विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आउने भनेर जोडतोडले प्रचार गरिएको कोशी प्रदेश पर्यटन वर्ष उद्घाटन कार्यक्रममा अन्ततः ओली अनुपस्थित रहे । यसअघि पनि कोशीका धेरै कार्यक्रममा उनी आउने भनेर प्रचार गरिए पनि उनी आएका थिएनन् । यसपटक पनि उस्तै घटना दोहोरिएको छ ।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र वन वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले कार्यक्रममा सहभागिताका लागि आह्वान गरेको निम्तापत्रमै प्रधानमन्त्री ओलीले कार्यक्रमको उद्घाटन गर्ने उल्लेख थियो ।
यता मुख्यमन्त्री र प्रदेश सरकारको सबै संयन्त्रले प्रधानमन्त्री आउने भनेर प्रचार गरे पनि प्रधानमन्त्री कार्यालयले भने बुधबार प्रधानमन्त्री कोशी प्रदेश जाने कुनै कार्यक्रम नभएको प्रष्टीकरण दिएको छ ।
प्रधानमन्त्री ओलीको सचिवालयले कोशी प्रदेश सरकारले प्रधानमन्त्रीको समय नलिई प्रचार गरेको बताएको छ । यसअघि पनि पटकपटक प्रधानमन्त्री आउने भनेर आउनुभएन, बुधबार पनि त्यस्तै भयो किन ?
उद्घोषले प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंलाई सोधेको थियो । जवाफमा उनले प्रधानमन्त्रीको कोशी जाने कुनै कार्यक्रम तय नभएको बताएका हुन् ।
‘प्रधानमन्त्रीको पूर्व जाने कुनै कार्यक्रम नै तय भएको थिएन’, बजगाईंले भने ‘उहाँ (प्रधानमन्त्री) को पहिल्यै अर्घाखाँचीमा कार्यक्रम तय थियो । प्रधानमन्त्री आउने भनेर कसले किन प्रचार गर्यो भन्ने कुरा थाहा भएन ।’ प्रधानमन्त्रीको सचिवालयको भनाइप्रति कोशी प्रदेश सरकारले भने असहमति प्रकट गरेको छ ।
वन वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले भने ‘म आफै गएर प्रधानमन्त्रीज्यूलाई निम्ता गरेर समय ‘फिक्स’ गरेको हो । सचिवालयले के भन्यो मलाई थाहा भएन ।’
प्रधानमन्त्रीको सचिवालय र कोशी प्रदेश सरकारले आ–आफ्नै प्रकारले दाबी गरिरहँदा कसको दाबी सही हो ? बुधबारका सन्दर्भमा प्रदेश सरकारले ढाँटेर प्रधानमन्त्रीको नाम प्रचार गरेको हो कि आउँछु भन्ने वचन दिएर पनि नआउने प्रधानमन्त्रीले ढाँटे भन्ने विषय खुलेको छैन ।
यद्यपि मुलुकका कार्यकारी प्रमुख आउने भन्दै प्रचार गर्ने अनि अन्तिममा नआउने घटना पटकपटक दोहोरिनु ठीक नभएको सत्तारुढ एमालेकै नेताहरू बताउँछन् ।
‘प्रधानमन्त्री आउने भनेपछि सहभागिता बढ्छ भनेर प्रदेश सरकारले ढाँटेको हो कि प्रधानमन्त्री आफैले ढाँटेको हो कुरै बुझन् सकिएन,’ एमाले कोशीका एक नेताले भने ‘तर, एकपटक होइन, दुईपटक होइन ।
बारम्बार उस्तै घटना दोहोरिनु पटक्कै राम्रो भएन । यस्तो खेलाँची घातक कुरा हो ।’
प्रधानमन्त्री आउने भनेर प्रदेश सरकारले ठूलो प्रचार गरेको थियो । गएको असोज ११ मै कोशी प्रदेश सरकारले २०८२ लाई कोशी प्रदेश पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरेको थियो ।
लगत्तै मूल समारोह समिति, उपसिमितहरू गठन गरेर वन वातावरण तथा पर्यटन मन्त्रालयमा सचिवालय नै खडा गरिएको थियो ।
कोशी सरकारले पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्रीले गर्ने भनेर महिना दिनअघि नै प्रचार थालिसकेको थियो । मुख्यमन्त्री, मन्त्रीहरू, उनीहरुको सचिवालयका कर्मचारी, प्रदेशका सरकारी कर्मचारीहरूदेखि पर्यटन वर्ष मनाउन भनेर गठित जम्बो समितिका सबैले प्रधानमन्त्री आउने भन्दै आ–आफ्ना फेसबुकमार्फत प्रचार गरेका थिए ।
तर, मंगलबार साँझतिर मात्रै प्रधानमन्त्री आउन नसक्ने खबर आएको थियो ।
तेह्रथुम जिल्ला प्रशासनले पनि बुधबारको कार्यक्रममा प्रधानमन्त्री नआउने जानकारी मंगलबार साँझ मात्रै पाएको थियो ।
प्रशासन कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री आउने भनेरै सुरक्षा व्यवस्था चुस्त पार्न जंगलमै सिसी क्यामेरासमेत जडान गरिएको थियो । तर, अन्तिम समयमा फेरि पनि प्रधानमन्त्री यसअघि जस्तै कोशीको कार्यक्रममा अनुपस्थित रहे ।
यसअघि पनि प्रेस चौतारी नेपाल, एमाले मोरङको दशौं जिल्ला अधिवेशन, विराटनगरकै एउटा व्यापारिक महोत्सव, धरानको कार्यक्रमहरूमा प्रधानमन्त्री आउने भनेर प्रचार भएको थियो । तर, प्रधानमन्त्री ती कुनै पनि कार्यक्रममा उपस्थित भएका थिएनन् ।
ती सबै कार्यक्रममा अन्तिम समयमा प्रधानमन्त्री नआउने जानकारी गराइएको थियो ।
View : 209
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved