धनकुटा । ऋण तिर्न नसकेर उठिवास हुन लागेका धनकुटा नगर क्षेत्रका अल्पसंख्यक आठपहरियाहरूको ऋण धनकुटा नगरपालिकाले तिरिदिने भएको छ ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले समस्यामा परेका २९८ परिवारको ऋण नगरपालिकाले तिर्ने जानकारी दिएका छन् ।
धनकुटामा आयोजित एकल जातिहरूको सांस्कृतिक पहिचान सम्बन्धी कार्यक्रममा बोल्दै मेयर तामाङले चालु आर्थिक वर्षमा ४३ परिवारको ऋण नगरपालिकाले तिर्ने जानकारी दिए ।
बा“कीको ऋण आगामी आर्थिक वर्ष तिरिने मेयर तामाङको भनाई छ । धनकुटा नगर क्षेत्रलाई आठपहरिया जातिको उद्गम स्थल मानिन्छ । यहाँ ८ हजार भन्दा बढी आठपहरियाको बसोवास छ ।
घरपरिवार चलाउन ऋण लिएर तिर्न नसक्दा घरजग्गा गुमाएर सुकुम्बासी हुने अवस्थामा पुगेका उनीहरूको प्रति परिवार एक लाखसम्मको ऋण नगरपालिकाले तिर्न लागेको हो ।
सीमान्तकृत आठपहरिया समुदायको उत्थानका लागि विभिन्न गतिविधि गर्दै आएको नगरपालिकाले यसअघि उनीहरूको घरमा टिनको छानो लगाइदिएको छ ।
धनकुटाको बिहीबारे हटियामा आठपहरिया जातिको संग्रहालय पनि निर्माण गरिएको छ ।
View : 121
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved