नेपालका आदरणीय राजनीतिक हस्ती कमल कोइरालाप्रति सम्मान दर्शाउँदै आफूले जाने बुझेका उहाँको जीवनका विभिन्न विशेषताहरूलाई केलाएर नयाँ पिढींलाई परिचित गराउने यहाँ प्रयास गरेको छु ।
नेपालको राजनीतिमा कोइराला परिवारको आठ दशकदेखिको निरन्तर योगदानलाई कसैले चाहेर पनि बिर्सन सक्दैन । स्वनामधन्य कृष्णप्रसाद कोइराला जसलाई सबैले सम्मानपूर्वक पिताजी सम्बोधन गर्छन् उहाँले राणा शासनले जनताप्रति गरेको अन्याय सहन नसकेर राणाशासनलाई चुनौति दिएर जुद्ध शम्सेरको आदेशले जेल पर्नु भएको थियो । उहाँले जेल मै देहत्याग पनि गर्नु भएको थियो । उहाँ एक्लैका ३ सन्तान छोरा मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री हुनु आफैमा एक विश्व कीर्तिमान छ ।
आफ्नो ज्यानको कतै परवाह नगरी राष्ट्रमा प्रजातन्त्र प्राप्तिका लागि मरिमेट्ने विराटनगरको कोइराला परिवार रहेको छ । यसै परिवारका नेपालका पूर्व प्रधानमन्त्री सम्मानीय मातृकाप्रसाद कोइरालाका माइलो छोराको रुपमा कमल कोइरालाको जन्म भएको हो ।
कोइराला परिवारको रगत मैं कांग्रेस रहेता पनि कमल कोइराला आफ्ना बुबा देशको प्रधानमन्त्री रहेको बेलादेखि आजसम्म पनि एक सच्चा कम्युनिष्ट भएर बसेका छन् ।
जीवनमा अनेक आरोह अवरोह आए पनि उहाँले कहिल्यै आफ्नो सिद्धान्तसँग सम्झौता गर्नु भएको छैन । आफूलाई लागेका कुरा निर्भिकता साथ प्रस्तुत गर्न उहाँ दायाँबायाँ केही हेर्नु हुँदैन ।
आजको जस्तो स्वार्थी राजनीतिको चासनी उहाँलाई कहिल्यै मन परेन । यो नै समग्रमा उनको विशेषता थियो ।
‘वकिलको भूमिकामा कमल कोइराला, विसं २०१७ पश्चात उहाँले भारतमा रहेर आफ्नो अध्ययनलाई निरन्तरता दिनु भयो । काशी हिन्दु विश्वविद्यालय भारतबाट बीए र गोरखपुर विश्वविद्यालयको हरिश्चन्द्र डिग्री कलेज, बनारसबाट ( एलएलबी) पास गर्नु भएको थियो । तर वकालत उहाँले वि.स.२०३३ देखि वि.स.२०४६ सम्म करीब १३ वर्ष विराटनगरमा रहेर गर्नु भएको थियो । पछिल्लो समयमा उहाँले दिनु भएको एक अन्तर्वार्तामा यो कुरा त्यहाँ उल्लेख गर्नु पनि भएको छ ।
।
कम्युनिष्ट नेता भरतमोहन अधिकारी र उहाँ वकालतमा समकक्षी हुनु हुन्थ्यो । भरतमोहनजीको बहस त राजश्व न्यायाधिकरण, धरानमा एकपटक मैंले स्वयं नै सुन्न पाएको थिएँ । अर्थाभाव झएका व्यक्तिहरूको मुद्दामा कमल कोइराला सामान्य वा निःशुल्क नै बहस गरिदिनु हुन्थ्यो । एक चर्चित राजनीतिक व्यत्ति आफ्नो वकिल हुँदा उहाँको पक्षलाई आत्मसन्तुष्टि हुनु स्वाभाविक नै थियो । उहाँको गुण वा कमजोरी भनेको प्राप्त पारिश्रमिकको रकम खल्तीमा बस्न कहिक्यै पाउँदैनथ्यो ।
उहाँको खल्तीमा रकम रहेको थाहा भएपछि आसेपासेहरू कुनै न कुनै बहानामा उहाँबाट त्यो रकम खर्च गराइ नै हाल्थे । बुँदागतरूपमा मूल विषयमा केन्द्रित रहेर बहस गर्नु उहाँको विशेषता थियो । माननीय न्यायाधीशहरू उहाँको बहसका बखत चनाखो भएर सुन्थे । एउटा मन्त्रमुग्धता हुन्थ्यो उहाँको बहसमा ।
उहाँ बसेको घर ‘मानिड’ को पनि आफ्नै कथा छ । उहाँका बुबाज्यूका हितैषिहरूले अब बस्न घर बनाउनु पर्छ भनेर कर गरेपछि घर बनाइएको थियो । घरको नाम राख्ने कुरा चल्दा नीड अर्थात चरा को गुँडका अगाडी बुबा मातृकाले आफ्नो नाम अगाडिको ‘मा’ थपेर ‘मानीड’ राख्नु भएको थियो ।
त्यस एक घरमा सबै छोरा बुहारी मिलेर बसेको मैले आफैले देखेको छु । कमल कोइराला तथा बुबा मातृकाबाबुको फरक राजनीतिक विचार भए पनि उहाँको आफ्ना बुबाज्यूसँगको सम्बन्ध अत्यन्त मधुर थियो । एक चोटी उहाँकै घरमा भारतका प्रसिद्ध कवि नागार्जुन पाल्नु हुँदा मलाई पनि कविता सुनाउन निम्त्याइएको म अहिले पनि सम्झन्छु ।
मातृकाबाबुलाई म बाबा भन्थें र उहाँसँग मेरो कुराकानी ‘मारवाडी’ भाषामा हुने गरेको थियो । निर्वासनकालमा कोइराला परिवार छिमेकी नौलखा परिवारको पैतृक थलो नागोरतिर बस्नु भएकाले पनि मातृकाबाबु एक मारवाडी भन्दा पनि राम्रो मारवाडी बोल्नु हुन्थ्यो । यो समिपताका कारणले नै मातृकाबाबुले मेरो एक पुस्तकका लागि हस्तलिखित शुभकामना दिनु भएको थियो । त्यो हस्तलिखित नै पुस्तकमा छापिएको छ ।
‘मानीड’ यस्तो भाग्यशाली घर हो जहाँ २–३ पीढीका नेपाल नरेशहरू को पदार्पण भएको थियो । राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित वि.स.२०४५ तिर दिउँसोको समयमा धनकुटाबाट उहाँको घर मानीडमा पाल्नु हुँदा उहाँहरू केही कामले बाहिर जानु भएकाले राजारानीले केही बेर पर्खेर फर्कनु भएको कुरा त्यति बेला त्यहाँ पुगेकी छिमेकी कर्ण थर की एक बहिनीले मलाई सुनाएकी थिइन् । मेरो घर आउने जाने बाटो पनि ‘मानीड’ भएर नै रहेकोले त्यहाँका अनेक गतिविधिको म प्रत्यक्ष साक्षी रहेको छु ।
कमल कोइरालासँगको एक अत्यन्त दुःखद घटनाको पनि म स्वयं साक्षी रहेकोले यहाँ उल्लेख गर्न चाहेको छु । ‘यहाँकी श्रीमती अब संसारमा रहनु भएन’ जस्तो दुखद खबर उहाँलाई दिने प्रथम व्यक्ति म नै संजोगवश हुन पुगेको थिएँ ।
उहाँकी धर्मपत्नी अत्यन्त मिलनसार व्यक्तित्वकी धनी हुनुहुन्थ्यो । उहाँ क्यान्सरबाट पीडित भएकाले स्वास्थ स्थिति एकदम जटिल भएको बेलामा भारतमा अध्ययनरत रहेको आफ्नो छोरालाई खबर गर्न त्यति बेला मोबाइल नरहेको र आईएसडी सुविधा पनि कमै ठाउँमा रहेकोले आईएसडी फोनबाट खबर गर्न भनि मेरो कार्यकक्षमा दिउँसोतिर पाल्नु भयो ।
मनमा रहेको पीडा उहाँको अनुहारमा छर्लंग देखिन्थ्यो । तैपनि उहाँ पूर्ण संयम नै हुनुहुन्थ्यो । उहाँसँग छोराको टेलिफोन नम्बर लिएर म फोनको नम्बर घुमाउन गैरहेको थिएँ त्यतिकैमा मेरो त्यही फोनमा कोइराला निवासबाट उहाँकी धर्मपत्नीको निधनको समाचार मलाई प्राप्त भयो ।
म मूर्तिवत भएँ,आँखाको तप्केनी चुहिएला जस्तो भयो, उहाँले मेरो मुहारको गम्भीरता बुझेर मसँग फोन लिएर घरमा कुरा गर्न थाल्नु भयो । त्यस्तो विषम स्थितिमा पनि उहाँले धैर्य धारण गर्नु भयो र छोरालाई फोनबाट निधनको जानकारी गराएर घर फर्कनु भयो । यस्तो परिस्थितिमा हिम्मत धैर्यता राख्नु कतिको कठिन हुन्छ यो जसमाथि पर्छ उसैले बुझ्छ ।
यसरी पनि मेरो बाल्यकालको अधिकांश अवधि कोइराला निवासको सेरोफेरोमा गुज्रिएकोले मसँग त्यसपरिवारसँगका अनेकौं स्मृति मस्तिष्कमा विद्यमान छन् ।
मेरा ठुलो बुबाज्यू स्व जुगलकिशोर नेवटिया, विराटनगर जुट मिल्स लिको स्थापनाकालदेखि नै विभिन्न म्यानेजर (व्यवस्थापक) पदमा पछि सोही जुट मिल्सको तथा मोरङ सुगर मिल्स लिको निर्देशक पदमा रहनु भएकोले त्यहीं सक्रिय रहेका बीपी कोइराला तथा गिरिजाप्रसाद कोइरालासँग निकटको सम्बन्ध थियो । त्यसैले मेरो एक पुस्तकको भूमिकामा मातृकाबाबुले ‘लक्ष्मण नेवटियाको ज्येष्ठ पितृत्वको नेपालको औद्योगिक विकासमा अग्रणी स्थानको योगदान रहेको छ’ भनि उल्लेख गर्नु भएको छ । यही विभिन्न कारणहरूले गर्दा पनि म मेरो युवावस्थादेखि नै कमल कोइरालाका साथै उहाँका सबै दाजुभाइहरूसित पनि त्यति नै नजिएको हुँ ।
प्रजातन्त्र स्थापनामा कोइराला परिवारले नेतृत्व गरेको कांग्रेस पार्टीको मुख्य योगदान रहेकोले नै होला कांग्रेस भन्नु नै कोइराला र कोइराला भन्नु नै कांग्रेस त्यसबेला रहेको थियो । यस्तो हुँदाहुँदै पनि त्यही परिवारको एक सदस्य कमल कोइराला कट्टर कम्युनिष्ट भएर आन्दोलनरत रहेर बुबा मातृकाप्रसाद कोइरालाका प्रधानमन्त्री भएकै बेला जेल पर्नु भएको थियो । यसले पनि उहाँको सिद्धान्तपूर्ण राजनीतिक संस्कारको परिचय दिन्छ ।
२०४८ को निर्वाचनमा उहाँले कांग्रेस नेत्री बहिनी शैलजा आचार्यको हातबाट टीका लगाएर उहाँकै विरुद्ध चुनाव लड्नु भयो र हार्नु पनि भयो तर २०५१ को चुनावमा फेरि चुनाव जित्नु पनि भयो अर्थात् परिवारमा दाजुभाइ दिदिबहिनी भए पनि जहाँ राजनीतिक सिद्धान्तको कुरामा आ–आफ्नो पक्षलाई सबल बनाउनमा लागि पर्नु हुन्थ्यो । पार्टीमा रहेका विकृति विसंगतका विरुद्ध कडाइका साथ बोल्ने भएकाले अधिकांशतः उहाँ कहिल्यै शीर्ष नेतृत्वको प्रिय भएर बस्न सक्नु भएन ।
महमा झिंगा गाडिए जस्तै कुर्सीमा टाँसिएर उहाँ कहिल्यै रहनु भएन । उहाँ न त कहिल्यै कसैको बुइ चढी फुइं लगाउनु भयो न त मीठो मीठो कुरा गरेर कुनै पद नै ताक्नु भयो । त्यसैले त के नयाँ, के पुराना कम्युनिष्ट साथै प्रत्येक राजनीतिक दलले उहाँलाई आदर गरेको छ ।
आज उहाँ यो नश्वर संसारलाई छाडेर बिदा लिनु भएकोले नेपाली राजनीतिका एक प्रेरणास्पद व्यक्तित्व दाजु कमल कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली समर्पित गर्दै श्रद्धाका साथ आफ्नो लेखनीलाई विराम दिन्छु । अस्तु ।
View : 123
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved