माओवादी महानगर निर्वाचन
विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षका उम्मेदवार दिनेश कुमार राजवंशी (देव) निर्वाचित भएका छन् । संस्थापन पक्षकी उम्मेदवार नमिता न्यौपानेलाई ११ मतले पराजित गर्दै राजवंशी अध्यक्षमा निर्वाचित भएका हुन् ।
महानगर कमिटीको ७ मध्ये कोषाध्यक्ष बाहेक ६ पदाधिकारीका लागि शनिबार विराटनगरमा भएको निर्वाचनमा राजवंशीले ४६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए । न्यौपानेले ३५ प्राप्त गरेकी हुन् ।
तीन उपाध्यक्ष पदमा पनि राजवंशीकै प्यानलका चन्द्र बहादुर वन, धर्मलाल माझी र सनोज कुमार यादव निर्वाचित भए ।
सचिवमा पनि राजवंशीकै प्यानलका सोनु केवट र सहसचिवमा दिनेश कुमार कामत निर्वाचित भएका छन् । पदाधिकारी सवैमा पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको संस्थापन लाइन पराजित भएको हो । कोषाध्यक्षमा भने मनिष सोनी निर्विरोध निर्वाचित भएका हुन् ।
विराटनगरमा जनार्दन शर्माको लाइनको नेतृत्व गर्दै केन्द्रीय सदस्य शिवकुमार मण्डल एक्लै संस्थापनविरुद्ध उत्रिएका थिए । मण्डलले मोरङ पार्टीका सवै नेतृत्व एकातिर हुँदा पनि महानगरमा एक्लै बर्चश्व कायम गरेका हुन् ।
संस्थापन लाइनका उम्मेदवार जिताउन अमनलाल मोदी र मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बुले मुख्य नेतृत्व गरेका थिए ।
शनिबार निर्वाचन स्थल विराटनगरको बसपार्क पछाडि रहेको एबि होटलमा निर्वाचन भएको हो । निर्वाचन स्थलमा संस्थापन पक्षका उम्मेदवारको समर्थनमा पार्टी अध्यक्ष प्रचण्डकै ज्वाँई जीवन आचार्यका स्वकीय सचिव इश्वरी आचार्य उपस्थिति थिए ।
दोस्रो सम्मेलनको उद्घाटनका लागि आउँदा प्रचण्डलाई बसाएर खाना खुवाउने व्यवसायी मनोज चौहान र केही महिना अघिमात्रै माओवादी प्रवेश गरेका नमिताका जेठाजु तुलसी पोखरेलसम्मका व्यवसायिक छवि भएका नेता कार्यकर्ताको समेत जमघट देखिन्थ्यो ।
तर मण्डलले संस्थापन भनिएको सम्पूर्ण शक्तिका विरुद्ध एक्लै उभिएर सवै पदाधिकारी जिताउन सफल भए ।
दोस्रो सम्मेलनको उद्घाटन बैशाख ७ मा प्रचण्डले नै गरेका थिए । उनले चुनाव हुन नदिने मनसायले सहमतिमा नेतृत्व चयन गर्न मञ्चबाटै निर्देशन दिएका थिए । अध्यक्ष दाहालले सर्वसम्मत नेतृत्व चयनका लागि मञ्चबाटै दवावपूर्ण दिंदै प्रतिष्पर्धालाई ‘गुटबन्दी’ को संज्ञा दिएका थिए । त्यसैको आडमा संस्थापन पक्षले आफ्नो पक्षमा सहमति जुटाउने रणनीति स्वरुप सात दिनसम्म पदाधिकारी चयन नगरी मण्डललाई गलाउने प्रयास गरेका थिए ।
नेतृत्वबाटै सहमतिको उर्दी जारी भएपनि पदाधिकारीमा भने आकांक्षीको लर्को लागेको थियो । उनीहरूले संस्थापनको दवाव झेल्नका लागि सिमित नेताहरूसँगै मात्रै सल्लाह गरेर भित्रभित्रै चुनावी माहौलमा बनाएका थिए ।
माओवादीको कमिटी निर्वाचनसम्बन्धि व्यवस्था अनुसार महानगर कमिटीको सम्मेलनमा प्रतिनिधि कायम रहेका ३५६ जनाले ८१ जनाको महानगर कमिटी चयन गरेका थिए । तीनै ८१ जनाले मात्रै पदाधिकारी चयन गर्न पाउने व्यवस्था अनुसार शनिबार मतदान गरिएको हो ।
अपरान्ह साढे ३ बजेसम्म तोकिएको मतदान अवधिमा ८१ जनाले नै मतदान गरेका थिए । मतगणनाको सुरुवातमै अग्रता कायम गरेका राजवंशीको प्यानलै निर्वाचित भएपछि एबि होटलमा प्यानलका सुत्रधार रहेका शिवकुमार मण्डलको पक्षमा नाराबाजी गरेका थिए ।
उनीहरूले मण्डललाई मतगणनास्थलबाट बोकेर बाहिरसम्म निकालेका थिए । मण्डलसहित माओवादी महानगर इन्चार्ज भोगेन्द्र यावदले सवैलाई अबिर लगाइदिएर विजय उत्सव मनाएका थिए ।
View : 539
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved