सुनसरी । बजेट अभावले हुलाकी राजमार्गको पूर्वी खण्डमा पर्ने पुल निर्माणको काम ठप्प भएको छ । तराईका भित्री बस्तीहरुमा यातायातको पहुँच पु¥याएर गाउँवस्तीको मुहार फेर्न निर्माण शुरु गरिएको राजमार्गमा निर्माणाधीन पुलले गति लिन नसक्दा सडक पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।
हुलाकी सडक सञ्चालनमा आए झापाको मेची पुलबाट ९२ किलोमिटरमा कोशी प्रदेशको राजधानी विराटनगर पुगिन्छ । तर उक्त खण्डमा निर्माणधीन पाँचवटा पुलका निर्माण कार्य लामो समयसम्म पूरा नहुँदा यातायात सञ्चालन हुन सकेको छैन ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने कन्काई नदीको निर्माणाधीन पुल बनाउन शुरु गरिएको १३ बर्ष बितिसकेको छ । नौ बर्षअघिनै बनिसक्नु पर्ने पुलको अहिलेसम्म ५५ प्रतिशत मात्र काम भएको बताइएको छ ।
हुलाकी राजमार्गको मेची पुलदेखि विराटनगरसम्म ९२ किलोमिटरको वीचमा पर्ने कन्काईलगायत पाँचवटा पुल बन्न बाँकी छन् । यी पुलहरु लामो समयसम्म निर्माण सम्पन्न नहुँदा सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ ।
बजेट अभावले निर्माण चरणको अन्तिम समयमा आएर अधिकांश पुलको काम प्रभावित भएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासले जानकारी दिए ।
हुलाकी राजमार्ग अन्तर्गत मेची–रतुवा सडक खण्डमा पर्ने भुतनी खोलाको पुल निर्माण सुरु भएको आठ बर्ष भैसक्दा पनि काम सकिएको छैन ।
उक्त पुलको भौतिक प्रगति ८ बर्षमा ९० प्रतिशत मात्र छ । सोही खण्डमा पर्ने बिरिङ पुलको निर्माण कार्यसमेत अन्तिम समयमा आएर रोकिएको छ ।
लामा मैनाचुली जेभीले ठेक्का पाएको उक्त सडक निर्माण सुरु भएको १२ बर्षमा ९५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
सानो माइ खोला पुलको अवस्था पनि उस्तै छ । लामा बाम्ती जेभीले नै ठेक्का पाएको मेची–रतुवा खण्डको लेहेरा खोला पुलसमेत अलपत्र छ ।
४ करोड ६४ लाख ४१ हजार १ सय ६० रुपैयाँमा ठेक्का लागेको सो पुल २०७३ असारमा निर्माण सुरु भएर २०७५ असारमा सम्पन्न भैसक्नुपर्नेमा अहिलेसम्म ९० प्रतिशत मात्र काम सकिएको आयोजना कार्यालय इटहरीले जनाएको छ ।
View : 132
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved