विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) कर्मचारी संघ केन्द्रीय समितिको नवनिर्वाचित समितिलाई शपथग्रहण गराइएको छ ।
निर्वाचन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसहित पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।
उपकुलपति प्राडा बिजुकुमार थपलियाको उपस्थितिमा भएको सो कार्यक्रममा नवनिर्वाचित सभापति रुपेश बस्नेत, उपसभापति कोपिला खड्का, महासचिव सुरेन्द्रकुमार यादव, सचिव कोमलप्रसाद गौतम र कोषाध्यक्ष बोधनाथ खड्कासहित सदस्यहरू बोधराज निरौला, अनिता राजवंशी, तुलसीप्रसाद बराल, रामबाबु यादव, कविन दाहाल र अनु कार्कीलाई निर्वाचन समितिका संयोजक नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई उपकुलपति थपलियासहितका पदाधिकारीहरूले खादा र अविर लगाएर कार्यकालको सफलताको शुभकामना दिए ।
गत १७ गते सम्पन्न निर्वाचनमा सभापति बस्नेतसहितको समूह निर्वाचित भएको थियो ।
संघको विधानमा नवनिर्वाचित कार्यसमितिको कार्यकाल शपथग्रहण गरेको मितिले तीन वर्षको हुने व्यवस्था रहेको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति थपलियाले कर्मचारी संघको नवनिर्वाचित नेतृत्वबाट विश्वविद्यालयको शैक्षिक–भौतिक विकासमा सकारात्मक सहयोगको अपेक्षा राखेको बताए ।
सबै पक्ष सकारात्मक सोचका साथ एकजुट भएर विश्वविद्यालयको प्राज्ञिक तथा प्रशासनिक उन्नयनमा लाग्नु पर्नेमा उनले जोड दिए ।
‘विश्वविद्यालयमा धेरै राम्रा काम भइरहेका छन्’ उनले भने ‘राम्रा कामको प्रचारप्रसार र गलत भए सबैले खबरदारी गर्नुपर्छ ।’
पूर्वाञ्चल विश्वविद्यालय अन्य विश्वविद्यालयभन्दा फरक रहेको भन्दै उनले सबैले विश्वविद्यालय ऐनको व्यवस्थालाई बुझेर हातेमालो गर्दै अघि बढ्नु पर्ने आवश्यकता औँल्याए ।
नवनिर्वाचित सभापति बस्नेतले सबै पक्षको भावना समेटेर अघि बढ्ने बताउँदै राम्रो कामका लागि कर्मचारी संघ कहिल्यै बाधक नबन्ने प्रतिबद्धता ब्यक्त गरे ।
विश्वविद्यालयमा देखिएका जस्तासुकै समस्या आपसी छलफल र वार्ताबाटै समाधान हुनेमा विश्वस्त रहेको उल्लेख गर्दै उनले भने– ‘हामी अग्रजहरूको राय, सल्लाहअनुसार विश्वविद्यालयको उन्नयन र कार्यरत कर्मचारीहरूको हकहितका लागि काम गर्छौं ।’
कार्यक्रममा व्यवस्थापन संकायका डीन डा सन्देशदास श्रेष्ठ, अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक डा उत्तमकुमार रेग्मी, पूवि प्राध्यापक संघका सभापति यज्ञप्रसाद जमरकट्टेल, सभापति पदका निकटतम् प्रतिद्वन्द्वी देवीप्रसाद कट्टेललगायतले नवनिर्वाचित समितिलाई सफल कार्यकालको कामनासहित शुभकामना ब्यक्त गरे ।
संयोजक दाहालले आम्दानी–खर्चसहितको निर्वाचन प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सम्पूर्ण इकाई समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई परिचयसहित खादा र अविर लगाएर सम्मान गरियो ।
गत वैशाख २१ गते सम्पन्न संघको चौथो राष्ट्रिय सम्मेलनको निर्णयबमोजिम केन्द्रीय समिति र पूविअन्तर्गतका कार्यालय, निकाय र क्याम्पस इकाई समितिमा नेतृत्व चयन गरिएको हो ।
सम्मेलनले मुख्य अधिकृत दाहालको संयोजकत्वमा पाँच सदस्यीय समितिलाई केन्द्रीय तथा इकाई समितिको निर्वाचन गर्र्ने जिम्मेवारी प्रदान गरेको थियो ।
View : 45
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved