Biratnagar, Morang, Nepal
५ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

नेकपा एस कोशी अधिवेशन : सहमति खोज्न भन्दै बन्दसत्र स्थगित

उद्‌घोष सम्वाददाता
२८ चैत २०८१, बिहिवार

इटहरी । चुनाव नगराई अध्यक्षसहितको टिम छान्नकै लागि  नेकपा एकीकृत समाजवादीको कोशी अधिवेशनको बन्दसत्र बुधबार साँझ स्थगित भएको छ । 

कोशी अध्यक्षका लागि ५ जना नेताहरुले दाबी गरेपछि सहमति खोज्न भन्दै बन्दसत्र बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । 

मंगलबार इटहरीमा सुरु भएको प्रदेशको पहिलो अधिवेशनले एकीकृत समाजवादीको प्रदेश कमिटी छान्दैछ । 

पोलिटब्यूरो सदस्यहरु धर्मराज निरौला र  महेश रेग्मी,  केन्द्रीय सदस्यहरु सरिता खड्का,  केशव विष्ट र उदयपुरका पार्र्टी  अध्यक्ष विनोद खड्काले अध्यक्षमा दाबी गरिरहेका छन् । 

अध्यक्ष मण्डलले निर्वाचन कार्यक्रम प्रकाशन नगरेका कारण उम्मेद्वारी दर्ता नभए पनि नेताहरुसँग यी पाँचै जना नेताले अध्यक्षमा दाबी गरिरहेका छन् । 

‘यी पाँच जनामध्ये अध्यक्षमा सहमति जुटेपछि उपाध्यक्ष र सचिवसहितका पदाधिकारीहरु पनि सहमतिमै टुंगो लाग्छ’, अध्यक्षमण्डलमा रहेका एक नेताले भने ‘बुधबार राति नगरौं भनेर बिहीबार ११ बजेका लागि बन्दसत्र सुरु गर्ने कार्यक्रम छ ।’

अधिवेशन उद्घाटन कार्यक्रममा शीर्ष नेताहरुले प्रदेश नेतृत्व ‘सर्वसम्मत रुपमा छान्नुपर्ने’ भन्दै प्रतिष्पर्धा रोक्ने प्रष्ट सन्देश दिएका थिए । 

बुधबार दिनभरी चलेको बन्दसत्रमा प्रतिवेदनहरुमाथि छलफल भएको र बिहीबार ११ बजे सुरु हुने गरी बुधबारको बन्द सत्रस्थगित भएको पोलिटब्यूरो सदस्य अशेष घिमिरेले जानकारी दिए ।

एकीकृत समाजवादीले आन्तरिक लोकतान्त्रिक अभ्यास खुम्च्याउने गरी नेतृत्व छान्दै आएको छ । 

यसअघि केन्द्रीय महाधिवेशनमा पनि नेताहरु आफैले नेतृत्व चयन गरेको एकीकृत समाजवादीमा भर्खरै मोरङमा पनि नेताहरुले प्रतिनिधि घर पठाएर ६ दिनपछि पार्र्टी कार्यालयको भित्तामा नाम टाँसेका थिए । 

पार्टीका वरिष्ठ नेता घनेन्द्र बस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षद्वय जगन्नाथ खतिवडा र जयन्ती राई, उपमहासचिव राजेन्द्र राई लगायतका नेताहरु आकांक्षीहरुबीच सहमति जुटाउने प्रयासमा जुटेका छन् ।
सहमतिको प्रयास सफल हुन नसकेको तर बिहीबारसम्ममा टुंगो लाग्ने नेताहरुले बताएका छन् ।

View : 202

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved