सशस्त्र प्रहरीले ट्रकसहित बरामद गरेको गाँजा ।
विराटनगर । सशस्त्र प्रहरीले झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका-४ स्थित मेची राजमार्गबाट शुक्रबार १६ सय ३६ किलो गाँजा सहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा धनकुटा जिल्ला शहिदभूमि नगरपालिका-४ का महेश राई र इलाम माईजोगाई गाउँपालिका-२ का ३७ वर्षीय गंगाबहादुर बस्नेत छन् । इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १-०२-००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा स.प्र.बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयबाट खटिएको टोलीले चेकजाँच गर्दा ट्रकसहित उनीहरू पक्राउ परेका हुन् ।
स.प्र.उ. बिक्रम होमागाईंको कमाण्डमा खटिएको विशेष अनुगमन टोली र नं. २ गण झापा मातहत सुरक्षा बेस टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिएको हो । साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाइल सेट समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 211
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved