा धेरै मानव जमघट हुने पर्व पनि मानिन्छ । हरेक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा कुम्भ मेला लाग्ने गर्दछ । अहिले यहाँ लागेको महाकुम्भ १४४ वर्षपछिको संयोग हो । कुम्भ मेला माघे संक्रान्तिदेखि सुरु भएर शिवरात्री (फागुन १४) मा समापन हुँदैछ । वास्तवमा महाकुम्भ मेलाको आयोजना खगोलीय घटनाहरुको आधारमा रहेछ ।
जब वृहस्पति ग्रह कुम्भ राशिमा प्रवेश गर्दछ र सूर्य मकरमा तब कुम्भमेला लाग्दछ । यस मेलामा देश–विदेशबाट करोडौं मानिस आउँछन् । यसपल्ट त ४० करोडभन्दा माथी दर्शनार्थी आउने अनुमान गरिएको छ । यहाँ नागा साधु, अघोरी र ठूला–ठूला सन्तहरुको मान सम्मान धेरै रहन्छ ।
महाकुम्भमा स्नान गर्नाले मोक्ष प्राप्त हुने मान्यता पनि छ ।
माघकृष्ण औंसी (मौनी अमावस्य) को ठेलमठेलबाट भएको काण्डपछि यहाँ सुरक्षामा निकै कडाइ गरियो जसले सर्वसाधारणलाई त्रिवेणीमा नुहाउने वातावरण अप्ठ्यारो हुन गयो । त्यसैले गंगा, यमुना र सरस्वती नदीहरुको पानी पाइपबाट भए पनि एकत्रित गरेर महाकुम्भ मेलामा करोडौंले स्नान गर्न भ्याउने हिसाबले अनेकौं संगमघाटहरुको व्यवस्थापन रहेछ ।
पहिले हामीले वारीका संगमघाट्मा नुहाएका थियौं भने भोलिपल्ट पारीको घाटमा नुहाउने योजना थियो । २ किलोमिटर लम्बाई भएको शास्त्री पुल तरेर पनि डेढ–दुई किलोमीटर राजमार्ग हिंडिसकेपछि मात्रै, तल ओर्लि फेरि २ किलोमिटर मेलातिर मोडिएर हिंडेर बल्ल संगमघाट आइपुग्यौं । त्यहाँ चैं घुइँचो र भिंड बढी नै थियो ।
बाटोमा संकटमोचन हनुमान भगवानको दर्शन पाउनुको साथै प्रसादको रुपमा स्वादिष्ट खिचडी ग्रहन गर्ने अवसर पनि पायौं । त्यहाँको घाटमा निकै समय लगाएर नुहायौं । त्यो नै हाम्रो अमृत स्नान थियो । वारी पारी गर्ने बाँध जस्तो पुलहरु घाटैपिच्छे रैछ । त्यहींबाट तरेर हामी फर्कियौं । कोहनाको गेष्टहाउस आइपुग्दा दिउँसोको २ बजिसकेको थियो ।
वास्तवमा झुँसी सानो स्टेशन रैछ । त्यहाँबाट फेरि बनारस फर्किनु सियाव हाम्रो कुनै विकल्प थिएन । हामी राति ११ बजे वाराणसी जंक्सन ओर्लियौं । सोधपुछ केन्द्रमा सोध्दा ‘जोगबनीको ट्रेन मुगलसराय जंक्सनमा भेटिन्छ’ भन्यो । फेरि हतार–हतार टेम्पो चढेर लगभग २०–२५ किलोमिटर यात्रापछि मुगलसराय पुग्यौं । तर त्यहाँ पनि जोगबनी जाने ट्रेनको टुंगो भएन । त्यसैले पटना नै जानको लागि भए पनि हामी मध्यरातको १२ः१० बजे प्लेटफर्म नम्बर १ को हिमगिरी एक्सप्रेसमा चढ्यौं ।
अब हामी ट्रेनमा सिट कसरी ओगटनु पर्छ भन्ने कुरामा दक्ष भैसकेकाले आरामले बसेरै विहान ५ बजे पटना आइपुग्यौं । त्यहाँ पनि जोगबनीको ट्रेन नभेटेर हामी बसबाटै मंगलबार दिउँसो २ बजे फार्बिसगञ्ज आइपुग्यौं अनि त्यहाँबाट सिटीरिक्सामा जोगबनी, त्यसपछि विराटनगर–३ स्थित घर !
जे होस् मेरी जहान संगीता, जेठी सासू, साढु दाइ र उहाँका दुई छोराहरुसँग, १४४ वर्षमा आउने महाकुम्भको ऐतिहासिक यात्रा निकै सौहार्दफूर्ण र अविस्मरणीय रह्यो ।
View : 506
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved