विराटनगर । स्थानीय तहको प्रमुख बनेर आएका जनप्रतिनिधि पालिकाको काम गर्नमा भन्दा आफ्नो अहम् प्रदर्शनमा लागे भने गाउँपालिकाको अवस्था के होला ? पछिल्लो समय यसको ताजा उदाहरण बनेको स्थानीय तह हो मोरङको ग्रामथान गाउँपालिका ।
गाउँपालिकामा निरन्तर नयाँ–नयाँ विवाद झिकेर बखेडा निम्त्याइरहने पात्र बनेका छन् अध्यक्ष नमोनारायण माझी । सुरुमा प्राकृतिक स्रोत दोहन रोक्ने प्रमुख प्रशासकीय अधिकृतलाई प्रष्टीकरण सोधेर विवादमा आएका अध्यक्ष माझी त्यसयता महिनैपिच्छे नयाँ–नयाँ विवादको सर्जक बनिरहेका छन् । कहिले अरु जनप्रतिनिधिको गाडी खोस्ने, कहिले आफूखुसी निर्णय गरेर बैठकको निर्णय भन्दै आएका उनले यसअघि गाउँसभा पनि आफैले भाँडेका थिए ।
यही सिलसिलामा अध्यक्ष माझीले फेरि नयाँ विवादको भुंग्रोमा पालिकालाई होमिदिएका छन् ।
सोमबार नौ दिनका लागि चीन भ्रमणमा निस्कने क्रममा अध्यक्ष माझीले उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । कानुन अनुसार अध्यक्षको अनुपस्थिति हुँदा उपाध्यक्षले अध्यक्षको कार्यवाहक जिम्मेवारी सम्हाल्नु पर्ने हुन्छ ।
ऐन कानुनले निर्दिष्ट गरेको यो प्रावधान उल्लघंन गर्न खोज्ने धेरै पालिका प्रमुखहरुलाई न्यायालयले यसअघि अंकुश लगाइदिएको छ । यसरी कानुनी प्रावधान तथा अदालतको नजिरलाई समेत वेवास्ता गर्दै ग्रामथानका अध्यक्ष माझीले भने वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहकको जिम्मा दिएका हुन् ।
ग्रामथानका कर्मचारीहरुका अनुसार उपाध्यक्ष गुणवतीदेवी थारु गाउँपालिकामै हुँदाहुँदै अध्यक्ष माझीले वडा नम्बर ३ का अध्यक्ष भगतलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । माओवादीबाट निर्वाचित अध्यक्ष माझीले माओवादीबाटै वडामा जितेका भगतलाई यस्तो जिम्मेवारी दिएका हुन् ।
‘अध्यक्ष र उपाध्यक्षबीच विवादले राम्रो सम्बन्ध छैन’, वडाध्यक्ष भगतले भने ‘त्यसैले अध्यक्षले मंगलबारदेखि लागू हुने गरी मलाई कार्यवाहकको जिम्मा दिनुभएको हो । विवाद नभएको भए उहाँलाई नै दिनुहुन्थ्यो होला ।’
प्रचलित ऐन कानुन विपरित कार्यवाहक अध्यक्षको जिम्मा पाएका वडाध्यक्ष भगतले यसो भने पनि व्यक्तिगत सम्बन्ध कस्तो छ भन्ने विषयले कार्यवाहक दिने कि नदिने भन्ने विषय निर्धारण गर्दैन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा (४) खण्ड (क) अनुसार ७ दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिनुपर्ने प्रष्ट उल्लेख छ ।
उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिनुपर्ने उल्लेख छ । ऐनको यो प्रावधान विपरित अध्यक्ष माझीले वडाध्यक्षलाई कार्यवाहक दिएका हुन् ।
उपाध्यक्ष थारुले अध्यक्ष कहाँ गएको भन्ने आफूलाई कुनै जानकारी नभएको बताएकी छन् ।
‘आज दिनभरी म अफिसमै थिएँ, उहाँको कोठामा कर्मचारीहरु बोलाएर बिदाइ खाएको थाहा पाएँ’, उनले भनिन् ‘वडाध्यक्षलाई कार्यवाहक दिएको भन्ने मैले सुनें ।’
नौ दिनका लागि चीन भ्रमणमा निस्केका अध्यक्ष माझीले भने उपाध्यक्षसँग भेटै नभएका कारण वडाध्यक्षलाई कार्यवाहक दिएको दाबी गरेका छन् ।
गएको मंसिरमा उपनिर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आउने बित्तिकैदेखि विवादमा पर्दै आएका अध्यक्ष माझीले यसअघि उपाध्यक्षले चढ्दै आएको गाडीसमेत खोसेका थिए ।
अदालत जाने तयारीमा उपाध्यक्ष
अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई कार्यवाहक दिएको कार्यविरुद्ध आफू अदालत जाने उपाध्यक्ष गुणवती थारुले बताएकी छन् ।
त्यसो त यसअघि नै कोशी प्रदेशकै कमल गाउँपालिका र धरान उपमहानगरमा वडाध्यक्षलाई कार्यवाहक दिने प्रमुखहरुको कदमलाई अदालतले गैरकानुनी ठहर गरिसकेको छ ।
उपाध्यक्ष वा उपमेयर पालिकामा हुँदाहुँदै अन्यलाई कार्यवाहक दिन नमिल्ने अदालतले ठहर गरिसकेको छ । सोही नजिरका आधारमा पनि आफू अदालत जाने ग्रामथानकी उपाध्यक्ष थारुले जानकारी दिइन् ।
ग्रामथानका अध्यक्ष माझी यसरी नयाँ–नयाँ बखेडा सिर्जनामा लागिरहदा उनले नगरी नहुने वा गर्नैपर्ने काम भने गर्नै सकेका छैनन् । कार्यपालिका बैठक समेत बसाउन नसकेका माझीले यसअघि कानुन विपरित गाउँसभा बोलाएका थिए ।
गएको साता माझीले बोलाएको गाउँसभाको १६ औं अधिवेशन कानुन विपरीत भएको भन्दै सभाका सदस्यहरूले प्रश्न उठाएपछि उनी आफै स्थगित गर्न बाध्य बनेका थिए ।
‘अध्यक्षको काम भनेकै गाउँपालिकामा नया विवादहरु झिक्नु, पालिकालाई विवादमा पारिरहनु जस्तो भएको छ’, एमालेबाट निर्वाचित उपाध्यक्ष थारुले भनिन् ‘जनप्रतिनिधिहरुलाई मिलाएर अघि बढ्नुपर्ने जिम्मेवारीको मान्छेले यसरी सधैं विवाद झिक्ने हो भने पालिकाको काम कसरी अघि बढ्छ ?’ उनले अध्यक्ष माझीले ‘म आफै गाउँपालिका हुँ’ भन्दै घमण्ड प्रदर्शन गर्ने गरेको आरोप पनि लगाएकी छन् ।
‘जो कोही पनि प्रचलित ऐन नियम अनुसार अघि बढ्नुपर्छ, वैधानिक बाटो हिंड्नुपर्छ’, उपाध्यक्ष थारुको भनाइ छ ‘अध्यक्ष मै कानुन हुँ, मै सबैथोक हुँ भनेर अघि बढ्नु भएको छ । यसअघि पनि अदालत गएको थिएँ । अब पनि जान्छु ।’
View : 118
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved