गोठगाउँ । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले पाठ्यक्रम निर्माण र परिमार्जनका बारेमा विषय समितिका अध्यक्ष्ँहरूसँग वृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रीय कार्यालय गोठगाउँमा बिहीबार आयोजित कार्यक्रममा उपकुलपति प्राडा बिजुकुमार थपलियाले पाठ्यक्रम निर्माण र परिमार्जनका लागि विश्वविद्यालयले निर्धारण गरेको प्राथमिकताबारे जानकारी गराए ।
‘अब पाठ्यक्रममा स्थानीय ज्ञान र अनुभवलाई समेट्नु पर्छ’ उनले भने– ‘त्यसलाई आधुनिक शिक्षासँग जोड्न सकियो भने मात्र दक्ष शैक्षिक जनशक्तिको विदेश पलायनलाई रोक्न सकिन्छ ।’
दिगो विकासको लक्ष्यलाई ध्यानमा राख्दै पाठ्यक्रम निर्माण तथा परिमार्जन गरेर अनलाइन माध्यमको पठनपाठनलाई समेत समेट्दै जानु पर्नेमा उनले जोड दिए ।
गुणस्तरीय पाठ्यक्रमको निर्माणका साथै परीक्षा र मूल्याङ्कन प्रणालीमा समेत योगदान पुर्याउने भएकाले विश्वविद्यालय शिक्षामा विषय समितिको जिम्मेवारी महत्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रमका मुख्यवक्ता काठमाडौं विश्वविद्यालय स्कूल एजुकेसनका डीन प्राडा बालचन्द्र लुइँटेलले ‘उच्च शिक्षामा पाठ्यक्रम विकास’ विषयक पावरप्वाइन्ट प्रस्तुतिमार्फत् पाठ्यक्रम निर्माण र परिमार्जन प्रक्रियाकाबारे प्रकाश पारे । पाठ्ययोजना, संरचना, कार्यान्वयन र मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित बनाएर विद्यार्थीको आवश्यक ज्ञान, सीप विकास गर्नु पर्नेमा उनले जोड दिए ।
‘शैक्षिक उद्देश्य निर्धारण गरेर पाठ्यवस्तु, शिक्षण विधि र प्रविधिको छनोट गर्नुपर्छ’ उनले भने– ‘पाठ्यक्रम निर्माण गर्दा गुणस्तरको सुनिश्चितता र आवश्यकतालाई समेत ध्यान दिनु जरूरी छ ।
उच्च शिक्षाको पाठ्यक्रम निर्माण बहुआयामिक प्रक्रिया भएको बताउँदै उनले अबको पाठ्यक्रममा दिगो विकासको लक्ष्य, डिजिटल साक्षरता र नवप्रवर्तनलाई समेत उचित स्थान दिनु पर्ने भनाइ राखे ।
अबको उच्च शिक्षा अनुसन्धानमा आधारित तथा उद्योग–व्यवसाय र समुदायमैत्री हुनु पर्ने बताउँदै उनले त्यसले विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउनु पर्ने आवश्यकता औँल्याए ।
त्यसैगरी योजना महाशाखाका प्रमुख डा. कोमलप्रसाद दुलालले विश्वविद्यालय अनुदान आयोगको रोजगार बजारकेन्द्रित कार्यक्रम (एलएमडीपी) बारेमा प्रकाश पार्दै पाठ्यक्रम निर्माणमा त्यसलाई समेत कार्यान्वयन गर्दै लैजानु पर्ने बताए ।
पाठ्यक्रम अनुसन्धान तथा विकास केन्द्रका कार्यकारी निर्देशक प्राडा मेदिनीप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राडा मीनराज ढकालले सहभागीहरूको स्वागत गरेका थिए ।
संकाय डीनहरू र पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त एवम् पत्रकारिता तथा आमसञ्चार विषय समितिका अध्यक्ष डा. सुरेश आचार्यका साथै विश्वविद्यालयको कला, कानून तथा शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र र इञ्जिनियरिङ संकायअन्तर्गतका करिब दुई दर्जन विषय समितिका अध्यक्षहरूको सहभागिता रहेको विश्वविद्यालयले जनाएको छ ।
View : 333
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved