जब मानिस प्रगतिशील चिन्तन र चेतनाविहीन भएर सिद्धान्तबाट विचलित बन्छ, तब ऊ स्वार्थी र व्यक्तिगत लाभमा लिप्त हुन्छ । यस्तो स्वार्थलम्पटताले नीति, नैतिकता, सिद्धान्त तथा सामाजिक र संस्थागत मूल्य मान्यताहरूबाट मानिसलाई विचलित बनाई व्यक्तिवादी भूत सवार गराउँछ । व्यक्तिवादले व्यक्ति पूजालाई समाजको मूल कडी बनाएर हरेक क्षेत्रमा दासहरूको झुण्ड खडा गर्छ ।
अनैतिकताको नशामा लठ्ठिएका दासहरू आफ्ना स्वामी तथा महाराजको देवत्वकरणमा लिप्त रहन्छन् । चेतनाको खडेरीले रूखिएका दासताको सञ्जालले ठीक–बेठीक केही जान्दैन, केवल बेइमानी जान्दछ । खाऊ, पिऊ र मोज गर भन्ने मानसिकता र मालिकको आदेश मात्र उनीहरूका लागि सर्वोपरि हुन्छ । मालिकको आज्ञापालक बनेर लठैत पाराको काम तमाम गर्नु र खानका लागि मात्र बाँच्नु दासहरूको मूल विशेषता हो ।
हाम्रो विद्यमान राजनीति दासतापूर्ण परिवेशको गोलचक्करमा बन्धक छ । आवरण लोकतान्त्रिक गणतन्त्रको छ, तर गणतन्त्रको रसदपानमा संस्थालाई गौण बनाई व्यक्ति प्रधान हुने परिवेशले घर जमाएको छ । व्यक्तिप्रधानताको कालो पर्दाले दलीय मूल्यमान्यता र नैतिक आचरणलाई धोती लगाउँदै सरोकारवाला तमाम क्षेत्रमा बज्रस्वाँठ प्रवृत्तिले कब्जा गरेको छ ।
ज्ञानले पनि नजान्ने, भनेको पनि नमान्ने र जान्न पनि नचाहने शून्यतावादी जमात दलीय शीर्षस्थहरूको विश्वासपात्र बनेर राज्यका आम स्रोतसाधनको दोहनमा जनतालाई कुशासनको पञ्चामृतले सिञ्चन गरिरहेको छ । आश्वासनको दूषित पञ्चामृतको भरमा बाँच्नु जनताको दैनिकी बनेको छ । तर यति हुँदा पनि दासताको बन्धनमा जकडिएको सामाजिक चेतनाले दीक्षित जनचेतना अनेकौं भ्रमपूर्ण स्वार्थको गोलचक्करमा रुमलिएर सही र सत्य सवालमा चिन्तनपूर्ण विद्रोह उकेल्न अझै सकिरहेको छैन ।
यतिखेर पुराना तथा लामो अभ्यासमा पारङ्गत मानिएका ठूला राजनीतिक दलहरू बज्रस्वा“ठ प्रवृत्तिको ऐंजेरूले झा“गिएका छन् । दलीय शीर्षस्थहरूले दलको मूल गन्तव्यमा ताल्चा लगाएर राजनीतिक दलहरूलाई सिद्धान्तबाट विचलित र कार्यभारबाट पथविमुख गराएका छन् । विचलित मानसिकता र पथविमुखताले जनतालाई भ्रष्टाचार, दुराचार र अत्याचार लगायतका अनेकौं कुशासनको उपहार पिएर बा“च्न बाध्य बनाएको छ ।
राजनीतिक दलहरू विधि शून्यता र गन्तव्य शून्यतामा बन्धक बन्दा दलहरूका तहगत सांगठनिक सञ्जालहरू अनैतिकता, अवाञ्छितता र अपराधको संगठित तथा संरक्षित संगमस्थल बन्न पुगेका छन् । जनताको बीचबाट जनताकै नाना, माना र छानामा हुर्किएका जिम्मेवार राजनीतिक दलहरूमा घर जमाएको यस्तो कहालीलाग्दो अवस्थाले उत्पन्न निराशा, कुण्ठा र आक्रोशले विक्षिप्त जनमानसिकता अञ्जानवश प्रतिगमनकारीहरूको गोटी बन्न पुगेको छ ।
देश समस्या नै समस्याको ज्वालामा दन्किरहेको छ । सहकारी पीडित, मिटरब्याज पीडित, बैंक तथा वित्तीय संस्थाको गुण्डागर्दीले पीडित निम्न तथा मध्यमवर्गीय जनता कोही आत्महत्या जस्तो गलत बाटोको सहारा लिन बाध्य छन् । कोही राजकीय तथा गैर–राजकीय साहू महाजनका कारण आफ्नो भएभरको सम्पत्ति साहू महाजनलाई सुम्पी सुकुम्बासीको लाममा लामबद्ध हु“दैछन् ।
बजारमा महँगी र कालोबजारीले एकल साम्राज्य जमाएको छ । गाउँ–गाउँका सिंहदरबारमा आसीन छोटे राजाहरूमा हावी शासकीय भूत र पथभ्रष्टताले गणतन्त्रको चीरहरण गरिरहेको छ । तर जनताको घाउमा नुनचुक दलेर मोजमस्तीको जीवन जिउन पल्केका यहाँका निरोहरू गणतन्त्रको रामनामीमा आफू र आफ्ना झोलेझ्याम्टे तथा सीमित अभिजात्य वर्गको सेवामा लिप्त भएर देशलाई लुटको र दललाई गुटको स्वर्ग बनाएर लोककल्याणकारिताको गीतमा नाचिरहेका छन् ।
एउटा बज्रस्वाँठ शासकले देश, जनता र समाजलाई मात्र विषाक्त बनाउँदैन, आफू आसीन धरातलका सबै मूल्यमान्यतालाई समेत धराशायी बनाउँछ । यसको नजीर खोज्न अन्त जानु पर्दैन, विद्यमान सत्ता घटक दलका सम्मानित प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षको गैरजिम्मेवार व्यवहार र अभिव्यक्तिलाई लिए पुग्छ ।
उहाँमा हावी उन्मत्त प्रवृत्ति र सो प्रवृत्तिलाई मलजल गर्ने वरिष्ठ तथा कनिष्ठ नवदासहरूको लैबरी नाचले एमालेलाई राजनीतिक दलको रूपमा नभएर स्वार्थलम्पट अराजक नर्तक–नर्तकीहरूको भीडमा रूपान्तरण गरेको छ । नर्तक–नर्तकीको अराजक नाचमा लाखौंलाख भीडले भरिभराउ हुन्छ, तर त्यसले समाजलाई भने कहिल्यै सकारात्मक परिणाम दिन सक्दैन ।
आज एमालेको अवस्था त्यस्तै छ । एमालेमा भीड छ । सो भीडले पार्टीलाई राष्ट्रिय राजनीतिको मूल प्रवाह बनाएको पनि छ । तर मूल प्रवाहमा धमिलो पानी मात्र बगिहेको छ, जुन संक्रमणको प्रतीक हो ।
सत्तामा आसीन एउटा जिम्मेवार राजनीतिक दल एमाले, जसको का“धमा अनगिन्ती राष्ट्रिय कार्यभारहरू छन् । समृद्धि, सुशासनको उन्नत बिन्दुमार्फत समाजवाद अवतरणको गोरेटोलाई फराकिलो बनाउँदै जानुपर्ने कठिन चुनौतीहरू छन् ।
राष्ट्रकै चुनौतीको रूपमा खडा हुँदै गएको राजनीतिमा अपराधीकरण, माफियाकरण र भ्रष्टीकरणलाई समूल नष्ट गर्न आफैं अनुकरणीय बनेर अन्तरजीवनलाई शुद्धीकरण गर्ने स्वर्णिम अवसर पनि एमालेलाई नै छ । तर एमालेले न त राष्ट्रिय समस्यालाई बुद्धिमत्तापूर्वक समाधान नै गर्न सकेको छ, न त अन्तरजीवनको शुद्धीकरण नै । उसका सामु खडा भएका चुनौतीलाई बालकोट पुस्तकालयमा प्रतिपादित झोलेवादले निर्मलीकरण गर्दै अवसरलाई बाँदरको हातमा नरिवल बनाएको छ ।
आजको एमाले जबज (जनताको बहुदलीय जनवाद) बाट होइन, ‘बा पथ’बाट निर्देशित छ । बा पथले झोलेवादको नव सिद्धान्त प्रतिपादन गरेर सो सिद्धान्तलाई व्यवहारमा उतार्न आफ्ना नन्दीभृङ्गीहरूलाई विशेष फर्मान जारी गर्दै सो फर्मानहरूले सामाजिक सञ्जालहरू भरिभराउ छन् ।
झोलेवादको पक्षपोषणमा दलको नीतिगत तहले न्वारनदेखिको बल लगाएको छ । नीति, सिद्धान्त, विचार र आलोचनात्मक चेत शून्य एउटा जमात झोलेवादको पथमार्गी बनेर कथित वैचारिकताको लिंडे बहस उत्रिएको छ ।
यही हो त एमालेको गन्तव्य ? एमालेका मित्रहरूमा आलोचनात्मक चेतमा खडेरी लागेकै हो त ? प्रश्न अनुत्तरित छन् । झोलेवाद हाम्रो राजनीतिमा योजनाबद्ध तवरमा जबर्जस्त भित्र्याइएको एउटा प्रवृत्ति हो । यसलाई ओली कमरेडले संस्थागत गर्नुभएको छ ।
झोलेवादले समग्रता जान्दैन, ’म’ जान्दछ, ’मेरो मालिक’ जान्दछ । बेइमानको पूजा गर्छ, इमानको खेदो खन्छ । भ्रष्टाचारीको जयकार गर्छ, अनैतिकताको माला लगाउँछ, नैतिकतालाई बन्धक बनाउँछ । निहित स्वार्थ केन्द्रित तथा अपराध केन्द्रित पाठशालामा दीक्षित झोलेवादको नीति, सिद्धान्त र चिन्तन भनेको देवत्वकरण–राक्षसीकरण मात्र हो । सोही चिन्तनले ‘केपी बा आई लभ यू’ भन्ने गीत घन्काउँछ । अनि उहाँ बाँसुरीको धुनमा छमछम नाचिरहनुभएको छ, तर देश भने जलिरहेको छ ।
पार्टी ओरालो यात्रामा छ । विमानस्थल र बालकोट मात्र जानेको नर्तक–नर्तकीहरूको अराजक भीडले पार्टीको भिरालो यात्रा रोक्न सक्ने अवस्था पनि देखिंदैन । राजनीतिमा योभन्दा ठूलो अभिशाप केही होला ?
View : 85
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved