Biratnagar, Morang, Nepal
३ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

खनजोत नगरी मकै खेती गर्न सिकाइँदै

उद्‌घोष सम्वाददाता
२१ भदौ २०८१, शुक्रवार

विराटनगर । मकै खेतीका लागि खनजोत गर्नुपर्ने अनिवार्य हो । तर जीवन विकास समाज खनजोत बिना नै मकै रोप्ने तयारीमा लागेको छ ।

भारतको पश्चिम बंगालमा प्रयोग भइरहेको सो प्रविधि मकै खेतीका लागि जीवन विकासले नेपालमा पहिलो पटक प्रयोग गर्न लागेको हो । सिमिट, उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश, जीवन विकास समाज कम्पनीको समन्वयमा रूपान्तर परियोजना अन्तरगत सो कार्यक्रम गरिएको हो । 

धानबाली उठाइसकेपछि परीक्षणको रुपमा मोरङका विभिन्न पालिकामा खनजोत बिना नै मकैखेती गर्ने जीवन विकास समाज मुनाफा वितरण नगर्ने कम्पनीका कार्यकारी निर्देशक कुलमणि तिम्सिनाले जानकारी दिए ।

खनजोत नगरी गरिने मकै खेती (जिरो टिलेज मेज क्यालिब्रेसन)ले खेतीको लागत घटाउने र उत्पादन बढाउने छ । ‘यो प्रविधिको प्रयोग गर्दा खेती गर्नुअघि खनजोत गर्नु पर्दैन, लगाउन सहज पनि छ,’ उनले भने, ‘मोरङको धनपालथान गाउँपालिका मकै खेती हुने क्षेत्र हो, यो वर्ष विभिन्न स्थानमा परीक्षणका रुपमा यो प्रविधिबाट खेती गर्छौं ।’ 

खनजोत बिनै मकै खेती गर्नका लागि जीवन विकासले प्राविधिकलाई दुई दिने तालिम दिंदैछ । तालिममा प्राविधिकसहित २५ जना सहभागी छन् । नेपालका प्राविधिकलाई तालिम दिनका लागि भारतको पश्चिम बंगाल कुच बिहारको सतिश सतमाइल क्लबका प्राविधिक आएका छन् ।

तालिममा कृषि अनुसन्धान केन्द्र तरहरा, जीवन विकास समाज,  नेपाल बहुद्देश्यीय सहकारी संस्था झापा,  सगुन कृषि सहकारी, धनपालथान गाउँपालिका, उद्योग कृषि तथा सहकारी मन्त्रालयका कर्मचारी सहभागी छन् । 

शून्य खनजोत प्रविधि मार्फत खेती गर्दा लागत कम र उत्पादन बढी हुने उद्योग कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेलले बताए ।

उक्त नयाँ प्रविधिको अवलम्बन तथा कार्यान्वयन गर्दै आगामी दिनहरूमा शून्य खनजोत प्रविधि बिस्तार गर्दै अगाडि बढ्ने जीवन विकास समाज मुनाफा वितरण नगर्ने कम्पनीका अध्यक्ष अजयकुमार  मण्डलले बताए ।

View : 202

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved