विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका अध्यक्षसँगै शिकार खेल्न गएका एक युवकको शंकास्पद मृत्यु भएकाे पाइएको छ । एक महिनाअघिको उक्त घटना गुपचुप राखिएको र पीडित परिवारलाई राजनीतिक दवाव दिइएका कारण मृतक युवकका परिवार नै विस्थापित हुनुपरेको छ ।
नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित पाँचथर मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमसँग गत मंसिर २१ गते सिकार खेल्न गएका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएको घटना गुपचुप रहेको र यही बीचमा उल्टै मृतकका परिवार गाउँबाटै विस्थापित बनेका हुन् ।
यो घटनाबारे प्रहरीमा उजुरी नगर्न भन्दै गाउँपालिका अध्यक्ष माखिमसहित माओवादीका माथिल्लो तहका नेताहरुले तीव्र दबाब दिएपछि युवकको परिवार मिक्लाजुङ–७ लिम्बाबाट विस्थापित भएको उनका छिमेकीहरुले जानकारी दिएका छन् ।
स्थानीयबासीले दिएको जानकारी अनुसार तेजबहादुर गत मंसिर २१ मा अध्यक्ष माखिमसँग सिकार खेल्न जैसीभीर जंगल गएका थिए । करिब १० जनाको समूहले दुईवटा घोरलसमेत मारेको थियो ।
‘मारेका घोरल कन्याटारमा ल्याएर अध्यक्ष माखिमसहित केही व्यक्तिले इमर्जेन्सी कामका लागि जानुपर्ने भयो, बनाएर खानू भनेर हामीलाई दिएका थिए’, स्थानीयबासीले भनेका छन् ‘ उनीहरूले तेजबहादुरको शव मोरङको उर्लाबारीस्थित मंगलबारे ट्रमा सेन्टर पुर्याई हतारहतार पोस्टमार्टम र अन्त्येष्टि गर्न लगाएका थिए ।’
परिवारका सदस्यले मृत्युको खबर भोलिपल्टमात्रै पाएको र मृत्युबारे सोध्दा पालिका अध्यक्ष माखिमसहितका व्यक्तिहरुले विभिन्न कारण देखाएका थिए । ‘कसैले के कारण देखाए, कसैले के पूरै शंकास्पद देखिएपछि उजुरी गर्न खोजेको थियौं तर अध्यक्षसहितका माओवादीका नेताहरुले फकाएर, धम्क्याएर रोके’ युवकका छिमेकीहरुले भनेका छन् ।
मृतककी दिदी विष्णुमायाका अनुसार तेजबहादुरका साथी राजकुमार तामाङले भोलिपल्ट बिहान ७ बजे फोन गरेर जंगलमा गोलिया काट्न जाँदा भाइ लडेर घाइते भएको छ, उपचार गर्न ल्याउँदै छौं भनेका थिए ।
झापाको बैगुनधुरा घर भएकी तेजबहादुरकी दिदी विष्णुमायाले भनिन्, ‘उनैले ट्रमा सेन्टरमा बोलाएपछि हतारहतार पुगें । त्यहाँ पुग्दा भाइ बितिसकेकाले पोस्टमार्टम गर्न लागिएको भने ।’
उनीहरूले नै आफूलाई प्रहरी कार्यालय लगेर सद्गतका लागि निवेदन दिन लगाएको विष्णुमायाले बताइन् । ट्रमा सेन्टर ल्याइपुर्याउँदा नै उनको मृत्यु भइसकेको अस्पतालका डाक्टर प्रोमिस बुढाथोकी बताउँछन् ।
मिक्लाजुङ–७ का वडा सदस्य सिंहराज तामाङ दाहसंस्कार गरिसक्दासम्म घटनाबारे आफूलाई थाहै नपाएको बताउँछन् ।
गाउँपालिका अध्यक्ष अध्यक्ष माखिमले भने घटनाबारे आफूलाई जानकारी नै नभएको बताएका छन् ।
तेजबहादुरलाई अरिंगालले टोकेर बिरामी भएको भनेर आफूलाई खबर गरिएको उनको भनाइ छ । तर, प्रत्यक्षदर्शीहरुले भने तेजबहादुर गाउँपालिका अध्यक्षसँग सिकार खेल्न जाँदै गरेको आफूहरुले देखेको बताएका छन् ।
यो घटनामा जिल्ला प्रशासन र जिल्ला प्रहरी नेतृत्वबीच नै असमझदारी उत्पन्न भएको छ ।
प्रशासनका अनुसार पाँचथर प्रहरीले माओवादी नेताहरुको दबाबमा उजुरी दर्ता गर्न नमानेका कारण अहिलेसम्म घटना गुपचुप जस्तै रहेको हो ।
View : 430
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved