Biratnagar, Morang, Nepal
३ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले महानगर अधिवेशन :

उपसचिवमा कलाको सशक्त दाबी, भन्छिन्– ‘सवैको मन जितेर अघि बढ्छु’

उद्‌घोष सम्वाददाता
२ वैशाख २०८२, मङ्गलवार

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन सुरु हुँदा नेतृत्व चयनको विषय समेत पेचिलो बन्दै गएको छ । 

अध्यक्षसहित दुई प्यानल निर्वाचन हुने निश्चित भएको बेला महिला उपसचिव पदमा कला डाँगीले आफ्नो सशक्त दाबी प्रस्तुत गरेकी छन् ।

उनी पार्टी संस्थापन पक्षबाट उपसचिव पदको उम्मेदवार बनेकी हुन् । तर प्राविधिक रुपमा एउटा समुहमा रहनै पर्ने अवस्था बनेपनि सवैको मन जितेर अघि बढ्ने बताइन् । 

उनले २०६० सालमा महेन्द्र मोरङ क्याम्पसबाट एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेको बताइन् । 

उनी विद्यार्थी राजनीतिबाट अघि बढ्दै पार्टीभित्रको श्रमिक र व्यावसायिक संगठनहरूको नेतृत्वमा पुगेकी हुन् । 

राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेश कमिटीको अध्यक्ष रहेकी डाँगी सामाजिक कार्यमा समेत उतिक्कै रुची राख्ने र सवैको सहयोगी पात्रका रुपमा रहेको उनी निकटहरू बताउँछन् । 

आफ्नो पेशागत संगठनका साथै मजदुरको नेतृत्वदायी संगठन जिफन्टमा समेत काम गर्दै आएकी उपसचिवकी उम्मेदवार डाँगीले आफुलाई सवैले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

राजनीतिक दलभित्र घट्दै गएको महिला नेतृत्वलाई परिपूर्ति गर्न समेत आफुले उपसचिव पदमा सशक्त दाबीसहित उम्मेदवार बनेर अघि बढेको बताइन् । 

‘मैले कसैको मन दुखाएजस्तो लाग्दैन, राजनीतिमा एउटा बाध्यताले एउटा न एउटा समुहमा नाम आउनु स्वभाविक छ तर सवैको सहयोग पाउनेमा विश्वस्त छु’ उनले भनिन्, ‘सवैले विश्वास गर्नुहुनेछ, मैले पनि सकेसम्म सवैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाइसकेको छु, अघि बढ्न खोज्ने महिलालाई नेतृत्वमा स्थापित गराउन पार्टीका सवै नेता र प्रतिनिधिहरूले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।’ 

महानगर अधिवेशनमा विराटनगर महानगरपालिकाको १९ वटा वडाबाट प्रत्यक्ष चयन भएका २२०, १६ जनसंगठनका ७९ जना र मनोनित १५ जना गरी कुल ३१४ जना प्रतिनिधिले मतदान गर्नेछन् । 

मंगलबार सुरु भएको महानगर अधिवेशनको उद्घाटन एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले गरेका छन् । 

मंगलबार अपरान्ह नै बन्दसत्रको प्रक्रिया अघि बढेपनि प्रतिनिधी कार्ड र मनोनित प्रतिनिधिको नामावली लगायतका विषयमा विवाद हुँदा बुधबार विहान ७ बजेसम्मका लागि अधिवेशनको बन्दसत्र सारिएको छ ।

View : 213

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved