पाकिस्तानको बलुचिस्तान प्रान्त लामो समयदेखि अशान्त छ । भारतको विभाजनअगावै स्वतन्त्र राष्ट्रको अस्तित्वमा फर्केको बलुचिस्तानलाई सन् १९४८ मा पाकिस्तानले सैन्य कारवाही गरी आफ्नो देशमा समाहित गरेको थियो । त्यो वेलादेखि पाकिस्तानविरुद्ध बलुचहरू स्वतन्त्रताको लडाइँ लड्न अग्रसर देखिन्छन् । पाकिस्तानले एकपटक विभाजनको मार खेपिसकेको छ । पाकिस्तानको पूर्वी बङ्गाल प्रान्तमा बङ्गालीहरुले विद्रोह गरी सन् १९७१ बङ्गलादेशको स्थापना गरे ।
पाकिस्तानसँग अहिले पञ्जाब, सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वा गरी चार प्रान्त छन् । सोमध्ये बलुचिस्तानीहरूले आफ्ना स्वतन्त्रता खोजेका छन् । पाकिस्तान पुनः विभाजनको शिकार हुने सम्बन्धमा अन्तर्राष्ट्रिय जगतमा चर्चा छाएको छ । सन् १९४८ देखि नै बलुचिस्तानमा स्वतन्त्रताको संघर्ष सुरु भएको हो । तर, पछिल्लो घटना ११ मार्चका दिन बोलान क्षेत्रको पीरु कुनरी र गुलदारको पहाडी क्षेत्रस्थित एक सुरुङ नजिक बलुचिस्तान लिबरेसन आर्मी (बीएलए)ले बम विष्फोट गरी जाफर नामक रेललाई आफ्नो कब्जामा लिएको थियो ।
सो रेलमा २१४ जना पाकिस्तानी सैनिकसहित ४४० जना यात्रु सवार थिए । पाँच दिनपछि, १६ मार्च आइतबार आठवटा बसमाथि नौंसकी भन्ने ठाउँमा गुडिरहेको बससँग अप्रत्यासित रुपमा विष्फोटक पदार्थले भरिएका कारले एउटा बसलाई ठक्कर दिएपछि बस पूर्ण रुपमा जलेर नष्ट भयो । त्यो आत्मघाति हमला थियो । त्यसपछि अन्य बसमाथि बलोच विद्रोहीले आधुनिक हतियारले गोली चलाएर ९० जना सैनिक मारेको र रेलमा सवार २१४ जना सेनालाई पनि मारेको बीएलएले दाबी गरे पनि पाकिस्तान सरकारले दुईटै घटना गरी १५ जना सेना मात्र मरेको पुष्टि गरेको छ ।
यी दुईटै घटनाले विश्वलाई पाकिस्तानतर्फ ध्यान तानेको छ । बलुचिस्तानमा छुट्टाछुट्टै रहेका लडाकु संगठन जसलाई पाकिस्तानले आतंकवादी संगठन भन्छन् । ती संगठनहरुबलुच लिबरेसन आर्मी, तेहरीक तालीवान आर्मी र पख्तुहरुको संगठन एकजुट भएर ‘बलोच नेशनल आर्मी’ गठन गरी संघर्षमा उत्रेको छ ।
बलुचिस्तानको इतिहास
प्राचीनकालमा बलुचिस्तानलाई ‘मेहरगढ’ भन्ने गरिन्थ्यो । मेहरगढ सिन्धु सभ्यताको प्रमुख शहर थियो । लगभग तीन हजार वर्षअघि सिन्धु सभ्यताको अन्त्य भयो । त्यसपछि त्यहाँका वासिन्दा सिन्ध र पञ्जावमा बस्न थाले । त्यसपछि बलुचिस्तानको उक्त क्षेत्रमा वैदिक सभ्यताको प्रभाव बढ्न थाल्यो । पहाडको दुर्गम क्षेत्रमा हिंगलाज माताको मन्दिर छ । त्यो प्रमुख शक्तिपीठको रुपमा हेरिन्छ । सो मन्दिरमा हिन्दु र मुसलमानले बडो आस्थाका साथ मिलेर पूजा गर्छन् ।
बलुचिस्तानको कलात क्षेत्रमा हिन्दु सेवा वंशका राजा थिए । सोही वंशकी एक प्रसिद्ध शासक रानी ‘सेवी’ थिइन् । जसको नाममा सिबी शहरको नामाकरण भयो । सन् १५७०मा बलुचको सहयोग लिएर अकबरले हिन्दु राजामाथि आक्रमण गरी कलातलगायतको क्षेत्रमाथि कब्जा गरे । अधिकांश हिन्दुहरु त्यहाँबाट लखेटिए । १८ औं शताब्दीमा बलुचले मुगललाई लखेटेर कलातमा आफ्नो राज्यको राजधानी घोषित गरे । त्यसपछि बलुचको शासन शुरु भयो ।
आधुनिक बलुचिस्तानको इतिहास सन् १८७६ बाट शुरु हुन्छ । त्यो बेलामा बलुचिस्तानको कलातमाराजा रजौटा (रियासत) को शासन थियो । भारतमा ब्रिटिसको शासन शुरु भयो । सोही बषब्रिटिस सरकार र कलातबीच सन्धि भयो । सो सन्धिअनुसार अंग्रेजले भुटान र सिक्किमजस्तै कलातलाई संरक्षित राज्यको दर्जा प्रदान गर्यो । कलातको आन्तरिक मामिलामा अंग्रेजको दखल थिएन । तर, विदेश र रक्षाको मामिलाअंग्रेजको नियन्त्रणमा थियो ।
दोस्रो विश्वयुद्ध समाप्तपछि सन् १९४५मा ब्रिटिसको अधिनस्थ कतिपय मुलुकमा स्वतन्त्रताको आवाज तीव्र रुपमा उठ्यो । बलुचिस्तानको कलातमा पनि स्वतन्त्रताको माग उठ्योे । जव १९४६ मा अंग्रेज भारत छोड्ने निश्चित भएपछि कलातका शासक मीर अहमद खानले अंग्रेजसमक्ष आफ्नो पक्ष राख्नका लागि मोहम्मद अलि जिन्नालाई सरकारी वकिलमा नियुक्त गरे । बलुचिस्तान नामक देश बनाउनका लागि ४ अगस्त १९४७मा दिल्लीमा एक बैठक बस्यो ।
ब्रिटिस वायसराय लर्ड माउन्टवेटनको संयोजकत्वमा बसेको बैठकमा कलातका शासक मीर अहमद खान, मोहम्मद अलि जिन्ना र जवाहरलाल नेहरू सहभागी भएका थिए । जिन्नाले कलातको पक्षमा आफ्ना तर्क राखेका थिए । बैठकमा ब्रिटिश वायसराय लर्ड माउन्टवेटनले स्पष्ट रुपमा कलातलाई भारत र पाकिस्तानको हिस्सा बन्नु कुनै आवश्यक नरहेको स्पष्ट पारेका थिए। तब, जिन्नाले कलात, खरान, लासबेला र मकरानलाई मिलाएर एक स्वतन्त्र बलुचिस्तान राष्ट्र बनाउन सुझाव दिए । ११ अगस्त १९४७ मा कलात र मुश्लिम लीग बीच एक सम्झौंता भयो ।त्यसपछि, १२ अगस्तमा शासक खानले बलुचिस्तान एक स्वतन्त्र देश घोषित गरे ।
लगत्तै, बलुचिस्तानको मस्जिदमा कलातको पारम्परिक झण्डा फहराइयो । स्वतन्त्रताको ठीक एक महिना १२ सितम्बरमा बेलायतले बलुचिस्तान एक अलग देश बन्ने अवस्थामा नरहेको र अन्तर्राष्ट्रिय जिम्मेवारी पनि उठाउन नसक्ने भनेर एक प्रस्ताव पारित गर्यो । उक्त निर्णयले जिन्नालाई बलुचिस्तानलाई पाकिस्तानमा मिलाउने बल पुग्यो भने बलुचिस्तानका शासक मीर अहमद हत्तप्रभ भए । उनले पाकिस्तानका कायदेआजम (राष्ट्रपति) जिन्नासँग सहयोग पाउने आशाका साथ १९४७ को अक्टुबरमा पाकिस्तान पुगे । कराँचीमा हजारौं बलुचले राजाझैं स्वागत गरेपनि उनको स्वागत गर्न पाकिस्तानको कुनै अधिकारी पुगेनन् ।
जिन्ना र खान बीच भेटघाटको क्रममा जिन्नाले बलुचिस्तानको पाकिस्तानमा विलयको प्रस्ताव राखे । (ताज मोहम्मद ब्रेसीङ्गद्वारा लिखित ‘बलुच राष्ट्रवाद’ पुस्तकमा उक्त कुरा उल्लेख गरिएको छ) बलुचिस्तानकोशासक खानले जिन्नाको प्रस्तावलाई ठाडो अस्विकार गरे । बलुचिस्तानमा विभिन्न समुदायको बसोवास छ । मैले एक्ले निर्णय गर्न नसकिने भनेर यस विषयमा जनताले नै निर्णय गर्छन् । खान राजधानी कलात फर्केर विधानसभाको बैठक आह्वान गरे । पाकिस्तानको प्रस्तावको विधानसभामा व्यापक विरोध भयो ।
शासक मीर अहमदले आफ्ना सैनिक प्रमुख जनरल परवेजलाई सैन्य शक्ति बढाउन निर्देश गरे । हतियार जुटाउनका लागि जनरल परवेज १९४७ को दिसम्बरमा लण्डन पुगे । तर, बेलायतले पाकिस्तानको मन्जुरीबेगर हतियार दिन नसक्ने स्पष्ट जवाफ दिएको थियो । बेलायतले हतियार नदिएको खबरले जिन्नाले राहतको अनुभूति गरे । त्यसपछि, जिन्नाले बलुचिस्तानमाथि कब्जा गर्न १८ मार्च १९४८मा खारन, लास बेला र मकरानलाई अलगगर्ने घोषणा गर्यो ।
दुश्का एच सैयदले आफ्नो पुस्तकमा ‘द एक्सन अफ कलातः मिथ एण्ड रिएलिटी’मा जिन्नाको उक्त घोषणापछि कलातलाई चारैतिरबाट पाकिस्तानी सेनाले घेराबन्दीमा पार्यो । जिन्नाले कतिपय मुस्लिम समुदायको अगुवालाई आफ्नो पक्षमा पार्न सफल भए। त्यसपछि बलुचिस्तानका शासकसँग कुनै विकल्प नबँचेपछि भारतसँग सहयोगको माग गरे । भारतसँग यसअघि पनि विलयको प्रस्ताव राखिएको थियो । तर, नेहरुले प्रस्तावलाई स्वीकार गरेनन् । २६ मार्चमा पाकिस्तानी सेनाले बलुचिस्तानमाथि आधिपत्य कायम गर्यो । अंग्रेजबाट मुक्त भई स्वतन्त्र राष्ट्रको रुपमा स्थापित बलुचिस्तान २२७ दिनपछि पाकिस्तानको अधिनस्थ भयो । त्यो बेलादेखि विद्रोहको स्वर उठ्ने क्रम जारी छ ।
उक्त घटनाको विरोधमा बलुचिस्तानका तत्कालीन राजकुमार करीम खानले एक जत्था तयार गरी सन् १९४८ मै पाकिस्तानविरुद्ध विद्रोह गरे । तर, त्यो विद्रोह पाकिस्तानी सेनासमक्ष टिक्न सकेन । अन्ततः करीम खान पक्राउ परे । तर, त्यो विद्रोह बढ्दै सन् १९५०, १९६० र १९७०को दशकमा पाकिस्तानी सरकारलाई चुनौती दिदै रह्यो । सन् २००० आउँदा आउँदै चारपटक विद्रोह भइसकेको थियो ।
सन् २००५ मा बलुचिस्तानको सूई क्षेत्रमा एक महिला डाक्टर शाजिया खालिद आफ्ना घरमा सुतिरहेको अवस्थामा सेनाको कप्तानले उनलाई बलात्कार गर्यो । कप्तानलाई पक्राउ गर्नुको सट्टा उनको बचाउमा सरकार उत्रियो । महिलासँग बलात्कार भयो कि भएन भनेर स्वास्थ्य परीक्षण गर्नुपर्नेमा सो नगरी उनलाई मानसिक अस्पतालमा पठाइयो । उल्टै उनीमाथि गलत आरोप लगाइयो । उक्त घटनाले व्यापक आक्रोस बढ्यो । बुगति जनजातिको अगुवा नबाव अकबर खान बुगतीले आफ्नो कबिला (जातीय समूह)को नियमलाई उल्लघन भएको बताए ।
बुगती पहिले पाकिस्तानको रक्षामन्त्री थिए । तर, उनी बलुचिस्तान लिबरेशन आर्मीको नेतृत्वकर्ता भइसकेका थिए । महिलाको बलात्कारको प्रतिशोध साध्न बुगतीको आदेशमा बलुच विद्रोहीहरुले सूई ग्यास फिल्डमाथि रकेटले आक्रमण गरे । थुप्रै पाकिस्तानी सैनिक मारिए । उक्त विद्रोद दबाउन मुशर्रफले थप पाँच हजार सेना सो क्षेत्रमा खटाए । १७ मार्चमा पाकिस्तानी सेनाले बुगतीको घरमाथि विमानबाट बम बर्षा गर्दा ६७ जना मारिएका थिए । २६ अगस्त २००६ मा भाबुरको पहाडीमा लुकेर बसेका अकबर बुगती र उनका साथीमाथि पाकिस्तानी सेनाले बम बर्षा गरी बुगती साथै उनका दर्जनौं साथीलाई मारेका थिए ।
बुगतीको हत्यापछि सवै जनजाति एक जुट भए । बलुचका लडाकुहरुले पाकिस्तानको विभिन्न ठाउँमा आक्रमण गरे । मुशर्रफलाई समेत मार्ने प्रयास भयो । बुगती मारिएपछि बीलएको नेतृत्व नवाव बालाच मिरीले सम्हाले । २००७मा पाकिस्तानी सेनाले उनलाई मारे । २००९देखि बीलएले पञ्जावी समुदायमाथि आक्रमण शुरु गर्यो । ५००भन्दा बढी पञ्जावी समुदायको हत्या भयो । त्यसपछि पाकिस्तानी सरकारलेव्यवस्थित ढङ्गले बलुचहरुलाई बेपत्ता पार्न थाल्यो । विभिन्न सञ्चारमाध्यमका अनुसार, पन्ध्र बर्षको अवधिमा पाकिस्तानी सेनाले पाँच हजारभन्दा बढी बलुचलाई मारेको वा कारागारमा राखेकोसम्बन्धमा अत्तोपत्तो नरहेको बताइएको छ ।
बलुचिस्तानमा चीनको परियोजना
बलुचिस्तान खनिज सम्पदाले परिपूर्ण मानिन्छ । उक्त क्षेत्रमा चीन–पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी)को महत्वपूर्ण हिस्सा हो । सीपीईसी चीनको राष्ट्रपति शी जिनपिङ्गको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ करिडोरको एक भाग हो । बलुचिस्तानको ग्वादर बन्दरगाह उक्त परियोजनाको मुख्य भाग हो । चीनले पाकिस्तानको ग्वादर पोर्टलाई आफ्नो शिनजिंयागसँग जोड्नका लागि अहिलेसम्म ४६ अर्ब डलर खर्च गरिसकेको छ । चीनले सडकलाई चौडा गर्दैछ र विमानस्थल बनाउन जुटेको छ ।
यस परियोजनाको बलुचहरुले विरोध गरिरहेका छन् । उनीहरुले आफ्ना संस्कृतिमाथि आघातका साथै रोजगारसमेत ठप्प भएको भनेर आक्रोसित छन् । बलुच विद्रोहीले सो क्षेत्रमा कार्यरत चिनी प्राविधिकहरुमाथि पटकपटक आक्रमण गरी हत्या गरेका छन् । तसर्थ सो क्षेत्रमा शान्ति बहाल गर्न पाकिस्तानी सरकारलाई धेरै मुश्किल भइरहेको अवस्था छ ।
पाकिस्तानको कूल भूभागको ४४ प्रतिशत क्षेत्रमा बलुचिस्तान प्रान्त फैलिएको छ । कूल जनसंख्यामा मात्र पाँच प्रतिशत अर्थात एक करोडको आवादी छ । सो क्षेत्र खनिज सम्पदाको दृष्टिकोणले सवैभन्दा धनी छ भने विकास र रोजगारको दृष्टिकोणले सबैभन्दा पिछडिएको प्रान्त हो ।
View : 106
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved