Biratnagar, Morang, Nepal
२ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
विचार

नयाँ वर्षको प्रतीक सिरुवा पावनमा जडी सितोल

समग्रमा सिरूव पावन नेपालका थारू समुदायको समृद्ध सामाजिक सांस्कृतिक सम्पदा र आध्यात्मिक आस्थालाई समेट्ने एक जीवन्त उत्सव पनि हो । तराईमा बसोबास गर्ने थारूहरू मात्र नभई गंगाई, ताजपुरिया, राजवंशी, धिमाल, मैथीललगायत अन्य समुदायले पनि यो पर्व मनाउने गर्दछन् ।
राजेश सरदार थारू
३१ चैत २०८१, आइतवार


नेपालमा विशेषगरी तराई क्षेत्रमा थारू समुदायले मनाउने परम्परागत चाड हो सिरुव पावन । थारू संस्कृति र आस्थामा गहिरो जरा गाडिएको यो पर्व ठूलो उत्साह र श्रद्धाका साथ मनाइन्छ । यस पर्वले थारूहरूको सामाजिक तथा धार्मिक पात्रोमा निकै महत्व राखेको छ ।

पानीको पर्व, आशीर्वाद, मनोरञ्जन, सु–स्वास्थ्य, दीर्घायुको कामना गर्नुको साथै रमाइलो पर्वको रूपमा सिरूव पावन नेपालका थारू समुदायले व्यापक रूपमा मनाउँदछन् । बैशाख महिनाको पहिलो दिन पर्ने यो पर्व नयाँ वर्ष आगमनको प्रतीक पनि हो । ठूलोले सानाको टाउकोमा पानी हाली आशीर्वाद दिने र सानाले ठूलाबडाको पाउमा पानी हाली आशीर्वाद लिने गर्दछन् । पानी हाल्ने बेलामा जडी सितोल भन्ने गर्दछन् । पानीले भर्खरै गर्मीको मौसम शुरूवात भए संगै सितलता महसुस पनि गर्दछन् । सिरूव पावनमा थारू परिवारहरू आˆना पुर्खाहरूलाई सम्मान गर्न, समृद्धि र कल्याणको लागि आशीर्वाद लिन भेला हुन्छन् तथा प्रकृतिसागको मेलमिलाप दिन पनि हो । आउने दिनमा कुनै किसिमको रोगब्याधि नलागोस् भनि कामना पनि गर्दछन् । 

थारू समुदायका लागि सिरूव पावनले ठूलो सामाजिक र सांस्कृतिक महत्व राखेको छ, किनकि यसले आफ्नो समुदायको प्राकृतिक सम्पदासँगको सम्बन्धलाई बलियो बनाउँछ र थारू समुदायमा पहिचानको भावनालाई सुदृढ बनाउँछ । यस पावनमार्फत आˆना पुर्खाहरूलाई आशीर्वादको लागि कृतज्ञता व्यक्त गर्छन् ।  यसले भूमिसँगको उनीहरूको घनिष्ठ सम्बन्ध र प्राकृतिक संसारप्रतिको श्रद्धालाई पनि झल्काउँछ ।

समग्रमा सिरूव पावन नेपालका थारू समुदायको समृद्ध सामाजिक सांस्कृतिक सम्पदा र आध्यात्मिक आस्थालाई समेट्ने एक जीवन्त उत्सव पनि हो । तराईमा बसोबास गर्ने थारूहरू मात्र नभई गंगाई, ताजपुरिया, राजवंशी, धिमाल, मैथीललगायत अन्य समुदायले पनि यो पर्व मनाउने गर्दछन् ।  
नयाँ वर्षको पर्व
विशेष गरी यो पर्व थारू समुदायले हर्षोल्लासका साथ मनाउने गर्दछन् । घर, आँगन सरसफाइ र गोबर पानीले आँगन लितपोत गरी शुद्ध पार्दछन् । यस दिन सबैभन्दा पहिला घरको मूल देवतालाई पानी चढाएर देवतालाई ढोगिन्छ  । त्यसपछि आमा, बुवा एवम् क्रमशः आफन्त, छरछिमेकमा रहेका आफू भन्दा ठूलालाई पाउमा पानी हाली आशीर्वाद लिने गर्दछन् भने आफू भन्दा सानोलाई शिरमा पानी हाली आशीर्वाद दिने गर्दछन् । 

शरीरमा रहेको रोगब्याधि जडैबाट तथा भित्रैबाट हटोस्, हैजा रोग नलागोस् , दुःखकष्ट भोग्नु नपरोस् भनी कामना पनि गर्दछन् । नयाँ वर्षमा रोगब्याधी,सुख, शान्ति, असल कञ्चन शरीर बनि राखोस् भनी कामना गर्दछन् ।
यस पर्वमा नयाँ सालसँगै मनमा कटुतालाई बिर्सदै भनी एक अर्कालाई सुख शान्ति, समृद्धि  तथा दिर्घायु जीवनको कामना गर्दछन् । यस पर्वलाई पानीको पर्वको रूपमा पनि लिन सकिन्छ । जो एक अर्कालाई पानी हालेर यो पर्व मनाउने गर्दछन् । बालबच्चा, महिला, केटाकेटी, वृद्धवृद्धा भरपुर रूपमा मनोरञ्जन लिने गर्दछन् । 
 

सिरूवको शाब्दिक अर्थ
वर्षको शुरूमा सवैभन्दा पहिला आफ्नो कुलदेवतालाई सिरापाट ग्रामथान, मातापिता, गुरुवा, धामीलाई  जलफूल अर्पण गर्दै शुरूमा नै आशीर्वाद लिने भएकाले सिरूव भनिएको हो । थारू समुदायमा कुलदेवताको बासस्थानलाई सिरापाट भनिन्छ । सिराको अर्थ शीर्षस्थ र पाटको अर्थ बास हुन्छ । प्रत्येक वर्षको प्रारम्भमा चाडपर्वको शुरूवातका रूपमा आउने भएकाले यस पर्वलाई सिरूव पावन भन्ने गर्दछन् । विभिन्न भौगोलिक ठाउँमा बसेका थारूहरू मनोरन्जनको रूपमा यस सिरूव पर्वको दिन जडि सितोल, जडी सितौल, जूर सितल, जडी सितोल, जुडी सितोल, जुडी सितलको रूपमा ठाउँ पिच्छै थरि थरिको उच्चारण गर्दछन् । 

जडि सतिोल नमस्कार पनि हो यस पावनको दिन मात्र यो नमस्कार गर्ने परम्परा छ ।  मोरङ बुढीगंगा, बौरा निवासीको बुझाइ लिने हो भने जडिको अर्थ बुटी हो भने सितोलको अर्थ सितलता प्रदान गर्नु हो । अर्थात् बैआख १ गते गर्मीको आगमनसँगै यस पावनको दिन बुटीको रूपमा रहेको पानीसँगै खेल्नुले सितलताको महसुश गर्दछन् । 

मोरङिया थारूहरू सिरूव पावन भन्ने गर्दछन् भने फरक भौगोलिक ठाउँ अनुसारका थारूहरूले सिरूवा पावन भन्ने गर्दछन् तर जे जस्तो उच्चारण भएता पनि थारू जातिमा सिरूव पर्वको शाब्दिक अर्थ जस्तो जुड, जुडीको अर्थ चिसो हुन्छ । सितोलको अर्थ सितल वा शान्ति हुन्छ अर्थात चिसो पानीले शरीरमा, मन मष्तिष्कमा सितलता प्रदान गर्नु हो । 
जुडीको अर्थ चिसो वा जडीको अर्थ बुटी पनि हो । बुटीको रूपमा मानिएको रहेको पानीले जडबाटै अर्थात भित्रै जडबाट नै रोग ब्याधी हटी चिसो पानी झै जीवन सुखमय बनोस् । बैशाखमा गर्मी बढेसँगै जुड अर्थात चिसोपानीले खेलेसँगै मन सितल र शान्ति महसुश हुन्छ । बितेको बर्षमा पीडाले दुखित भएको मन र गर्मीले छटपटाएको मनमा खुशी पार्न सितल, चिसो जलबाट शरीर कञ्चन रहोस् भन्दै आशीर्वाद दिने लिने भएकोले यस पर्वलाई जुडिसितोल भनिएको हो ।
जुरको अर्थ भाग्य रेखा पनि हो जहाँ एक अर्कामा पानीको माध्यमबाट सितलता प्रदान गर्ने अवसर नयाँ वर्षबैशाख १ गते भाग्य प्राप्त हुन्छ । यसरी यो पर्वमा अतितको तित्ततालाई बिर्सदै नयाँ उमंग, उत्साह र जोशका साथ एक अर्कालाई सुखमय जीवन र दीर्घायुको शुभकामना आदान प्रदान र शुभेक्षाको कामना गर्दछन् । 
त्यसै गरी सिरूव वा सिरूवाको अर्थ शुरू भन्ने पनि बुझिन्छ । नयाँ वर्षको आगमनमा नै मनाइने भएकाले यस पर्वलाई सिरूवा पर्व भन्ने गरेको अर्थ लाग्दछ । नयाँ सालको शुरूवात भएसँगै थारूहरू लाई रक्षा गर्ने ग्राम देवताको पनि पूजा गर्ने दिनको शुरूवात हुन्छ । 
अर्थ र भाव एउटै भए पनि पूर्व मेचीदेखि महाकालीसम्मको थारूहरूमा यस पर्वलाई थरी थरीको उच्चारण गर्दछन् तर मोरङ्गिया थारूहरू यस पर्वलाई सिरूव पावनको रूपमा उच्चारण गर्दछन् भने अन्यत्र क्षेत्रमा बसोबास गर्ने थारूहरूले सिरूवा पावन, सिरूवा पावैन उच्चारण गर्दछन् र ठूलाले सानालाई पानी शिरमा हाल्दा जडी सितोल भन्दै पानी हाली आशीर्वाद दिने गर्दछन् । 
उनीहरू भगवानको प्रतीकको रूपमा मानिने बर, पिपलको बोटमा पनि पानी हाली जडी सितोल उच्चारण गर्दे ढोग्छन् । उनीहरू यो पर्वलाई नयाँ वर्षको आगमनको रूपमा लिने गर्दछन् । यसको अर्थ शरीरमा सितलता प्रदान गर्नु हो । नयाँ वर्षसंगै बालीनाली सप्रियोस्, मानिसमा कुनै किसिमको रोगब्याधी नलागोस् भनी कामना गर्दछन् । 
मनोरञ्जनको पर्व सिरूव
यस उत्सवमा साथीभाइ, देवर भाउजु, साली भिनाजु एक अर्कालाई भिजाउने गरी पानी, हिलो अथवा पानीमा रङ मिलाएर छ्याप्ने गर्दछन् । साथीभाइ, आफन्त एक अर्कालाई पानी छर्केर नयाँ वर्षहर्षोल्लासका साथ मनाउने गर्दछन् । मुख्य मुख्य घरहरूमा पनि पानी छर्कने गर्दछन् । जस्तै सुत्ने कोठा, गोठ, देवी देवता कोठा आदि । बिगत वर्षझै घरले बचाएको र नयाँ सालमा पनि हुने सम्भावित मानवीय क्षति नहोस् भन्ने जनविश्वास रहेको पाइन्छ ।
मोरङ ग्रामथान—१ निवासी ऐनादेवीको अनुसार यो पर्व वर्षभरि नै सितल रहोस् भनेर मनाइने पर्व हो । रोचक कुरा के हो भने चैत मसान्तमा पकाएको खानेकुरा त्यसको भोलीपल्ट नयाँ वर्षबैशाख १ गते बासी भात खाने चलन छ । जसलाई उनीहरूको भाषामा बसिया भात भनिन्छ । यो पर्व मनाउँदा एकदिन अघि पकाएको बासी खाना खाएर मनाउने गरिन्छ ।
यसको अर्थ बिगत झै खानलाउन पुगोस् । मीठो मीठो खाना खानमा कुनै दुःख कठिनाई भोग्नु नपरोस्, अन्नको परिपूर्णता विगतझै सधै भरिपूर्ण रहोस् भन्ने जनविश्वास रहिआएको छ । यस पर्वमा बुवाआमाले भर्खर विवाह गरेका आफ्ना छोरीज्वाईंलाई निम्तो दिई शिरमा पानी हाली आशीर्वाद दिने प्रचलन छ ।
यो नयाँ वर्षसँगै बैशाखभरीनै ग्रामथानको पूजाआजा गर्दछन् । ग्राम देवतालाई पूजाआजा गरी खुशी राख्नाले बर्षैभरी रक्षा गर्छन् । खाना लाउन पुर्‍याउँछन्  र महामारी, अनिकाल, बाढी पैरो, अतिवृष्टि, अनावृष्टिमा रक्षा गर्छन् भन्ने जनविश्वास पनि रहेको छ । बैशाख १ गतेदेखि नै नयाँ बर्षको सिरूव मेलाको शुरूवात हुन्छ । साथी,भाइ, इष्टमित्र तथा आफन्तहरू ग्रामथान मेलाका दिन पाहुना आउने गर्दछन् ।
सुनसरी, खनार निवासी थारू लेखक रामसागर चौधरीको कुरालाई लिने हो भने मोरङ्यिा थारूहरूमा बैशाख १ गते सिरूव पर्वकै दिन अघिल्लो साल विवाह भएको छोरा, बुहारीले विवाहमा बेहुलाबेहुलीले लगाउने  ‘सिरमोर’ फूललाई सदैव पानी बगी राख्ने नदी या पोखरीमा बिसर्जन गर्नुपर्ने हुन्छ । फूल बिसर्जनपछि विवाहित जोडी नदीमा दुवै हातको सहयोगमा घोङी, सिपी, माछा वा कुन वस्तु पहिला समातिएको हो त्यसबाट उसको छोरा वा छोरी जन्म हुने अनुमान लगाउँछन् ।
सिरूव पावनको कथा
यस पावनको बारेमा नेपाल तथा अन्य मुलुकमा प्रचलित किंवदन्ती रहेको छ । लक्ष्मीनारायण (स्व श्रीमोहनलाल हुजदार (१९७०) को तर्क अनुसार नेपालको थारू समुदायमा यस चााडसँग सम्बन्धित अत्यन्तै रोचक कथाहरू छन् । 
धेरै पहिलेको कुरा हो, एउटा देशमा एक जना अत्यन्त नै ज्ञानी राजकुमार थिए । ती राजकुमार बहुभाषिक ज्ञाता हुनुको साथ साथै जनावर र चराचुरूङ्गीसमेतको भाषा बुझ्ने सामर्थ्य राख्थे ।
भनिन्छ उनको त्यो विद्वताको कुराले स्वर्गमा रहेको एकजना कपील भन्ने देवतालाई डाह, ईर्ष्या उत्पन्न भयो । कपील भन्ने देवता पृथ्वीमा आए र राजकुमारलाई शर्तसहित तीनवटा अप्ठ्यारा प्रश्नहरू राखे । राजकुमारलाई यो उत्तर खोज्नको लागि ७ दिनको समय दिइएको थियो । यदि राजकुमारले सातदिनभित्रै तीनवटै प्रश्नहरूको जवाफ दिन सकेनन् भने राजकुमारको टाउको काटिने तर तीनटै प्रश्नहरूको सही जवाफ दिन राजकुमार सफल भएमा देउताहरूको टाउको काटिनै  शर्त थियो ।
राजकुमार उक्त प्रश्नको उत्तरको खोजीमा निस्किए । राजकुमारलाई त्यस्ता कठीन प्रश्नहरूको जवाफ दिन कठिनाई भयो  । हार खाएर, बेइजत भएर, बाँच्नुभन्दा मर्नु जाती भन्ने कुरा राजकुमारले मनमनै विचार गरे । छैटौं दिन बेलुकासम्म पनि उनले उक्त प्रश्नको उत्तर नभेटेपछि राजकुमार एउटा रूखको फेदमा आˆनो मृत्युको समय कुरेर बसेका हुन्छन् । 
राजकुमार विविध जनावरको भाषा बुझ्ने क्षमताका व्यक्ति थिए । उनी बसेको त्यस रूखमाथि एउटा चील पंक्षीको गुँड थियो । संयोगको कुरो हो, रूखमुनि उभिएको आत्महत्या गर्न हिडेको राजकुमारले आमा चीलले आफ्ना बच्चा चीलहरूलाई सान्त्वना दिदैं गरेको कुरा सुने । बच्चा चीलहरू ‘भोक लाग्यो, भोक लाग्यो’ भनी  खानाको लागि कराउँदै थिए । आमा चीलले तिमीहरू आत्तिनु पर्दैन्, धेरै छिटो नै तिमीहरू तल उभिएको नौजवान मान्छेको मासु खाएर कृत्य हुनेछौ । तिमीहरूलाई थाहा छैन् तल उभिएको नौजवान तीनवटा कठिन प्रश्नहरूको जवाफ दिन असफल हुनेछ र आत्महत्या गर्न बाध्य हुनेछ । 
त्यस कुराकानीको सिलसिलामा आमा चीलले बच्चा चीललाई देउता र राजकुमारबीच भएको शर्तको कथा सुनाइन् र बच्चाहरूको प्रश्नको जवाफमा तिनले ती तीनवटा कठीन प्रश्नहरूको उत्तर पनि बताइन् । बच्चाहरूले आमासँग त्यो प्रश्नको उत्तर सोध्छन् । बच्चालाई चिलले उक्त प्रश्नको उत्तर भन्न तिर लाग्छ । चिलले सुनाए अनुसार भाग्यले बिहान अनुहारमा निवास गर्छ, दिउँसो शरीरभित्र निवास गर्छ र राति खुट्टामा निवास गर्छ भनेर उत्तर दियो ।
त्यो रूखमुनि आत्महत्याका लागि तयार भएर बसिरहेका राजकुमारले सुन्छन् । रूखमुनि उभिएका राजकुमारले तीनटै प्रश्नहरूको सही उत्तर पाएर मनमनै रमाए र केही नबोली त्यहाँबाट दरबारतिर लागे । तोकिएको दिन र समयमा राजकुमारले देउतालाई प्रश्नहरूको सही उत्तर दिन सफल भए ।

देउता बाजीमा पराजित भए र शर्त अनुसार देउताले आफ्नो टाउको काटेर राजकुमारलाई दिए । तर देउताको टाउको अत्यन्त नै अचम्मको थियो—किनभने सो टाउकोलाई पृथ्वीमा राख्दा असीमित आगोको ज्वाला प्रज्वलित हुने भयो, समुद्रमा राख्दा समुद्र सुक्ने भयो, पहाडमा राख्दा पहाड जलेर खरानीमा परिणत हुने भयो । टाउको राख्ने ठाउँ भएन ।

अतएव ती समस्याहरूको समाधान गर्न कपील देउताको सात बैनी छोरीहरूले सधैंको लागि पालैपालोसँग बाबुको सो टाउको बोकी एउटा धुरीमा सुमेरू पर्वतको वरिपरि घुम्न थाले । सो टाउको बोक्ने पालो छोरीहरूको माझ प्रत्येक एक वर्षमा आउने भयो र यो सिरूवा पावनको दिनमा अर्की बैनीले आगामी एक वर्षसम्म टाउको बोक्ने जिम्मेवारी लिने भइन् ।

यसरी यो क्रम दोहरिन थाल्यो । यही सिरूवा जूरशितलको दिन नै एक बहिनीले अर्की बहिनीलाई बुवाको टाउको हस्तान्तरण दिनको रूपमा पनि बुझ्ने गरिएको  थारू समुदायमा  देखिन्छ । धन्यवाद ।
        sardarkrajesh@gmail.com

View : 336

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved