सप्तकोशी विकास बैंक ठगी प्रकरण :
विराटनगर । विराटनगर महानगरपालिका–७ मेनरोडस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयमा रेमिट्यान्सतर्फको ‘पार्किङ एकाउण्ट’ बाट १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ हिनामिना गरेको घटनामा उक्त बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदी दोषी ठहर भएका छन् ।
उच्च अदालत विराटनगरको बाणिज्य इजलासले बिहीबार सुवेदीलाई उक्त कसुरमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ५ करोड बढी बिगो असुल गर्ने फैसला गरेको हो ।
उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले २०८१ माघ १० गते नै सुवेदीको कसुर ठहर हुने फैसला गरेको थियो । तर सजाय भने तोक्न बाँकी थियो ।
उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टले ३ बर्षभन्दा बढी कैद सजाय हुने मुद्दाको सजाय निर्धारण गर्दा अलग्गै पेशी तोकिने व्यवस्था अनुसार बिहीबार सजाय निधारणको फैसला भएको जानकारी दिए ।
‘तत्कालिन सीईओ सुवेदीसहित तीनजनामाथि कसुर कायम भइसकेको थियो, कानुनमा ३ बर्ष बढी कैद सजाय भएको मुद्दामा अलग्गै पेशीबाट सजाय निर्धारण हुने भएकोले आज फैसला भएको हो’ उनले भने, ‘मुद्दाका प्रतिवादी सुवेदीसहित तीनजना विरुद्ध ४ बर्ष कैद र जनही ५ करोड बढीको बिगो असुलको फैसला भएको छ ।’
बैंकको पार्किङ एकाउन्टबाट तत्कालिन सीईओ सुवेदीले वर्षौंदेखि रकम हिनामिना गरिरहेको खुलेपछि उनकै नातेदार रहेका बैंकका जेनेरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई प्रारम्भिक अनुसन्धानका लागि २०७८ मंसिर १५ मा पक्राउ परेका थिए ।
उक्त हिनामिनामा तत्कालिन सीईओ सुवेदी भने २०७८ पुस १४ साँझ पक्राउ परेका थिए ।
बैंकबाट गायव पारिएको रकममध्ये अधिकांश रकम सीईओ सुवेदीकै आफन्तको खातामा रहेको पाइएपछि उनी पक्राउ परेका थिए । सवैभन्दा धेरै रकम सुवेदीकी ठूलो बुवाकी छोरी झापाको गौरादह ठेगाना खुलाइएकी वविता सुवेदीको नाममा १४ करोड रुपैयाँ निकालेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
वविताको नाममा रहेका ९९९००००१५००१५ नम्बरको बचत खातामा ५ वर्षदेखि (सन् २०१६ देखि २०२१ अगस्त २ सम्म) मा १४ करोड रुपैयाँ बढी रकम जम्मा भएको देखिएपछि सुवेदीमाथि उक्त बैंककै एक कर्मचारीको सहयोगमा राष्ट्र बैंकले समेत अनुसन्धान अघि बढाएको थियो ।
बैंकको रकममा अनियमितता भएको आशंका लागेपछि सोही बैंकका कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा राष्ट्र बैंकले पत्राचार गरेपछि मात्रै बैंकको रकम हिनामिना भएको सञ्चालक समितिले थाहा पाएको थियो ।
View : 420
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved