विराटनगर । २४२ जना यात्रु बोकेर भारतको अहमदाबादस्थित सरदार बल्लवभाई पटेल अन्तराष्ट्रिय विमानस्थलबाट लन्डनका उडेको एयर इन्डियाको विमान उडानको केहि मिनेटमै दुर्घटनाग्रस्त भएको छ । यो भयानक दुर्घटनामा अहिलेसम्म १०० शव भेटिएको दैनिक भास्करले उल्लेख गरेको छ । उडानमा गुजरातकाका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत उडेका थिए ।
विमानस्थल नजिकै अस्पताल क्षेत्रमा उक्त यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ ।
एयर इन्डियाका अनुसार उडानमा १६९ भारतीय नागरिकसहित ५३ बेलायती, एक क्यानेडियन र सात पोर्चुगिज नागरिक रहेको थिए ।
ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ ले विमानबाट अन्तिम संकेत उडानको केही सेकेन्ड पछि ६२५ फिटमाथिसम्मको मात्रै प्राप्त भएको उल्लेख गरेको छ ।
अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७८७ ड्रिमलाइनर १४ वर्षअघि लन्च गरिएको अत्याधुनिक सेवा सुविधायुक्त जहाज हो । केही हप्ताअघि मात्रै वोइङले ड्रिमलाइनर भनेर चिनिने यो मोडेलको जहाजले एक अर्बको संख्यामा यात्रु बोक्ने कोशेढुङ्गा पुगेको तथ्यको प्रशंसा गरेको वीवीसीले उल्लेख गरेको छ ।
कम्पनीले १ हजार १७५ भन्दा बढी विमानहरूको विश्वव्यापी ७८७ वटा उडानले लगभग ५० लाख उडानहरू उडाएको र ३ करोड भन्दा बढी उडान घण्टा भरिसकेको जनाएको थियो ।
बेलायतका प्रधानमन्त्री केयर स्टारमरले लन्डनको ग्याटविकका लागि उडेको र अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको उडानमा रहेका यात्रु र परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले धेरै ब्रिटिश नागरिकहरू बोकेर लन्डन जाँदै गरेको विमान दुर्घटनाग्रस्त भएको दृश्यहरू विनाशकारी भएको उल्लेख गरेका छन् ।
भारतको नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित दुई सय ४२ व्यक्ति सवार थिए ।
विमानले जमिन छोडे लगत्तै चालक दलले मेडे कल जारी गरेका थिए । यस्तो कल विमानमा आपतकालिन अवस्थाको संकेत गर्ने जनाइएको छ । त्यसपछि विमान तुरुन्तै दुर्घटनाग्रस्त भएको जनाइएको छ । विमानस्थल छेउको सिभिल हस्पिटलमा डाक्टरहरु बस्ने चौथो तलामा ठोक्किएको जनाइएको छ ।
गुजरात राज्यको मुख्य सहर अहमदाबादमा करिब ८० लाख मानिसको घना आवासीय क्षेत्रमा यो विमानस्थल रहेको छ ।
View : 202
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved