विराटनगर । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक संगठनहरूद्वारा संयुक्त प्रेस वक्तव्य जारी गरी त्रिविले ‘मनोगत अभिष्ट’ पूरा गर्ने कार्य बन्द गर्न माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालयका विभिन्न प्राध्यापक संगठनहरूले विश्वविद्यालय प्रशासनले प्रचलित मान्यता विपरीत तथा सेवारत प्राध्यापकहरूको वृत्ति विकासमा असर पर्ने गरी प्रकाशित विज्ञापन र समग्र गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । प्राध्यापक संगठनहरूले हालका ‘तीनमहिने उपकुलपति’ को नेतृत्वमा विश्वविद्यालयका आवश्यकतालाई बेवास्ता गरी ’मनोगत अभिष्ट’ पूरा गर्ने कार्य भइरहेको आरोप लगाएका हुन् ।
वक्तव्यमा, त्रिभुवन विश्वविद्यालयका वर्तमान म्यादी पदाधिकारीले पेसागत संघका मागहरूलाई बेवास्ता गरेको, पेसागत विकासमा लगानी नगरेको, सेवारत प्राध्यापकहरूको नियमित बढुवाको कार्यविधिलाई समयानुकूल परिमार्जन नगरेको र मनमौजी रूपमा मौखिक आदेशका आधारमा कार्य गरेको उल्लेख छ । पूर्ण कार्यकालको उपकुलपति नियुक्ति पश्चात् नयाँ उपकुलपतिको योजना र दृष्टिकोणअनुसार अघि बढ्नुपर्ने उनीहरूको माग छ ।
प्रमुख माग र आरोपहरू
करार र आंशिक प्राध्यापकका समस्या : सम्पूर्ण विषयमा पिरामिडका आधारमा दरबन्दी थप गर्नुपर्ने, करार सेवामा कार्यरत प्राध्यापकहरूलाई अनुभवका आधारमा बढुवा र सेवा वर्षको आधारमा उपदानको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । विभिन्न समयमा आंशिक प्राध्यापकहरूसँग गरिएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न तथा श्रम शोषण बन्द गर्नसमेत जोड दिइएको छ ।
’फास्ट ट्रयाक’ को विरोध : विश्वविद्यालयले ’फास्ट ट्रयाक’ को नाममा लिखित परीक्षाबिना नै केवल अन्तर्वार्ताको आधारमा स्थायी गराउने कार्य तुरुन्त बन्द गर्नुपर्ने माग पनि वक्तव्यमा उल्लेख छ ।
बढुवाको असन्तुलन : गत चार वर्षदेखि प्राध्यापकहरूको आवधिक बढुवाको विज्ञापन नभएको र वर्तमान नेतृत्वले ’प्राकृतिक सिद्धान्तअनुरूप’ कार्य नगरी स्वार्थमा आधारित दरबन्दी सिर्जना गरेको आरोप लगाइएको छ । पिरामिड व्यवस्थालाई बेवास्ता गर्दै कतिपय विषयमा अत्यन्त न्यून संख्यामा दरबन्दी सिफारिस गरिएको र कतै दरबन्दी नै सिफारिस नगरिएकोमा तीव्र निन्दा व्यक्त गरिएको छ ।
परिणामको चेतावनी : प्राध्यापक संगठनहरूले आफ्ना आवधिक र आवश्यक माग तथा बढुवाको विद्यमान पिरामिड व्यवस्थालाई बेवास्ता गर्दै पदाधिकारीले आफ्नै स्वार्थ सिद्ध गर्ने प्रयत्न गरेमा त्यसबाट पर्न जाने परिणाम र परिस्थितिको जिम्मेवारी पदाधिकारीले नै बोक्नुपर्ने चेतावनी दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयका रिक्त दरबन्दीको पदपूर्ति निश्चित मापदण्ड, आधार र पिरामिड खुल्ने गरी प्राध्यापकको पदोन्नति एवम् स्थायी प्रक्रिया तत्काल अघि बढाउन जोडदार माग गरिएको छ । यसका लागि त्रिवि प्राध्यापकहरूका माग सम्बन्धमा कार्यकारी परिषद्द्वारा गठित समितिको प्रतिवेदनका आधारमा कार्यविधि संशोधन गर्नसमेत आग्रह गरिएको छ ।
प्रेस वक्तव्य जारी गर्ने प्राध्यापक संगठनका अध्यक्षहरूमा एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालका प्राडा गोविन्द सुवेदी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका प्राडा जगदीशचन्द्र भण्डारी, नेपाल राष्ट्रिय प्राध्यापक संगठन (वैद्य समूह) का प्राडा बालमुकुन्द रेग्मी, लोकतान्त्रिक प्राध्यापक संघका डा. उदयकिशोर तिवारी, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका जगत तिमिल्सिना र समाजवादी प्राध्यापक संघका डा पवनकुमार झा छन् ।
View : 328
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved