Biratnagar, Morang, Nepal
३१ जेठ २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी ब्यारेजबाट तिन किलोमिटर तल भेटियो बेपत्ता गोताखोर राजवंशीको शव

उद्‌घोष सम्वाददाता
२३ जेठ २०८२, शुक्रवार

विराटनगर । सप्तकोशी नदीमा उद्दार अभ्यासका क्रममा बिहीबार बेपत्ता भएका दुई मध्ये सशस्त्र प्रहरीका एक जना गोताखोरको शव भेटिएको छ । 

सशस्त्र प्रहरीका जवान हरदेव राजवंशीको शव फेला परेको सशस्त्र प्रहरी कोशी प्रदेश प्रमुख कुमार न्यौपानेले जानकारी दिए । 

बेपत्ता भएको स्थानबाट करिव ३ किलोमिटर तल  शव भेटिएको जनाइएको छ । 

'हरदेवको शव भेटिएको जानकारी मैले पाएको छु' उनले भने, 'अहिले पनि खोजी कार्य जारी छ ।'

बिहीबार अपरान्ह साढे ३ बजेतिर कोशी ब्यारेजको पश्चिम–उत्तर सप्तरीतर्फ प्रशिक्षार्थीहरूलाई अभ्यास गराउने क्रममा सशस्त्र प्रहरीका गोताखोर प्रशिक्षक सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए । साउद डोटी र राजवंशी झापाका हुन् । 

अझै बेपत्ता रहेका साउदको खोजी कार्य जारी रहेको जनाइएको छ ।

खोजीका लागि सशस्त्र प्रहरी बल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट ४ जना गोताखोरसहित ३५ जना र नम्बर ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित थप २० जना सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।

त्यसैगरी वेपत्ता प्रहरी गोताखोरको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा ५ जनाको टोली कोशी ब्यारेज हिंडेको जनाइएको छ ।

View : 261

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved