Biratnagar, Morang, Nepal
२१ चैत २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

श्रम संसार प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया

१८ चैत २०८१, सोमवार

विराटनगर । श्रम बजारको सूचना प्रणालीबारे जानकारी दिने प्लेटफर्मका रुपमा स्थापना गरिएको श्रम संसार वेव पोर्टल प्रवर्द्धन सम्बन्धी विराटनगरमा छलफल गरिएको छ । 

रोजगारी र उद्यमशिलताका अवसरहरूबारे जानकारी प्रदान गर्ने उक्त वेव पोर्टलको प्रवद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना स्टेप अफ परियोजना स्विस कन्ट्याक्टको सहकार्यमा आइतबार अन्तरक्रिया गरिएको जनाइएको छ । 

उक्त वेव पोर्टलमा सार्वजनिक र निजी श्रम बजारका निकायहरू, प्रशिक्षण वा तालिम प्रदायक, रोजगारी सेवा प्रदायक, रोजगारी प्रदायक आवद्ध छन् । 

महासंघ समिति सदस्य तथा महिला उद्यमी विकास समिति सभापति सरु केसीको अध्यक्षतामा भएको कार्यक्रममा रोजगारीका सीमित अवसरका कारण वैदेशिक रोजगारीका लागि युवा जनशक्तिको पलायनको समस्या बृद्धि भएको सरोकारवालाहरूले बताएका थिए । 

सभापति केसीले यस्तो समस्याबाट बाहिर निस्किन स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन गरी रोजगारी सिर्जना गर्नु आवश्यक रहेको बताइन् । 

कार्यक्रममा स्टेप अफ प्रोजेक्ट स्विस कन्ट्याक्टका संयोजक गणेश दाहालले परियोजनाले हालसम्म सञ्चालन गरेका क्रियाकलापको जानकारी गराएका थिए । त्यस्तै परियोजनाका अधिकृत युवराज बास्तोलाले श्रम संसार पोर्टलमा दर्ता हुने प्रक्रियाको बारेमा थप जानकारी गराएका थिए ।

छलफल कार्यक्रममा प्रगति टेक्सटाइलका प्रदीप निरौला, आमाको चिनोका सञ्चालक सुनिता छाराहाङसहित जीवन विकास समाजका प्रतिनिधिहरूले श्रम संसार वेव पोर्टलमा दर्ताका लागि गरिने विभिन्न प्रक्रियाहरूको बारेमा छलफलमा सहभागी भएका थिए ।  

मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेका विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधि, व्यावसायिक संघसंस्थाका प्रतिनिधि लगायत महिला उद्यमी, जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू समेतको सहभागिता रहेको थियो ।

View : 73

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved