वडाध्यक्ष काफ्लेले नापनक्सा बिनै आफ्नो जग्गामा बाटो बनाएकोबारे जानकारी दिंदै जग्गा धनी थापा । उनले सोही बाटोलाई अझ सोझो हुने गरी पूर्वतर्फ सारेर सहज बनाइदिएका छन् । तस्वीर : उद्घोष
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ का वडाध्यक्ष सोमप्रसाद काफ्लेले व्यक्तिगत जग्गामा बाटो कायम गर्न बलमिच्याँई गरेका छन् । उनले जग्गाको नक्सा नै नहेरी जग्गाधनीलाई धाकधम्की दिएर बाटो कायम गराउने प्रयास गरेका हुन् ।
वडाध्यक्ष काफ्लेले बलमिच्याँई गर्दै बाटो कायम गर्न खोजेको जग्गाधनी गणेश थापाले बताए ।
व्यक्तिको जग्गामा जबरजस्ती बाटो खोल्नका लागि वडाध्यक्ष काफ्लेले सरकारी बजेट खर्चिएर दुरुपयोग गरेको थापाले आरोप लगाए ।
लिलावती यादवको नाममा रहेको साविकको टंकी सिनुवारी–३ को ‘३, ङ’ कित्ता नम्बर ११४ र ३३१ को नम्बरी उक्त जग्गामा जग्गाधनीसँग कुनैपनि सहमति नगरी बाटो खोलिएको थियो ।
यादव परिवारले आफ्नो जग्गा भएको भन्दै हारगुहार गरेपनि केही व्यक्तिको प्रभावमा परेर वडाध्यक्ष थापाले जबरजस्ती बाटो कायम गराउने प्रयास गरेको स्थानीयले बताए । निजी जग्गाको बीचबाट बाटो खोलिएको उक्त जग्गा पछि थापाले खरिद गरेका थिए ।
उक्त बाटोमा शहरी विकास तथा भवन निर्माण विभागबाट ६० लाख रुपैयाँ खर्च भएको स्थानीयले बताएका छन् । बाटोको अवस्था हेर्दा भने व्यापक हिनामिना भएको हुनसक्ने स्थानीयको भनाई छ ।
वर्तमान जग्गाधनी थापाले उक्त बाटोलाई आफ्नै जग्गाबाट पूर्वतिर सारेर सिधा बनाएपनि वडाध्यक्ष काफ्लेले स्थानीयलाई उचालेर व्यक्तगत सम्पतिको भोगचलनमा रोक लगाउने प्रयास गरेका हुन् ।
थापाले आफुले बाटो नै नदिने नभनेको तर बाटो केही पूर्व सारेको बताए । तर वडाध्यक्ष काफ्लेले केही व्यक्तिको उक्साहटमा लागेर गलत कार्य गरेको थापाले बताए ।
जग्गा व्यवसायी समेत रहेका थापाले आफ्नै जग्गाभित्रबाट बाटो खोल्दा समेत आफुलाई धाकधम्की दिएको, नयाँ बाटो बनाउ“दा वडाध्यक्षकै निर्देशनमा प्रहरी लगाएर जेसीबी प्रहरीले तीन दिन नियन्त्रणमा लिएको गुनासो गरे ।
‘मेरो लाखौं पर्ने जग्गाबाट २० फिटको बाटो पनि दिएको छु, तर वडाध्यक्षले मलाई गुण्डा भने, धाकधम्की दिएका छन्’ थापाले भने, ‘यो बाटोमा ६० लाख रकम खर्च भएको कुरा आइसकेको छ, यसको छानबिन हुनुपर्छ ।’
बुढीगंगा गाउँपालिका–१ का वडाध्यक्ष सोमप्रसाद काफ्लेले भने आफू ३० बर्षदेखि सोही बाटो हिंडेकोले जग्गाधनीसँग मौखिक सहमति लिएर बाटोमा बजेट लगानी गरेको बताए ।
उनले स्थानीय सरकारले लगानी गरेको बाटो थापाले भत्काएपछि आफुले प्रशासनलाई जानकारी गराएको प्रष्टिकरण दिए ।
View : 184
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved