Biratnagar, Morang, Nepal
२६ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

टीएमजेमा फुलेन गुराँस, मुख्यमन्त्रीलाई तनाव

उद्‌घोष सम्वाददाता
२६ चैत २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सरकारले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ मनाउने निर्णय गर्नेबेलामा आफ्नो टिमसँग मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भनेका थिए ‘उद्घाटन टीएमजे (तीनजुरे–मिल्के–जलजले) बाट गर्नुपर्छ ।’ मुख्यमन्त्रीले यस्तो प्रस्ताव गर्दा मन्त्रिपरिषद्का सदस्यहरूले हो मा हो मिलाउँदै भनेका थिए ‘त्यतिबेला गुराँस पनि ढकमक्क हुन्छ ।’ 

यस्तो निर्णय गरेपछि प्रदेश सरकार तयारीमा जुट्यो । पर्यटन क्षेत्रका व्यक्तिहरूलाई राखेर सचिवालय बनाउनेदेखि प्रचार पनि सुरू भयो । 

सोही कार्यक्रमको औपचारिक थालनी बुधबार गुराँसकै राजधानी मानिने तीनजुरे क्षेत्रको आरआर पार्कबाट हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको कार्यक्रमको मिति आइपुग्दा टीएमजे भने यतिबेला गुराँसबिहीन छ । 

सरकारले गठन गरेको पर्यटन वर्ष मूल समितिका एक सदस्यका अनुसार प्रधानमन्त्रीलाई राताम्ये गुराँसका माझबाट पर्यटन वर्ष उद्घाटन गर्न लगाउने सरकारी योजनामा प्रकृति बाधक बनेको छ । 

प्रधानमन्त्रीलाई गुराँसै गुराँसको बगैंचामा स्वागत गर्ने मुख्यमन्त्री कार्कीको योजना पूरा नहुने छाँट देखेपछि मुख्यमन्त्री तनावमा परेको ती सदस्यले बताए । 

‘त्यसैले दमकल परिचालन गरेर गुराँसका रूखका टुप्पा–टुप्पामा पानी हाल्न लगाइयो’, ती सदस्यले भने ‘तर, टीएमजेमा अहिलेसम्म गुराँस फुलेन ।’ 

स्थानीयवासीका अनुसार अहिले गुराँस फुल्ने मुख्य सिजन हो । तर, यसपटक गुराँसको राजधानी नै गुराँसबिहीन छ । 

‘पोहोर यतिबेला यहाँ गुराँसले सिंगो वन ढाकिएको थियो’, तेह्रथुमका पर्यटन व्यवसायीसमेत रहेका पुराना पत्रकार चन्द्र कार्कीले सोमबार साँझ उद्घोषसँग भने ‘आज दिनभरी पनि म टीएमजे क्षेत्र नै घुमेर आएको हुँ । गुराँस छैन । तत्कालै फुल्ने छाँट पनि छैन ।’ 

वनस्पतिविद् कमल मादेनका अनुसार तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्या–पर्यटनको प्रवेशद्वार हो । त्यहाँ तीनजुरे क्षेत्रको वन चैतदेखि जेठसम्म गुराँसले ढकमक्क हुन्छ । 

लालीगुराँस रातो, रातो–सेतो छिर्केमिर्के, सेतो अनि हल्का पहेंलो रङमा फुल्छ । तिनजुरे–मिल्के–जलजले वनमा ३२ प्रजातिका गुराँसको पहिचान भइसकेको छ । तर, यसपटक ती कुनै पनि प्रजातिका गुराँस फुलेका छैनन् । 

मुख्य सिजनमै किन फुलेन त गुराँस ? वनस्पतिशास्त्रका अध्येता मादेनका अनुसार यसमा धेरै कारणहरू हुनसक्छन् । त्यसमध्ये मुख्य कारण हो, अघिल्लो वर्ष धेरै फुल्नु । 

‘गत वर्ष यहाँ एकदमै धेरै गुराँस फुलेको थियो’, मादेनले भने ‘अघिल्लो वर्ष धेरै फुलेपछि त्यसको फल लाग्छ । त्यो फलका कारण यसपटक ढिलो गरी कोपिला लागेको हुनसक्छ ।’ 

स्थानीयबासीको अनुभव पनि उनले भनेभन्दा फरक छैन । उनीहरूका अनुसार टीएमजेमा यसअघि पनि एक वर्ष गुराँस धेरै फुल्ने, अर्को वर्ष कम फुल्ने हुँदै आएको छ । 

अर्का वनस्पतिविद् रामचन्द्र अधिकारीका अनुसार वातावरणमा आएको परिवर्तनका कारण पनि गुराँस कम फुलेको हुनसक्छ । 

‘गुराँस फुल्नलाई चाहिने चिसो नपुगेको हुनसक्छ’, उनले भने ‘चिसो नपुगेपछि माटोमा पनि चिसिन्न । यसले पनि नफुलेको हुनसक्छ ।’

View : 124

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved